समाज

संस्कार पछ्याउदै सिल्भिया

भक्तपुर- स्वदेशबाट टाढा भए पनि आफ्नो संस्कृति र संस्कारले डोर्‍याउँछ भन्ने उदाहरण भक्तपुरको एक परिवारमा देखिएको छ । सात वर्षदेखि  अस्ट्रेलियाको पर्थमा बस्दै आएका सुरेन्द्र प्रजापति नौ वर्षीया छोरी सिल्भियालाई गुफा राख्ने संस्कार पूरा गर्न सपरिवार भक्तपुर आएका छन्।

नेवारी संस्कारमा कुनै पनि बालिका किशोरावस्थामा प्रवेशसँगै गुफा राख्नुपर्ने चलनका कारण उनी नेपाल आएका हुन्।  'सिल्भियालाई गुफा राख्न नेपाल आएका हौं,' श्रीमती लक्ष्मीका साथ नेपाल आएका उनले भने, 'सोमबारबाट  गुफा बसेकी छोरी बुधबार  मनु विहारबाट बाहिरिएकी छन्।'  बिहीबार सूर्य दर्शन सकेपछि नजिकैको मन्दिरमा पूजा गरेकी सिल्भियाले निकै रमाइलो लागेको सुनाइन्।

'विदेशमा रहे पनि यहाँको संस्कृति रत्तिभर भुलेका छैनौं,' अस्ट्रेलियाको पर्थबाट छोरीलाई गुफा राख्न भक्तपुर आएका सुरेन्द्र प्रजापतिले भने, 'संस्कार र संस्कृतिको ज्ञान सन्ततिलाई दिन हामी नेपाल आएका हौं।'

बालिका महिनाबारी हुनु केही वर्षअघि नै घाम पनि नपस्ने अँध्यारो कोठामा गुफा राख्ने प्रचलन छ। यसलाई सूर्यसँग विवाहका रुपमा लिइन्छ। साथै यसलाई दोस्रो विवाह पनि मानिन्छ।  परम्परागत पहिरनमा सजिएर बिहीबार बिहान घरको छतमा बसेर सूर्य दर्शन गर्दै गरेकी सिल्भिया दुलहीजस्तै देखिन्थिन्। 'यसलाई दोस्रो विवााह पनि भनिन्छ,' सुरेन्द्रले भने, 'विवाहमा गरिने सबै रीतिरिवाज पूरा गरिन्छ।'

गुफा बस्नुभन्दा पहिले बालिकाको बेलविवाह गर्ने प्रचलन छ। बेलविवाहलाई पहिलो विवाह मानिन्छ। सिल्भियाको बेल विवाहका लागि सुरेन्द्र चार वर्षअघि पनि नेपाल आएका थिए।

१३ महिनाकी छँदा आमाबुवासँग अस्ट्रेलिया गएकी  सिल्भिया  उतैकी नागरिक बनिसकेकी छिन्। परिवारमा आमाबुबाले  उनलाई  आफू जन्मेको देशको संस्कृतिबारे जानकारी दिने गरेका छन्। नेपाल आउन नपाएको समयमा यहाँका चाडपर्व उतै मनाउने गरेको सुरेन्द्रले सुनाए। 'अब कक्षामा गएर साथीभाइलाई आफ्नो यस कार्यक्रमका बारेमा जानकारी गराउछौं,' नेपाली र अंग्रेजी मिसिएको भाषामा उनले भनिन्, 'मेरो लुगा र कुरा सुनेर उनीहरू पनि रमाउनेछन्।'

संस्कार पछ्याउँदै सुरेन्द्र छोरा स्यामुअलको अन्नप्रासनका लागि पनि विगतमा नेपाल आएका थिए। 'विदेशमा रहे पनि यहाँको संस्कृति रत्तिभर भुलेका छैनौं,' उनले भने, 'यो ज्ञान सन्ततिलाई दिन पनि हामी नेपाल आएका हौं।'  छोरीको सूर्य दर्शन उता गराउने वातावरण नभएको उनले सुनाए। 'सूर्य त पर्थमा पनि उदाउने हो,' उनले हाँस्दै भने, 'तर हाम्रो संस्कार  यहाँ उदाउँदैन।'

विदेशिएका सन्तान संस्कृति मान्न नेपाल फर्केकोमा तुलसीनारायण प्रजापति पनि खुसी छन्। 'हामीलाई मात्र हैन, उनीहरूले हाम्रो संस्कृतिलाई पनि उत्तिकै माया गरेका छन्,' उनले भने, 'यसले हामी निकै खुसी भएका छौं।'

उनका चार छोरामध्ये तीन विदेशमा छन्। अमेरिका, अस्ट्रेलिया र बेल्जियममा रहेका सबै छोराले चाडपर्व, संस्कृति  नभुलेको उनले सुनाए। 'अमेरिकामा रहेको छोरा पनि अहिले नै दुई वर्षको  नातिलाई लिएर संस्कार धान्न  नेपाल  आएको छ,' उनले भने, 'कमलविनायक मन्दिरमा दर्शन गराए आवाज राम्रो हुने हाम्रो मान्यता छ।'   उनका अर्का छोरा धर्मेन्द्र पनि चार महिनाअघि छोराको अन्नप्रासनका लागि नेपाल आएका थिए। 'संस्कृतिले छोराहरूलाई नेपालसँग र हामीलाई छोराहरूसँग जोडेको छ,' उनले हाँस्दै भने, 'विदेशिएका छोरा संस्कृति पछ्याउँदै घरमा भेला हुँदा निकै रमाइलो लाग्छ।'

प्रकाशित: ८ पुस २०७३ ०३:२९ शुक्रबार

संस्कार पछ्याउदै सिल्भिया