समाज

विदेशबाट फर्किएकाको सुझाव: सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जानुस्

काठमाडौँ- सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा गए वैदेशिक रोजगारी सुरक्षित, व्यवस्थित र मर्यादित हुने यहाँ आज आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन्।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा पौरखी नेपालले आयोजना गरेको ‘कामदारको सुनुवाइ कार्यक्रम’का सहभागीले तालिमबिना वैदेशिक रोजगारीमा जाँदा न्यून ज्याला पाउने, दुर्घटना हुनेजस्ता समस्या भोग्नुपरेको वैदेशिक रोजगारीबाट फर्किएका कामदारले आफ्नो अनुभव सुनाएका छन्।

ओमनबाट फर्किएकी अस्मिता तामाङले तालिमबिनै वैदेशिक रोजगारीमा गएकाले आफूले धेरै समस्या भोग्नुपरेको अनुभव सुनाइन्।

ओमनबाट फर्किएपछि अहिले खाजा घर र पानीपुरीको व्यापार चलाएर राम्रो आम्दानी गरेको अनुभव सुनाउँदै काम गरे नेपालमै पनि विदेशमाभन्दा बढी आम्दानी गर्न सकिने बताइन्।
दुई वर्षअघि मलेसिया गई बिमार भई नेपाल फर्किएका राजु काफ्लेले अर्काको नाममा आएको प्रवेशाज्ञामा दलालले आफूलाई पठाउँदा बिचल्लीमा परेको बताए।  

उनले भने, “रङ लगाउने र प्याकिङ गर्ने काममा रोजगारी दिने भन्दै लगेकामा मलाई मलेसिया पुगेपछि फलामको काम गर्ने कम्पनीमा काम लगाइयो, त्यही कारण मलाई ब्रेन ट्युमर भयो।”

दक्षिण कोरिया जान भाषा सिक्दै गरेकी जुनु तामाङले गोलभेँडा खेतीमार्फत गत वर्ष रु एक लाख ७० हजार फाइदा गरेपछि अहिले विदेश जाने चाहना परित्याग गरेको बताइन्।  

राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष भगवती घिमिरेले वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन श्रम तथा रोजगार मन्त्रालय थप सक्रिय बन्न आवश्यक रहेको धारणा राखिन्।

आयोजक पौरखी नेपालका अध्यक्ष मञ्जु गुरुङले वैदेशिक रोजगारीमा जान लागेका महिला र फर्किएका महिलालाई हेर्ने आम दृष्टिकोणमा परिवर्तन हुन आवश्यक रहेको धारणा राखिन्। रासस

 

प्रकाशित: २ पुस २०७३ १४:२९ शनिबार

विदेशबाट फर्किएकाको सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जानुस्