समाज

अवैध रूपमा भित्र्याउन लागेको चार क्विन्टल कुखुरा नष्ट

धनुषाको विदेह नगरपालिका–४ स्थिति झिझहाबाट अवैध रुपमा भारतबाट ल्याउँदै गरेको चार क्विन्टल कुखुरा बिहीबार राती सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ।

बोर्डर आउट पोष्ट (बिओपी) महिनाथपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक मदन धानुकको कमाण्डमा रहेको गस्ती टोलीले चार वटा मोटरसाइकलसहित चार क्विन्टल कुखुरा बरामद गरी नष्ट गरेको हो। 

अवैध रूपमा भित्र्याउन लागेको कुखुराको मूल्य एक लाख बराबर रहेको नायब उपरीक्षक धानुकले बताए। उनका अनुसार कुखुरा भित्र्याउन प्रयोग भएको ज ६ प ९०५९,ज ५ प१६४७,ज २ प ८१६८ र स ७ प ३५३१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई भन्सार कार्यालय जनकपुर पठाइएको छ भने कुखुरा पशु क्वारेन्टाइन र स्थानीयको रोहवरमा नष्ट गरिएको छ।

भारतबाट अवैधरुपमा भित्रिने कुखुराका कारण नेपाली कुखुराले बजार नपाउँदा नेपाली कृषक जोखिममा पर्नुका साथै व्यवसाय पनि धराशायी भएको स्थानीय व्यवसायी र किसानको गुनासो छ। 

प्रकाशित: १७ चैत्र २०७९ ०८:०२ शुक्रबार

कुखुरा