समाज

‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ कार्यान्वयनमा

म्याग्दीको मङ्गला गाउँपालिकाले सुत्केरीलाई कुखुराको भाले उपहार दिन थालेको छ। ‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ मार्फत भाले उपहार दिन थालेको हो। गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख लेखनाथ रोकाले शिशु र आमाको पोषण तथा स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति हुनेलाई कुखुराको भाले उपहार दिन थालिएको बताए।

‘गर्भ र सुत्केरी परीक्षण गराई बच्चा र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन सुत्केरीलाई भेट्न जनप्रतिनिधि र स्वास्थ्यकर्मी भाले लिएर घरमै जाने गरेका छौं’, उनले भने, ‘घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भपरीक्षण नगराउने समस्या हटाउन गाउँपालिकाले उपहारसहित विभिन्न सन्देशमूलक अभियान सञ्चालन गरेको हो।’

तोकिएको मितिमा आठ पटक गर्भ र सुत्केरी परीक्षण गर्दा हरेकपटक एकएक क्रेट अन्डा र संस्थागत प्रसूति हुनेलाई एक कुखुराको भाले दिने गरिएको हो। संस्थागत सुत्केरी हुनेलाई संघीय सरकारले यातायात खर्च बापत  दुई हजार रुपैयाँ र गर्भपरीक्षण गर्नेलाई थप  आठ सय रुपैयाँ उपलब्ध गराउने गरेको छ। अन्डा र भाले गाउँपालिकाको बजेटबाट उपलब्ध गराइएको हो।

पाँच वडा रहेको मङ्गलामा वार्षिक ७०–८० जनाको अनुपातमा संस्थागत सुत्केरी हुने गरेका छन्। कुहुँ, अर्मन र बरङ्जा स्वास्थ्यचौकीमा प्रसूति सेवा उपलब्ध छ। नियमित गर्भ र सुत्केरी परीक्षण गराउँदा आमा र बच्चाको स्वास्थ्य अवस्था तथा समस्या पहिचान गरेर जोखिमको व्यवस्थापन गर्न सहज हुने स्वास्थ्यकर्मीले बताएका छन्।

चालु आर्थिक वर्ष २०७९/८० मा संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन भएको छ। कार्यक्रमबाट गर्भवती र सुत्केरीको खानपान, सरसफाइ र स्याहार सुधारमा जागरण आएको गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारीले बताए। गर्भवती, सुत्केरी र बच्चाको स्वास्थ्य, पोषण, आहरा र सरसफाइमा जागरण ल्याउन कार्यक्रमले सहयोग पुगेको उपाध्यक्ष अधिकारीले बताए। रासस

प्रकाशित: १२ चैत्र २०७९ ०५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App