समाज

ठेचोमा नवदुर्गा जात्रा

ललितपुर- ललितपुरको ठेचोमा बिहीबार नवदुर्गा भवानीको नाच देखाइएको छ। बिहिबार सबेरै नवदुर्गा भवानीको मन्दिर पछाडि देवगण पंक्तिबद्ध भई डबलीमा सामूहिक पूजा गरी नाच सुरु गरेका थिए। त्यसपछि नवदुर्गा मन्दिर परिसरमा भैरव, काली, गणेश, कुमारी, ब्रह्मायणी, विष्णुदेवी, महालक्ष्मी, महादेव, सिंहिनी र ब्याघि्रनी लगायतले नृत्य गरेका थिए।

नाच क्रममा बाजा बजाउने देवगणलाई मानिसको खप्पर आकारको कचौरामा जाँड रक्सी पालैसँग खुवाएर नाच देखाइएको नवदुर्गा भवानीदेवी गुठीका नाइके भक्तलाल मालीले जानकारी दिए। उनले यो नाचमा बलि चढाउने परम्परा पनि रहेकाले बिहीबार बेलुकी हाँस र राँगाको बलि दिइएको बताए। …यो जात्रामा बलि चढाउँदा निःसन्तानको सन्तान हुने र महामारी नलाग्ने विश्वास गरिन्छ,' उनले भने, …बुधबार बेलुकी सुरु भएपछि बिहीबार राति १२ बजेसम्म नाच देखाइन्छ।'

नाइके मालिका अनुसार बिहीबार बेलुकी नवदुर्गा भवानीदेवी गुठीले बलि दिएर पूजा गरेपछि अन्त्यमा कालीको नाच देखाइनेछ। यो दिनलाई ठेचोवासीले न्हि प्याखं (दिउँसोको नाच) पनि भन्ने गरेको उनले बताए। देवीनाच सकिएपछि राति ११ बजे ब्रह्मायणीको पूजा गरी मन्दिरको मूलद्वारबाट खटको छाना भिœयाइन्छ र शुक्रबार बिहान गणेश, बालकुमारी, र भैरवको सिन्दुर जात्रा गरी जात्रा सकिन्छ।

नाचको सुरुवातबारे आधिकारिक अभिलेख नभए पनि विभिनन शिलालेख अनुसार लिच्छवीकालमा सुरु भएको ठेचोका स्थानीय राकेश मालीले जानकारी दिए। उनले वर्षेनी यःमरी पूर्णिमामा नाच सुरु भएर चार दिन चल्ने गरेको बताए।

पछिल्लो समय नवदुर्गा गुठीको जग्गा गुठीमै आबद्ध केही व्यक्तिले नामसारी गरी हडप्ने प्रवृत्तिले नाच परम्परा जोगाउन कठिन भएको नाइके मालीले जनाए। उनले भने, …५ वर्षअघि पाटन, वुङमती, लुभू, हनुमानढोका परिक्रमा गराएपछि मात्र नाच सकिन्थ्यो। पछिल्लो समय गुठीयारले नै जात्रा धरापमा पार्न थालेकाले हिजोआज सुनाकोठी र ठेचोमा मात्र नवदुर्गा नाच परिक्रमा गराइँदै आएको छ।'

 

प्रकाशित: १ पुस २०७३ ०७:१३ शुक्रबार

ठेचोमा नवदुर्गा जात्रा