समाज

हिमाल सफाइ टोलीलाई महानगरको सहयोग

फाइल तस्वीर

अन्नपूर्ण हिमाल सफाइ गर्न जाने नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिकाले १५ लाख रूपैयाँ सहयोग गर्ने भएको छ। अन्नपूर्ण हिमाल क्षेत्रमा भएका फोहोर सफाइ गर्न जान लागेको सेनाको टोलीलाई पोखरा महानगरपालिकाको तर्फबाट १५ लाख रूपैयाँ दिने मेयर धनराज आचार्यले घोषणा गरेका हुन्।

अन्नपूर्ण हिमाल सफाइ गर्न सेनाको टोली जाने तयारीमा छ। सो टोलीलाई पोखरा महानगरपालिकाको लोगोअंकित झण्डा पनि हस्तान्तरण गरिएको छ। पोखरामा बिहीबार आयोजित बिदाइ कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर आचार्यले महानगरपालिकाको लोगोअंकित झण्डा हस्तान्तरण गरेका हुन्। सो झण्डा सेनाको सफाइ टोलीले हिमालमा लगेर फर्फराउने जनाइएको छ।

झण्डा हस्तान्तरण कार्यक्रममा बोल्दै महानगरप्रमुख आचार्यले पछिल्लो समय मानवीय क्रियाकलाप बढेका कारण हिमालमा प्रदूषण बढेको बताए। उनले पदूषणका कारण हिमालमा पर्नसक्ने असर र खतराप्रति चिन्ता व्यक्त गरे। साथै उनले हिमालको सफाइ अभियानमा पोखरा महानगरपालिका सधैं साथमा रहने बताए। ‘हिमाल पोखराको पहिचान हो,’ उनले भने, ‘पोखरा माछापुच्छ्रे र अन्नपूर्ण हिमाल लगायत हिमशृंखलाको काखमा रहेको सहर हो, त्यसैले हिमालविनाको पोखरा हामी कल्पनासम्म पनि गर्न सक्दैनौं।’

कार्यक्रममा सेनाका पश्चिम पृतना विजयपुर ब्यारेकका पृतनापति एवम् उपरथि मेजर जनरल दीपककुमार बानियाँले नेपाली सेनाको स्वच्छ हिमाल अभियान अन्तर्गत यस वर्ष अन्नपूर्ण हिमालको पनि सफाइ गर्न लागेको जानकारी दिए। हिमालहरूको बेस क्याम्पहरूमा बढिरहेको मानवीय क्रियाकलापका कारण थुप्रिएको फोहोर व्यवस्थापन वातावरणीय दृष्किोणले पनि चुनौती र चिन्ताको विषय बनेको उनको भनाइ थियो।

सेनाको टोलीले यसअघि सन् २०२१ मा धौलागिरी हिमाल र सन् २०२२ मा मनास्लु हिमाल क्षेत्रको फोहोर सफाइ गरेको थियो। उनले ८ हजार मिटरभन्दा माथिका सबै हिमालमा सफाइ अभियान सञ्चालन गरिने बताए। सेनाका प्रमुख सेनानी किशोर अधिकारीले १० जनाको टोलीले सफाइ अभियान सञ्चालन गर्न लागेको जानकारी दिए।

नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने उक्त अभियानमा वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, विश्व वन्यजन्तु कोष नेपालको आर्थिक र नेपाल पर्वतारोहण सङ्घ, हिमालयन उद्धार सङ्घ, अनुसन्धान तथा दिगो विकास केन्द्र नेपाल लगायतका सङ्घसंस्थाहरूले प्राविधिक सहयोग गरेका छन्।

प्रकाशित: १७ चैत्र २०७९ ०२:४५ शुक्रबार

अन्नपूर्ण हिमाल सफाइ पोखरा महानगरपालिकाले १५ लाख रूपैयाँ सहयोग गर्ने