समाज

बेमौसमी बाढीले मुस्ताङको घमीमा क्षति

पोखरा- वर्षा नै नभई अचानक आएको बाढीले उग्ररुप लिँदा उपल्लो मुस्ताङको घमीमा व्यापक क्षति पुगेको छ। घमीगाउँभन्दा निकै माथिबाट आएको बाढीले भीषण रुप लिँदा घमीको ढाकमर गाउँमा क्षति भएको हो। हिमपहिरोले बाढीको रुप लिएको हुन सक्ने गाउँलेको अनुमान छ। मुस्ताङमा प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले घमीका ८ र ९ वडालाई जोड्ने ढाकमर खोलामा बाढी आएको हो। बाढीले ढाकमर खोलाका आठ काठेपुल बगाएको उनले बताए। 'गाउँ हुँदै ढाकमर खोला बगेको थियो। माथिबाट अचानक आएको भीषण बाढीले गाउँमा क्षति पुर्‍याएको हो,' पोखरेलले भने, 'मानवीय नभए पनि भौतिक क्षति पुगेको छ।'

ढाकमर गाउँमा दुई दर्जन घर छन्। त्यस क्षेत्रमा गाउँले जाडो छल्न पोखरालगायतका सहरमा झरेकाले क्षति कम भएको प्रजिअ पोखरेलले बताए। उनका अनुसार बाढीले ठूल्ठूला ढुंगा पनि बगाएर ल्याएको छ।

स्थानीयका अनुसार ढाकमर खोलाका पुल बगाउँदा गाउँलेलाई समस्या परेको छ। ढाकमर गाउँमा खानेपानी ल्याएको पाइप बाढीले बगाएको छ। खोलामा सञ्चालित पानीघट्ट बगेका छन्। केही घरमा बाढीले बगाएर ल्याएको लेदो पसेको छ। 'बिहान ९ बजे एक्कासि माथिबाट बाढी आएको रहेछ,' गाउँले उठिसकेकाले मानवीय क्षति हुन पाएन,' प्रजीअ पोखरेलले भने, 'राति बाढी आएको भए थप नोक्सान पुग्न सक्थ्यो।'

बिहान बाढी आएको थाहा पाएपछि उद्धारका लागि पुगेको प्रहरी टोलीको नेतृत्व गरेका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बानियाँका अनुसार घमी–८ मा चारवटा र ९ मा चार वटा काठेपुल बगेका छन्। 'निकै माथिबाट भीषण बाढी आएको रहेछ। संयोगले मानवीय क्षति हुन पाएन,' उनले भने।

स्थानीय पेमा तेन्जिङ गुरुङका अनुसार करिब ३७ सय मिटर उचाइमा ढाकमर गाउँ छ। गाउँमाथि करिब ५५ सय मिटरमा दुईवटा हिमताल छन्। तिनैमध्येको ताल फुटेर अचानक बाढी आएको हुन सक्ने उनले बताए। उनका अनुसार गाउँमाथिका ताललाई मुहान बनाएर चराङ, घमी र ढाकमर खोला बगेका छन्। 'घाम लागेको छ, पानी परेको छैन। तर, अचानक बाढी आयो, ताल फुटेकैले हुनसक्छ,' उनले भने 'हिमपहिरो आएर तालमा मिसिएको र त्यो पग्लिदै जाँदा ताल भरिएर फुटेको पनि हुन सक्छ।' हिमपहिरोबिना ताल फुट्ने सम्भावना नभएको उनले बताए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को लोमान्थाङ कार्यालयमा लामो समय बसेका संरक्षण अधिकृत सन्तोष शेरचनका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ जाने नियमित मार्ग नभए पनि घमीको गाउँ हुँदै पर्यटक केही वर्षअघिसम्म लोमान्थाङ उक्लिन्थे। क्याम्पिङ टे्रकको रुपमा पनि यो पदमार्ग चिनिएको थियो।

'जलवायु परिवर्तनको असरले यो अवस्था आएको हुन सक्छ। यो बेला भीषण बाढी आउने समय पनि होइन। यसै पनि त्यता कम पानी पर्छ,' शेरचनले भने, 'माथिबाट पहिरो झरेर तालमा मिसिएको र त्यसले ताल फुटाउँदा बाढीको रुपमा परिणत भएको हुन सक्छ।' हिमपहिरो थेग्न नसकेपछि ताल बगेको हुनसक्ने उनले बताए।

भूगर्भविद् श्रीकमल द्विवेदीका अनुसार ढाकमरमाथि दुई हिमतालमध्ये एउटा ५ सय मिटर लम्बाइ र १ सय ५० मिटर चौडाइको छ। अर्काे ताल ४ सय मिटर लम्बाइ र २ सय मिटर चौडाइको छ। दुवै तालको पानी बगेर ढाकमर गाउँमा आउँछ। 'दुईमध्ये कुनै एउटा हिमतालमा माथिबाट पहिरो झरेको हुन सक्छ। ठूलो पहिरो एक्कासि झरेर पानी छचल्किँदा बाढीको रुप लिएको हुनसक्छ,' भूउपग्रह तस्बिर हेर्दै उनले भने, 'यति बेला ताल फुट्ने समय होइन। अधिक चिसो हुने भएकोले फुट्ने सम्भावना कम हुन्छ।'

प्रकाशित: ४ पुस २०७३ ०३:१४ सोमबार

बेमौसमी बाढीले मुस्ताङको घमीमा क्षति