समाज

स्कुल गएका सन्तोष १० दिनदेखि बेपत्ता

दश दिनदेखि बेपत्ता सन्तोष गिरी ।

धादिङ– घरबाट विद्यालय गएका धादिङ धुषा– १ आदमाराका सन्तोष गिरी १० दिनदेखि बेपत्ता छन् । बेनिघाटस्थित चन्द्रोदय मावि कक्षा ९ मा अध्ययनरत १५ वर्षीय गिरी मंसिर १७ गतेदेखि हराएका हुन् । सन्तोषका बुबा शंकर भन्छन्, ‘बिहान स्कुल जान ड्रेस लगाएर घरबाट निस्किएको हो, स्कुल पुगेकै रहेनछ, आफन्त र साथीहरू भएको सबै ठाउँमा खोजियो कतै भेटिएन ।’
शंकरका अनुसार सन्तोषले आफ्ना एक साथीसँग मेरो किताब तिमी पढ, पछि भेटौँला भनेर निस्किएका थिए ।

यसअघि घर छोडेर कतै नगएका सन्तोष एकाएक हराएपछि परिवार चिन्तामा परेको छ । बालुवा खानी र त्रिशूली नदीमा समेत सन्तोषको खोजी गर्दा नभेटिएको सन्तोषका दिदी सीता गिरीले बताइन् ।  सन्तोषले रातो सर्ट र कालो पाइन्ट लगाएका छन् ।

पृथ्वी राजमार्गका ठाउँ–ठाउँमा फोटो छोडेर सन्तोषको खोजी गरिसकेको आफन्तले बताएका छन् । सन्तोषको खोजी गरिदिन उनका परिवार र आफन्त विभिन्न निकायमा हारगुहार गरिरहेका छन् ।


 

प्रकाशित: २७ मंसिर २०७३ ०३:४१ सोमबार

स्कुल गएका सन्तोष १० दिनदेखि बेपत्ता