समाज

ताप्लेजुङका झण्डै ९० प्रतिशत परिवारले खाना पकाउन दाउरा बाल्छन्

ताप्लेजुङका झण्डै ९० प्रतिशत परिवार अझै पनि खाना पकाउन काठ/दाउराकै भरमा रहेको पाइएको छ।

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार ८८.६७ प्रतिशत घरधुरीले खाना पकाउन काठ/दाउराकै प्रयोग गर्ने गरेका छन्।

प्रतिवेदन अनुसार यहाँ रहेका २७ हजार ७ सय ७६ घरधुरीमध्ये २४ हजार ६ सय ३० घरधुरीले खाना पकाउन काठ/दाउराको प्रयोग गर्ने गरेका छन्। १०.८२ प्रतिशत घरधुरीले खाना पकाउन एलपीग्याँसको प्रयोग गर्ने गरेका छन्। कूल घरधुरीमध्ये एलपी ग्याँस प्रयोग गर्ने घरधुरी ३ हजार ६ रहेको छ। ०.११ प्रतिशत घरधुरीले बिजुलीबाट खाना पकाएर खाने गरेका छन्।

कूल घरधुरीमध्ये बिजुलीबाट खाना पकाएर खानेको संख्या ३२ मात्र रहेको छ। यस्तै बिजुलीबाट भन्दा बढी खाना पकाउन बायोग्याँसको प्रयोग गर्ने गरेको जनगणनाको प्रतिवेदनमा उल्लेख गरिएको छ।

बायोग्याँसको प्रयोग गरेर ०.१८ प्रतिशत अर्थात् कूल घरधुरीमध्ये ५१ परिवारले खाना पकाउन बायोग्याँसको प्रयोग गर्ने गरेका छन्। ०.०१८ प्रतिशत अर्थात् कूल घरधुरीमध्ये ५ परिवारले मात्र गुइँठालाई दाउराको रुपमा प्रयोग गरेर खाना पकाउने गरेको पाइएको छ।

बिद्युत्को प्रयोग गरेर खाना पकाउने घरधुरीको संख्या औसतमा ज्यादै कम देखिए पनि करिब ८७ प्रतिशत घरधुरीमा भने बिद्युत्को पहुँच पुगेको पाइएको छ। कूल २७ हजार ७ सय ७६ घरधुरीमध्ये २४ हजार ५९ घरधुरीको बिद्युत्को पहुँच उपलब्ध भएको जनगणनाको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रकाशित: १५ चैत्र २०७९ १०:०३ बुधबार