समाज

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दै प्रदर्शन

काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै आज युवा सङ्घ नेपाल र अनेरास्ववियुले प्रदर्शन गरेका छन्।

मूल्यवृद्धि फिर्ताको माग गर्दै सङ्घले अपराह्न बबरमहलस्थित नेपाल आयल निगम कार्यालय घेराउ तथा अनेरास्ववियुले प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि प्रदर्शन गरेका हुनन् । बिनाकारण सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै फिर्ताको माग गरिएको सङ्घका अध्यक्ष पहारीले बताए।

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि नभई निगमले भाउ बढाएको बताउँदै सङ्घले अविलम्ब फिर्ता नभए थप आन्दोलन गरिने चेतावनी दिए। सङ्घले मूल्यवृद्धि फिर्ता गर्नुपर्ने माग राख्दै कार्यकारी निर्देशक गोपाल खड्कालाई ज्ञापनपत्रसमेत बुझाएको थियो।

यसैगरी अनेरास्ववियुले मूल्यवृद्धिको फिर्ताको माग गर्दै अपराह्न प्रदर्शन गरेको सचिव आरसी लामिछानेले जानकारी गराए। निगमले आइतबार रातिदेखि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ ५० पैसा भाउ बढाएको छ। रासस

 

प्रकाशित: ४ पुस २०७३ १४:३१ सोमबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि माग गर्दै प्रदर्शन