समाज

नवलपरासी बाैलाहा खोलाको पुल भाच्चियो: राजमार्गमा यातायात ठप्प

नवलपरासी–ट्रकको ठक्करले पूर्व पश्चिम महेन्द्र राजमार्गमा रहेको पुल भाच्चिएपछि नवलपरासीको दलदलेमा यातायात आवागमन आज आइतबार बिहानदेखि ठप्प भएको छ। नारायणगढबाट बुटबल जाँदै गरेको ना ६ ख ३०१७ नम्बरको ट्रक पुलमा ठोक्किएर पल्टिएको थियो। ट्रक हटाएपनि पुलमा क्षति भएका कारण गाडी चल्न नसकेको इलाका प्रहरी कार्यालय नवलपुर कावासोतीले जनाएको छ।

‘साना गाडीहरु अर्को बाटोबाट गएका छन् । ठूला र मालवाहक गाडी पास गराउनका लागि डाइभर्सन बनाउने काम सुरु भएको छ । यातायात पूर्णरुपमा खुल्न समय लाग्ने देखिन्छ’, इलाका प्रहरी कार्यालय नवलपुर कावासोतीका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजेश थापाले भने। देवचुली–१२ दलदलेमा रहेको सो पुलमा बिहान साढे तीन बजे तिर ट्रक ठोक्किएको उनले बताए ।

आवागमन ठप्प भएपछि पूर्व पश्चिम महेन्द्र राजमार्गको रजहर र कावासोतीसम्म  गाडीहरुकोे लाम लागेको  छ।  महेन्द्रराजमार्गको नारायणगढ बुटबल खण्डका  जीर्ण ट्रस ब्रिजहरु योभन्दा अघि पनि पटक पटक भाच्चिने गरेका छन्। चार वर्षअघि दलदलेभन्दा केही पश्चिम प्रगतिनगर लोकाहा खोलको पुल पनि भास्सिएका कारण लामो समय समस्या भएको थियो।

त्यस्तै दुई वर्षअघि गैंडाकोटको जयश्री खोलामा रहेको यस्तै ट्रस पुल ट्रककै ठक्करले भाच्चिएको थियो । सो पुल दुई दुई पटक भाच्चिएपछि अहिले नयाँ बनाउने काम सुरु भएको छ। गाडीहरु बेली ब्रिजबाट आरपार हुँदा सो ठाउँमा पनि कहिले काही घण्टौं जाम हुने गर्दछ ।

प्रकाशित: २६ मंसिर २०७३ ०४:१६ आइतबार

नवलपरासी बाैलाहा खोलाको पुल भाच्चियो राजमार्गमा यातायात ठप्प