समाज

बालिकालाई जबरजस्ती करणी गर्ने अभियुक्तलाई साढे १२ बर्ष कैद फैसला

सात वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका ताप्लेजुङको आठराइ त्रिवेणी गाउँपालिकाका ६१ वर्षीय पुरुषलाई साढे १२ वर्षको कैद सजायको फैसला भएको छ।

जिल्ला अदालत ताप्लेजुङले निघुरादिनका ६१ वर्षीय कैलाश पोमू (लिम्बू) लाई साढे १२ वर्ष कैद सजाय हुने फैसला सुनाएको हो। अदालतले लिम्बूका नाममा पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन समेत आदेश गरेको अदालतका इजलास सहायक ङिमाछिरिङ शेर्पाले जानकारी दिए।

लिम्बू माथि गत भदौ ८ गते ७ वर्षीय सात नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोग थियो। इजलास सहायक शेर्पाका अनुसार जिल्ला न्यायाधीश निर्मला योङ्याको इजलासले लिम्बूलाई २ हजार २ सय रुपैयाँ पीडित राहत कोषमा बुझाउन समेत आदेश गरेको छ। आरोपित विरुद्ध जिल्ला अदालतमा गएको भदौ ३० गते जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता भएको थियो।

मुद्दा दर्ताको भोलि पल्टनै अदालतले लिम्बूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो। पीडितका अभिभावकले आरोपित विरुद्ध २०७९ भदौ ८ गते स्थानीय प्रहरी चौकीमा उजुरी गरेका थिए। उजुरी दिएकै दिन आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

विद्यालयबाट घर फर्कँदै गरेकी बालिकालाई भदौ ८ गते जबरजस्ती करणीको प्रयास भएको भन्दै पिडकविरुद्ध पीडित परिवारले उजुरी गरेका थिए।

प्रकाशित: २० चैत्र २०७९ १४:०३ सोमबार