समाज

हास्ने रहरहरू

काभ्रे धुलिखेलकी विनिता श्रेष्ठको दाँत दुई वर्ष अघिसम्म टमक्क मिलेका थिए। बिस्तारै दाँतका लहरमा छिद्र देखिन थालेपछि उनी चिन्तित भइन्। स–साना कुरा धित खोलेर हाँस्ने उनी दाँतमा छिद्रकै कारण मुस्कान अड्कल्न थालिन्।

बिग्रनुअघि नै दाँत मिलाउन उनलाई साथीले सुझाए। दुई वर्षअगाडि उनले दाँतको उपचार गराइन्। अर्थोडोन्टिक्स टि्रटमेन्ट अर्थात् दाँतमा तार बाँध्ने उपचार उनले अपनाइन्। दाँतका तार अझै हटेको छैन। तर, रोकिएको उनको उनको मुस्कान फेरि दौडिएको छ। उनी फेरि धित फुकाएर हाँस्न थालेकी छिन्।

'दाँतमा तार बाधेसँगै आत्मविश्वास बलियो भएको महसुस भएको छ, 'भक्तपुर नगरपालिकामा आर्किटेक्ट इन्जिनियरको रूपमा कार्यरत उनले भनिन्, 'खुसी फेरि फर्किएको महसुस भएको छ।' चाँडै नै दाँत पहिल्यैको रुपमा आउने उनले सुनाइन्। 'फेरि दाँतका लहर उस्तै टिमिक्क हुने डाक्टरले बताउनुभएको छ,' उनले भनिन्, 'निकै खुसी लागेको छ।'

उनीजस्तै अहिले थुप्रै युवायुवती आकर्षित बनेका छन्। दाँतसम्बन्धी रोगलाई स्वास्थ्यसँग मात्र जोडेर हेरिँदै आएकोमा पछिल्लो समय यसलाई सुन्दरतासँग समेत जोडेर हेरिन थालेको छ। त्यसैले किशोरहरू झनै आकर्षित भएका छन्। तिनैमध्येका एक हुन्, स्किम कलेज कक्षा १२ मा अध्यनरत साइन पण्डित पनि। तीन महिनायता उनले पनि दाँतमा तार बाँधेर नमिलेका दाँत मिलाउँदै छन्। नमिलेका दाँतका कारण हाँसो ओठभित्रै बन्द गर्दै आएका उनी पनि बिस्तारै खुल्न थालेका छन्।

दुई वर्षपछि पूरै दाँत राम्रो हुने उनी सुनाउँछन्। 'मलाई यो खबरले अहिलेदेखि नै रमाइलो लागेको छ,' उनले भने, 'म दाँत लहरै मिलेको हेर्ने दिनको प्रतीक्षामा छु।'

उनले जस्तै थुप्रे किशोरकिशोरीले आफ्नो नमिलेका दाँत बनाउन थालेको चिकित्सक बताउँछन्। दाँत नमिलेका कारण लजाउने, मुख छोपेर हाँस्ने नानीहरू उपचार गराउन थालेका छन्।

नोबेल कलेजमा स्नातक तहमा अध्यनरत वर्षा लामिछाने मनभित्र गुम्सिएको हाँसो बाहिर निस्किन थालेको सुनाउँछिन्। 'दाँतमा केही अप्ठेरो त भएको छ,' उनले भनिन्, 'मनको अप्ठेरो भने हटेको छ।'

गत भदौबाट दाँतमा तार बाँधेर उपचार थालेकी उनले त्यसयता खुलेर हाँसेको सुनाउँछिन्। 'साथीहरूले समेत कति धेरै हाँस्न थालेको भन्छन्,' उनले भनिन्, 'तार बाँधेसँगै आत्मविश्वास बढेको छ।'

डेन्टल सर्जन अनु कर्माचार्य पछिल्लो समय किशोरकिशोरीमा दाँत मिलाउने क्रम बढेको सुनाउँछिन्। 'अर्थोडेन्टिक्स उपचार विधिबाट नमिलेर पलाएका दाँतलाई सुन्दर आकारमा ढाल्न मिल्छ,' उनले भनिन्।

दाँतका माध्यमबाट आफूलाई कसरी सुन्दर बनाउन सकिन्छ भनेर तन्नेरी युवा युवतीको ध्यान त्यतैतिर केन्›ित हुनेगरेको उनले बताइन्। दाँतको बनावट र अवस्थाअनुसार न्यूनतम ६ महिनादेखि साधारणतया बढीमा दुई वर्ष लाग्न सक्ने उनले बताइन्। कसैमा यो समयभन्दा पनि बढी लाग्न सक्ने उनी सुनाउँछिन्। नमिलेका दात लिएर आउनेहरु रमाएर फर्कदा खुसी लाग्ने उनले बताइन्। 

'पहिला दाँतलाई स्वास्थ्यसँग जोडेर मात्र हेर्ने गरिन्थ्यो, अहिले सुन्दरतासँग पनि जोडेर हेरिन्छ,' उनले भनिन्, 'त्यही भएर किशोर किशोरीमा यसको रुचि बढेको छ।'

दाँतमा रहेको तार हटेपछि उनीहरू झनै हाँस्न थालेका छन्। 'तार छउन्जेल कमै हाँस्थे,' भक्तपुर व्यासीकी सरला सुवालले भनिन्, 'तार खोलेसँगै हाँसो झनै फैलिएको छ।'

दाँत केही नमिलेका कारण हातले मुख छोपेर हाँस्दै आएकी उनी तीन वर्षको उपचारपछि खुलेर हाँस्न थालेकी हुन्। 'पहिला सबैले दाँतको बारेमा विभिन्न कमेन्ट गर्थे,' उनले भनिन्, 'अहिले त्यस्तो कमेन्ट सुन्नुपरेको छैन।'

नमिलेका दाँतलाई बनाउने क्रम बढे पनि सबैले यो सेवा भने लिएका छैनन्। कसैले यसलाई आर्थिक कारणको रूपमा गराउन पाएका छैनन् भने कतिपयले आफ्नो 'ओरजिनल' दाँत नमिलेकै भए पनि राम्रो लाग्ने सुनाए।

यस्तै सोच राख्छन्, बागेश्वरी उच्च माविका अर्थशास्त्रका शिक्षक मुरज दिदिया। उनका पनि दाँत खासै मिलेका छैनन्। लामो समयसम्म उनले दाँतबारे सोच्दा पनि सोचेनन्। उनी तिनै दाँतले मन खोलेर हाँस्थे।  यसैबीचमा उनले दाँत मिलाउने प्रयास पनि गरे। तर, बीचमै दाँत हल्लिन थालेपछि उनको त्यो प्रयास सफल हुन सकेन। तर उनले हाँस्न छाडेनन्।

'मैले कोसिस गरेँ, भएन,' उनले भने, 'तर दाँत नमिलेको भनेर कहिले हाँस्न छाडिनँ।' मन फुकाएर हाँसे दाँत मिले पनि नमिले पनि केही असर नपर्ने उनको अनुभव छ।

प्रकाशित: २ पुस २०७३ ०४:४९ शनिबार

हास्ने रहरहरू