समाज

मालपोत अधिकृतसहित ७ जना भ्रष्टाचारी ठहर

विशेष अदालतले मालपोत कार्यालय नवलपरासीका मालपोत अधिकृत मनोहरप्रसाद पन्थीसहित ७ जनालाई भ्रष्टाचारी ठहर गरेको छ। सार्वजनिक जग्गा लुम्बिनी ग्यास प्रालि गैंडाकोट नवलपरासीको नाममा बिक्री वितरण गरी भ्रष्टाचारजन्य कार्य गरेको ठहर गर्दै गत शुक्रबार अदालतले भ्रष्टाचारी ठहर गरेको हो।

न्यायाधीशहरू श्रीकान्त पौडेल, खुशीप्रसाद थारुको इजलासले सरकारी जग्गा व्यक्तिको नाममा बनाउनेहरूलाई भ्रष्टाचारी ठहर गरेको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चार वर्ष अघि २ करोड ८६ लाख ५२ हजार रूपैयाँ बिगो कायम गरी सजायसमेत मागदाबी गर्दै मुद्दा दर्ता गरेको थियो।

अदालतले मालपोत कार्यालय परासीका अधिकृत मनोहरप्रसाद पन्थीलाई ११ वर्ष कैद ठहर गरेको छ। पन्थीलाई १८ लाख ६६ हजार ६ सय ६६ रूपैयाँ जरिवाना सुनाएको छ।

त्यसैगरी मालपोत कार्यालय परासीका खरिदार जीवलाल भुसाल १० महिना कैद ठहर गरेको छ। भुसाललाई १८ लाख ६६ हजार ६ सय ६६ रूपैयाँ जरिवाना ठहराएको छ। सँगसँगै कम्युटर अपरेटर एजाज खाँलाई १० महिना कैद र १८ लाख ६६ हजार ६ सय ६६ रूपैयाँ जरिवाना सुनाएको छ।

जग्गा खरिद बिक्री गर्ने गराउने काममा संलग्न रहेका सुदन श्रेष्ठलाई मतियारको रूपमा सजाय ठहर गरिएको छ। उनलाई ६ महिना कैद ९ लाख ३३ हजार ३३३ सय रूपैयाँ जरिवाना ठहराएको छ। त्यसैगरी दीपक सुनारलाई पनि मतियारकै रूपमा ठहर गरेको छ।

सुनारलाई १ वर्ष कैद ठहर गरेको छ। उनलाई पनि ९ लाख ३३ हजार ३३३ सय रूपैयाँ जरिवाना ठहराएको छ। मालपोत कार्यालय नवलपरासीका कर्मचारीहरूलाई अनुचित प्रभावमा पारी आफूलाई गरैकानुनी तलिकाबाट आफ्नो नाममा नक्कली जग्गाधनी दर्ता स्रेस्ता बनाएर जग्गा बिक्री वितरण गरिएको थियो।

मालपोतका कर्मचारीहरू समेतको मिलेमतोमा सरकारी, सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेषको नामबाट अमुक कम्पनीको नाममा बिक्री वितरण गर्ने प्रयोजनको लागि राजीनामा लिखत तयार गरी पारितसमेत गरी जग्गा बेची भ्रष्टाचार गरिएको थियो।

सार्वजनिक जग्गाको किर्ते कागजात तयारी गरी लुम्बिनी ग्यास उद्योग प्रालि नवलपरासीलाई बेचबिखन गरेको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको थियो। नवलपरासीको साविक तिलकपुर गाविस ५ कित्ता नम्बर २४ क्षेत्रफल २–१५–२ बिगाहको जग्गाको नक्कली जग्गाधनी दर्ता स्रेस्ता, प्रमाणपूर्जासमेत खडा गरेको भेटिएको हो। अमुक कम्पनी खडा गरी सार्वजनिक जग्गा बिक्री वितरण गरिएको थियो।

मालपोत कार्यालय परासीका कर्मचारीहरूलाई अनुचित प्रभावमा पारी आफूलाई गरैकानुनी तलिकाबाट आफ्नो नाममा नक्कली जग्गाधनी दर्ता स्रेस्ता बनाएर लुम्बिनी ग्यास प्रालि गैंडाकोट, नवलपरासीको नाममा बिक्री गरी भ्रष्टाचारजन्य कार्य गर्ने दीपक सुनार, बिक्री गरी भ्रष्टाचार गरेको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७५ कात्तिक ११ मा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

प्रकाशित: १९ चैत्र २०७९ ०२:४५ आइतबार

मालपोत कार्यालय नवलपरासी मालपोत अधिकृत मनोहरप्रसाद पन्थी