समाज

प्रजनन दरमा ह्रास: फेरियो जनसंख्याको संरचना

१५ वर्षमुनिको जनसंख्या घट्यो, तराई र सहरमा बसोबास गर्ने बढे, ३४ जिल्लामा जनसंख्या ऋणात्मक

नेपालमा प्रजनन दरमा लगातार आएको ह्रासका कारण जनसंख्या वृद्धिदर प्रभावित हुँदा १४ वर्षसम्म उमेर समूहको जनसंख्या घटेको छ। यसैगरी ६० वर्षमाथिको जनसंख्याको वृद्धिदर भने तीव्र देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको जनगणना २०७८ को नतिजाअनुसार २०६८ को जनगणनाको तुलनामा १४ वर्षसम्मको उमेर समूहमा जनसंख्या ७ प्रतिशतले घटेको छ। २०६८ सालमा १४ वर्षसम्मको जनसंख्या कुल जनसंख्याको ३४.९१ प्रतिशत रहेकोमा २०७८ सालमा यो घटेर २७.८३ प्रतिशतमा झरेको छ।

यसरी २०६८ देखि २०७८ सालसम्मको अवधिमा प्रतिवर्ष १५ वर्षमुनिका बालबालिकाको संख्या १.३ प्रतिशतका दरले गिरावट आएको देखिएको छ। यसैगरी ६० वर्षमाथिको उमेर समूहमा प्रतिवर्ष ३.२ प्रतिशतले बढेको देखिएको छ। यसरी नेपालमा बालबालिका संख्या घट्दै र प्रौढहरूको संख्या बढ्दै गएको देखिएको छ। उपयुक्त जनसांख्यिक नीति अवलम्बन नगरिए यो क्रम आगामी वर्ष झन् तीव्र हुन सक्ने विज्ञ तथा सम्बद्ध अधिकारी बताउँछन्।

यसैगरी शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार नेपालका ७७ मध्ये ३४ जिल्लामा जनसंख्या वृद्धि ऋणात्मक देखिएको छ। आधारभूत सेवासुविधा तथा अवसरहरूको अभावमा बसाइँसराइको तीव्रतका कारण जनसंख्याको चाप तराई र सहरी क्षेत्रमा अत्यधिक रहेको जनगणनाको प्रतिवेदनले देखाएको हो। केन्द्रीय जनसंख्या विभागका प्राध्यापक डा. केशव अधिकारी जनसंख्याको पुनर्वितरणमा राज्यले ध्यान दिनुपर्ने बताउँछन्। उनले शिक्षा, स्वास्थ्य, रोजगारी तथा अन्य भौतिक पूर्वाधारका क्षेत्रमा सबै जिल्लामा ध्यान दिन सके जनसांख्यिक असन्तुलनलाई सम्बोधन गर्न सक्ने ठान्छन्।

१० वर्षमा थपिए २६ लाख ७० हजार व्यक्ति

२०७८ सालमा गरिएको जनगणनाले नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार पुगेको देखाएको छ। १० वर्षअघि अर्थात् २०६८ सालमा गरिएको जनगणनामा नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार थियो। यो अवधिमा २६ लाख ७० हजार जनसंख्या थपिएको छ। पहिलोपटक ११० वर्षअघि १९६८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या ५६ लाख ३८ हजार थियो।

प्रतिवेदनअनुसार २०७८ सालमा जनसंख्या वृद्विदर घटेर शून्य दशममलव ९२ प्रतिशतमा झरेको छ। यो २०६८ सालको जनगणनामा १.३५ प्रतिशत थियो भने त्यसअघि २०५८ सालको जनगणनामा २.२५ प्रतिशत थियो। पछिल्लो जनगणनाअनुसार जिल्लागत रूपमा भक्तपुरमा जनसंख्या वृद्धिदर सबैभन्दा बढी अर्थात् ३.३५ प्रतिशत र रामेछापको जनसंख्या वृद्धिदर सबैभन्दा कम अर्थात् माइनस १.६७ प्रतिशत छ। जनगणनाअनुसार कुल जनसंख्यामध्ये पुरुष ४८.९८ प्रतिशत र महिला ५१.०२ प्रतिशत छन्। लैंगिक अनुपातको हिसाबमा प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ रहेको देखिएको छ। २०६८ सालमा लैगिक अनुपात ९४.१६ थियो।

सानो परिवारप्रति बढ्दो रुझान

नेपालमा परिवारको औसत आकार लगातार घट्दो क्रममा रहेको पाइएको छ। २०७८ सालमा प्रतिपरिवारमा सालाखाला ४.३७ जना सदस्य रहेको देखिएको छ। जबकि २०६८ सालमा यो संख्या ४.८८ थियो। त्यसअघि २०५८ सालमा गरिएको जनगणनामा यो संख्या ५.४४ थियो। केही दशकअघिसम्म संयुक्त परिवारप्रति रुझान देखाउने नेपाली समाजको सानो परिवारमा बस्ने चाहनाका कारण परिवारको आकार घट्दो देखिएको हो। यही कारणले परिवार संख्या भने बढ्न गएको देखिएको छ।

एउटै आम्दानीले घरव्यवहार चलाई एकै भान्सामा खानपिन गरी बसेका आपसमा नाता पर्ने वा नपर्ने व्यक्ति तथा व्यक्तिहरूको समूहलाई परिवार मान्दा नेपालमा हाल कुल ६६ लाख ६६ हजार ९ सय ३७ परिवार बसोबास गरेको देखिएको छ। यीमध्ये ६६ लाख ६० हजार ८ सय ४१ परिवार व्यक्तिगत घरपरिवारको हिसाबमा बसोबास गरेको र बाँकी ६ हजार ९६ परिवार संस्थागत रूपमा बसोबास गरेको पाइएको छ।

१० वर्षअघि अर्थात् २०६८ सालको जनगणनामा नेपालमा परिवार संख्या ५४ लाख २७ हजार ३ सय २ मात्र थियो। यसरी गत १० वर्षभित्र कुल १२ लाख ३९ हजार ६ सय ३५ परिवार थपिएको देखिन्छ। परिवार संख्याको जिल्लागत हिसाबमा काठमाडौंमा सबैभन्दा धेरै (देशको कुल परिवारको ८.१७ प्रतिशत) परिवार छन् भने मनाङमा सबैभन्दा कम (१ हजार ५७२ अर्थात् ०.०२ प्रतिशत) परिवार बसोबास गर्छन्। यसैगरी नयाँ जनगणनाअनुसार नेपालमा ४ जना वा सोभन्दा कम सदस्य संख्या रहेका परिवारको हिस्सा ६० प्रतिशतमा उक्लेको छ। गणनाअनुसार परिवारको संख्याका आधारमा ४ मात्र सदस्य रहेका परिवार सर्वाधिक अर्थात् २२.८ प्रतिशत रहेको पाइएको छ भने परिवारमा ३ सदस्य रहेका परिवार संख्या १८.५४ प्रतिशत देखिएको छ। यसगैरी दुई सदस्य रहेका परिवार संख्या १३.२९ प्रतिशत छ भने १ जना मात्र सदस्य अक्सर बसोबास गर्ने परिवार संख्या ५.३६ प्रतिशत रहेको पाइएको छ। नेपालमा अझै ७ जना वा सोभन्दा बढी सदस्य संख्या रहेका परिवार १३ प्रतिशत छन्।

मातृ मृत्युदरमा सुधार, महिला मुली बढ्दै

नेपालमा प्रतिलाख जीवित जन्ममा मातृ मृत्यु संख्या १५१ रहेको देखिएको छ। यसअघिको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडिएचएस) का अनुसार नेपालमा प्रतिलाख जीवित जन्ममा मातृ मृत्यु संख्या २३९ थियो। पहिलोपटक यो जनगणनामा मातृ मृत्यु दरको तथ्यांक संकलन गरिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय तथ्यांक कार्यालयबीच भएको सम्झौताअनुसार जनगणना २०७८ का क्रममा गणकहरूले प्रत्येक घरमा गई विगत १२ महिनामा घरपरिवारमा भएका जीवित जन्म र प्रजनन उमेर समूहका महिलाको मृत्युको तथ्याक संकलन गरेका थिए।

प्रदेशगत हिसाबमा मातृ मृत्यु अनुपात लुम्बिनी र कर्णाली प्रदेशमा क्रमशः २०७ र १७२ रहेको छ भने सबैभन्दा कम वाग्मतीमा ९८ छ। मातृ मृत्युको प्रमुख कारणहरूमा गैरप्रसूतिजन्य जटिलता (अप्रत्यक्ष कारण) ३२ प्रतिशत, प्रसूतिका बेला हुने रक्तश्रावका कारण २६ प्रतिशत र उच्च रक्तचापजन्य समस्याका कारण १२ प्रतिशत रहेको पाइएको छ। नेपालमा अझै पनि धेरै मातृ मृत्यु गर्भावस्थाको समयमा रक्तश्राव र उच्च रक्तचापजस्ता समस्याको रोकथाम गर्न सकिने कारणले हुने भएकाले यसलाई समाधान गर्न नीतिगत तथा व्यवस्थापकीय प्रयास हुनु आवश्यक देखिएको छ।

जनगणना २०७८ ले घरजग्गामा महिलाहरूको स्वामित्व बढेको देखाएको छ। जनगणनाको नतिजाअनुसार कुल २३.८ प्रतिशत परिवारमा महिलाका नाममा घर वा जग्गा वा घरजग्गा दुवै रहेको छ।

यसैगरी परिवारमा ११.८ प्रतिशत महिलाको नाममा घर र जग्गा दुवै रहेको छ। यो २०६८ सालको तुलनामा १.१ प्रतिशत बिन्दुले बढी हो। यसैगरी परिवारमा महिला परिवार मुली हुने क्रममा निरन्तर वृद्धि भएको देखिएको छ। राष्ट्रिय जनगणना २०७८ मा गणना गरिएका कुल ६६ लाख ६६ हजार ९३७ परिवारमध्ये ३१.५५ प्रतिशत परिवारमा मुली महिला छन्। यो २०६८ सालको तुलनामा ५.८२ प्रतिशतले बढी हो।

जनसंख्याको असमान भौगोलिक वितरण  

पछिल्ला जनगणनाहरूले भौगोलिक हिसाबले जनसांख्यिक वितरण असमान बन्दै गएको देखाएका छन्। तराईको जनसंख्या लगातार बढ्दो र पहाडी तथा हिमाली क्षेत्रको जनसंख्या लगातार घट्दो देखिएको छ। २०७८ सालको जनगणनाअनुसार हाल तराईमा कुल जनसंख्याको ५३.६१, पहाडमा ४०.३१ र हिमाली क्षेत्रमा ६.०८ प्रतिशतले बसोबास गर्ने देखिएको छ। १० वर्षअघि अर्थात् २०६८ सालमा तराईमा ५०.२७, पहाडमा ४३.०१ र हिमाली क्षेत्रमा ६.७३ प्रतिशत जनसंख्याको बसोबास थियो। त्यसअघि अर्थात् २०५८ सालको जनगणनाअनुसार तराईमा ४८.४०, पहाडमा ४४.३० र हिमालमा ७.३० प्रतिशत जनसंख्याको बसोबास थियो।

बढ्दो जनघनत्व

जनगणनाअनुसार नेपालको प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा १९८ जना बसोबास गर्छन्। २०६८ सालमा यो संख्या १८० मात्र थियो। भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ। सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा (५ हजार १६९ जना प्रतिवर्ग किलोमिटर) र सबैभन्दा कम मनाङ जिल्लामा (३ जना प्रतिवर्ग किलोमिटर) रहेको छ।

जनगणनाअनुसार देशका ७७ जिल्लामध्ये सबैभन्दा बढी जनसंख्या काठमाडौं जिल्लामा रहेको छ। काठमाडौंमा २० लाख ४१ हजार ५८७ जना र सबैभन्दा कम जनसंख्या मनाङमा ५ हजार ६५८ जनाको बसोबास छ। मोरङ, रूपन्देही, झापा र सुनसरी क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसंख्या भएका जिल्ला हुन्। कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पर्छन्।

प्रदेशगत रूपमा सबैभन्दा धेरै जनसंख्या वाग्मतीमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णालीमा ५.७९ प्रतिशत छ। यसैगरी मधेसमा दोस्रो ठुलो जनसंख्या रहेको छ। २०७८ सालमा जनसंख्या आकारको हिसाबले तेस्रो, चौथो, पाँचौं र छैटौं प्रदेशमा क्रमशः कोसी, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी छन्।

नगरपालिकामा दुई तिहाइ जनसंख्या

जनगणनाअनुसार नगरपालिकाको जनसंख्या ६६.१७ प्रतिशत र गाउँपालिकाको जनसंख्या ३३.८३ प्रतिशत रहेको छ। संघीय संरचनापछि स्थानीय तहलाई नगरपालिका र गाउँपालिकामा गरिएको वर्गीकरणका आधारमा २०६८ सालको जनसंख्यालाई समायोजन गर्दा नगरपालिकाको जनसंख्या ६३.१९ प्रतिशत र गाउँपालिकाको जनसंख्या ३६.८१ प्रतिशत थियो।

बढ्दो साक्षरता

देशका ५ वर्षभन्दा बढी उमेरका कुल जनससंख्यामा साक्षरता दर ७६.३ प्रतिशत रहेको छ। पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ। अघिल्लो अर्थात् २०६८ को जनगणनामा कुल साक्षरता दर ६५.९ प्रतिशत र पुरुषको साक्षरता दर ७५.१ प्रतिशत तथा महिलाको साक्षरता दर ५७.४ प्रतिशत थियो।

 

 

भाैगाेलिक क्षेत्र अनुसारकाे लैंगिक अनुपात

३ हजारको हाराहारीमा लैंगिक तथा यौनिक अल्पसंख्यक 

जनगणनामा पहिलोपटक समावेश गरिएको अन्य लिंगी (लैंगिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या मात्र २ हजार ९२८ देखिएको छ। यो कुल जनसंख्याको ०.०१ प्रतिशत हो। यो जनसंख्या सबैभन्दा बढी वाग्मती प्रदेशमा ३२.७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा २.८ प्रतिशत रहेको छ। यो संख्या अति कम रहेको र अधिकांशले आफ्नो पहिचान खुलाउन नचाहेकाले यस्तो देखिएको उनीहरूको प्रतिनिधित्व गर्ने संस्थाले बताएका छन्।

विदेशमा बसोबास गर्ने जनसंख्या

जनगणनाको अन्तिम नतिजाअनुसार देशका १५ लाख ५५ हजार ९६१ (२३.४ प्रतिशत) परिवारका २१ लाख ९० हजार ५९२ जना विदेशमा अक्सर बसोबास गरेको देखिएको छ। यीमध्ये पुरुष ८२.२ प्रतिशत र महिला ७.८ प्रतिशत रहेका छन्। २०६८ सालको जनगणनामा देशका १३ लाख ७८ हजार ६७८ (२५.४ प्रतिशत) परिवारबाट १९ लाख २१ हजार ४९४ जना परिवारमा अनुपस्थित रही विदेश गएको देखिएको थियो।

८६ प्रतिशत परिवार आफ्नै घरमा

आवासीय एकाइको स्वामित्वको हिसाबले परिवार संख्यामध्ये ८६.० प्रतिशत परिवार आफ्नै स्वामित्वका आवासीय एकाइ (निजी घर) मा बसोबास गरिरहेको देखिएको छ। यसैगरी १२.८ प्रतिशत परिवार भाडामा लिइएको आवासीय एकाइ (डेरा) मा बसिरहेको देखिन्छ। गत २०६८ सालको जनगणनामा यो अनुपात क्रमशः ८५.२६ प्रतिशत (निजी घर) र १२.८१ प्रतिशत (डेरा) थियो।

बढ्दो बसाइँसराइ

नेपालमा पछिल्ला वर्षहरूमा बसाइँसराइको वृद्धिलाई जनगणनाले पनि पुष्टि गरेको छ। पछिल्लोपटक बसाइँ सरेको अवधिका आधारमा बसाइँ सरेका कुल ९३ लाख ४१ हजार ४ सय ८ जनामध्ये सबैभन्दा बढी ३१.८ प्रतिशत व्यक्तिको पछिल्लोपटक बसाइँ सरेको अवधि १० देखि २४ वर्ष रहेको छ भने सबैभन्दा कम ३.५ प्रतिशत व्यक्तिको पछिल्लोपटक बसाइँ सरेको अवधि १ वर्षभन्दा कम रहेको छ। यसैगरी लैंगिक हिसाबले सबैभन्दा बढी २९.१ प्रतिशत पुरुष र ३३.३ प्रतिशत महिलाको पछिल्लोपटक बसाइँ सरेको अवधि १० देखि २४ वर्ष रहेको छ। बसाइँ सर्नुका कारणमा विवाह, काम र रोजगारीको खोजी, व्यापार र व्यवसाय, अध्ययन र तालिम, प्राकृतिक प्रकोपलगायत छन्।

प्रकाशित: ११ चैत्र २०७९ ००:४० शनिबार

फेरियो जनसंख्याको संरचना सानो परिवारप्रति बढ्दो रुझान