समाज

गाँस खोस्दै बबई सिँचाइ


कलेन्द्र सेजुवाल/निर्मल घिमिरे

बाँसगढी (बर्दिया)- खेतमा उमि्रएका गहुँका बोट पानी नपाएर ओइलाउँदै जाँदा दानबहादुर थारूको परिवारमाथि चिन्ताको बादल मडारिइरहेको छ। केही दिन यस्तै अवस्था रहे गहुँबाली सुक्ने चिन्ताले उनी राति सुत्नै सक्दैनन्।

'गहुँले पानी खोजिरा'छ, बबईका हाकिमले भने मरेकाटे नहरमा पानी छाड्दैनन्,' ओइलाएका गहुँका बोट देखाउँदै ककौराका दानबहादुरले भने, 'यो त हामी गरिब किसानलाई मार्ने काम भयो।'

निर्माण तथा स्तरोन्नति बहानामा बबई सिँचाइ आयोजनाले नहरमा पानी बन्द गरेपछि दानबहादुरजस्ता हजारौं किसान मारमा छन्। सिँचाइ सुविधा पुर्‍याउने राष्ट्रिय गौरवको आयोजनाले 'पिक आवर' मा नहर बन्द गरेर 'रोटी खोस्न खोजेको' उनीहरूको आरोप छ। 'गहुँले गाँजा हाल्ने बेला पानी नपाएपछि कसरी फलको आस गर्ने?' ककौराकै विपत थारूले सुनाए, 'यो त हाम्रो रोटी खोस्ने किसानमारा काम भयो।'

बर्दियाको ३६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यकसाथ सञ्चालित यस आयोजनाले पूर्वी नहर मंसिर ८ देखि पुस १५ सम्म र पश्चिमी नहर कात्तिक २८ देखि पुस २८ सम्म बन्द गर्ने निर्णय गरेको छ। स्थानीयका अनुसार मंसिर तेस्रो सातादेखि पुस पहिलो सातासम्म गहुँलाई पानी अनिवार्य चाहिन्छ। आयोजना कार्यालयले व्यावहारिक पक्षको ख्याल नगर्दा हजारौं हेक्टर जग्गामा लगाइएको गहुँबाली सुक्ने अवस्था छ।

'हामीले निर्माणको काम नगर भनेका होइनौं, खेतमा एकपटक पानी पुर्‍याएपछि गर्दा राम्रो हुन्छ भनेका मात्र हौं,' कालिका गाविसका किसान इन्द्र लुइँटेलले भने, 'यहाँ त जानाजान हाम्रो पेटमाथि लात हान्ने काम भएको छ।' पानी नपाउँदा किसानमा हाहाकार मच्चिएको उनले बताए।

किसानका मर्का सुनाउन बारम्बार बबई सिँचाइ आयोजना कार्यालय पुगेका लुइँटेलका अनुसार आयोजनाले पानी बन्द गर्दा नहरको पश्चिमी क्षेत्रमा मात्र झन्डै २१ हजार घरधुरी प्रभावित छन्। यसले कृषिमा आश्रित गरिब तथा विपन्न परिवारमा तनाब बढेको छ।

धान–गहुँ बेचेर परिवारको गर्जो टार्दै आएका देउडाकलाका रामशरण थारूले गहुँ छरेको एक महिना बित्यो। उनका अनुसार सामान्यतयाः छरेको २२ दिनमा खेतमा पानी पुर्‍याउनुपर्छ। तर, आयोजनाले कहिले पानी छाड्ने हो भन्ने अझै निश्चित छैन। 'गहुँले दुई–चार दिनमा पानी पायो भने पनि ५० प्रतिशत उत्पादन कम हुने देखिन्छ,' उनी भन्छन्, 'पुस १५ सम्म त गहुँका बोट देख्न पाइने हुन् कि नाइँ भन्नै सकिन्न।'

बबई सिँचाइ आयोजनाले पूर्वी र पश्चिमी नहरबाट बर्दियाका डेढ दर्जन गाविसमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको छ। यी गाविसमा थारू समुदायको बाहुल्य छ। अधिकांश थारु परिवारसँग आफ्नो जग्गा थोरै छ। उनीहरू अरूको जग्गामा अधिया लगाउँछन्। अधिया लगाउने किसानको पीडा अझ बढी छ। पाँच सदस्यीय परिवारका घरमालिक विपतका नाममा ६ कट्ठा जग्गा मात्र छ। उनले डेढ बिघा जग्गा अधिया गरेका छन्। समयमै पानी नपाउँदा यति धेरै जग्गामा खर्चेको श्रम व्यर्थै खेर जाने उनको गुनासो छ। 'साहु (जग्गा मालिक) ले त मल, पानीको समस्या केही पनि बु‰दैनन्, पहिला जति पाउँथ्यो अहिले पनि उत्ति नै गहुँ खोज्लान्,' उनले भने, 'अनि हामीले कहाँबाट खोजेर दिने गहुँ?' पानीको कारण गहुँ उत्पादन घट्दा जग्गाधनीले अधिया किसानमाथि शंका गर्ने अवस्था आउने उनले बताए।

बबई सिँचाइ आयोजना प्रमुख दानरत्न शाक्य किसानमाथि परेको मर्काबारे जानकार नभएका होइनन्। तर, उनी पँुजीगत खर्च घटाउनको लागि निर्माण कार्य थाल्नुपरेको बताउँछन्। उनका अनुसार आयोजनाले अहिले करिब ६० करोड रुपैयाँमा २७ निर्माण व्यवसायीमार्फत काम गरिरहेको छ। विगत वर्षमा करिब साढे तीन महिनामात्र निर्माण कार्य हुँदा आयोजनाको काम लम्बिएकाले गति बढाउनका लागि किसानलाई पानी चाहिने बेला नहर बन्द गर्नुपरेको उनको भनाइ छ। 'किसानमाथि परेको मर्का एकातिर छ, हामीले कार्यप्रगति देखाउनुपर्ने बाध्यता अर्कोतिर छ,' उनले भने, 'त्यही भएर केही दिनयता किसानको समस्या आउन थालेको छ।'

'पिक आवर' मा नहर बन्द गर्न स्थानीय उपभोक्ताकै संस्था बबई सिँचाइ जलउपभोक्ता समितिले साथ दिएको छ। समितिले सहमतिमै आयोजनाले नहर बन्द गरेर काम सुरु गरेको जनाएको छ तर समितिका अध्यक्ष बलिराम चौधरी भने पछुताउमा देखिन्छन्।

'हामीले निर्माण कार्यलाई मात्र ध्यान दिँदा यस वर्ष किसानमाथि साँच्चिकै अप्ठेरो स्थिति आइलागेको छ,' उनले भने, 'यसलाई कसरी सुल्झाउने भन्नेबारे सोचिराखेका छौं।' किसानको समस्यालाई मानवीय रुपमा सोच्नुपर्ने उनले बताए।

स्थानीय अगुवा भने आयोजना कार्यालय र उपभोक्ता समितिलाई विकास–बजेट सक्ने बहानामा पानी सिँचित गर्नैपर्ने समयमा काम थाल्नुपर्ने बाध्यता कसरी आइलाग्यो भन्नेबारे अचम्भित छन्। उनीहरूका अनुसार यो एक महिना काम नगर्दा ठूलै नोक्सान हुने पनि देखिँदैन।

'पुस मध्यदेखि जेठ मध्यसम्म किसानलाई एक थोपा पानी नभए पनि हुन्छ,' माछागडका स्थानीय कृष्ण वलीले भने, 'यो समयलाई सदुपयोग गर्ने हो भने विकास पनि हुने किसानलाई मार पनि नपर्ने हुन्थ्यो, यहाँ त किसानलाई भोकभोकै हुने गरी काम थालियो।'

प्रकाशित: ३० मंसिर २०७३ ०२:५९ बिहीबार

गाँस खोस्दै बबई सिँचाइ