समाज

ताप्लेजुङमा कैदीलाई अनुशिक्षण

ताप्लेजुङ कारागारमा रहेका कैदीबन्दीलाई क्षयरोगविरुद्ध सचेतनामूलक अनुशिक्षण गराइएको छ। स्वास्थ्य कार्यालय र जिल्ला कारागार शाखा ताप्लेजुङको संयुक्त संयोजकत्वमा कारागारमा रहेका कैदीबन्दीलाई अनुशिक्षण गराइएको स्वास्थ्य कार्यालय ताप्लेजुङका ल्याब टेक्निसियन इन्सपेक्टर गोपाल बरालले जानकारी दिए।

जनस्वास्थ्य अधिकृत पशुपति खनालले कैदीबन्दीलाई क्षयरोग, यसका लक्षण, रोग लाग्न नदिनका लागि अपनाइने सावधानी र बच्ने उपायबारे जानकारी गराएका थिए। जिल्ला कारागार शाखाका प्रमुख कुलेन्द्र खवासका अनुसार अहिले ताप्लेजुङ कारागारमा १५३ जना कैदीबन्दी रहेका छन्। ‘हो हामी क्षयरोग अन्त्य गर्छौं’ भन्ने नाराका साथ यस वर्षको विश्व क्षयरोग दिवस मनाइएको हो।

जनस्वास्थ्य अधिकृत खनालका अनुसार क्षयरोग माइको ब्याक्टिरियम ट्युबरक्युलोसिस नामक जीवाणुका कारण लाग्ने रोग हो। उक्त जीवाणुबाट प्रभावित मानिसले खोक्दा वा हाछ्युँ गर्दा निस्किने स–साना कणबाट अरू मानिसमा सर्ने सम्भावना उच्च रहन्छ। संक्रमितमार्फत जीवाणुहरू वातावरणमा निस्कने र त्यहाँ रहेका निरोगीले सास फेर्दा त्यो उनीहरूको शरीरमा प्रवेश गर्ने खनालले बताए। त्यसरी प्रवेश गरेको जीवाणुले फोक्सोलाई प्रभावित पार्ने र त्यहीमार्फत रोग विभिन्न अंगमा फैलने समेत उनले बताए।

‘घनाबस्ती वा बढी जनघनत्व भएको क्षेत्रमा कसैलाई संक्रमण भए धेरैमा चाँडो रूपले सर्ने जोखिम भएकाले यसपटक कारागारमा अनुशिक्षण गराएका हौं,’ खनालले भने।

चिकित्सकका अनुसार नियमित औषधि सेवनले क्षयरोग सजिलै निको हुन्छ। पाँच वर्षमुनिका बालबालिका, मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति, सोरायोसिसका बिरामी, प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्ति तथा एचआइभी पीडित व्यक्ति पनि क्षयरोगको उच्च जोखिममा रहने चिकित्सक बताउँछन्।

प्रकाशित: ११ चैत्र २०७९ ०३:५५ शनिबार

कैदीबन्दीलाई क्षयरोगविरुद्ध सचेतनामूलक अनुशिक्षण जनस्वास्थ्य अधिकृत पशुपति खनाल