समाज

गरिबीले ग्रामीण भेकमा दुःखको भारी

दुल्लु नगरपालिका –८ स्थित पौवामा खाना जोहो गर्न ढिक्की कुट्दै मानकुमारी सुनार। तस्बिरः गोविन्द केसी/नागरिक

दुल्लु नगर पालिका –८ पौवाकी ३५ बर्षया मानकुमारी सुनारको दुःख कहिल्यै घटेन्। गरिबिका कारण श्रीमान् लामो समयदेखि भारतको व्याग्लोरमा छन्। साना ४ वटा छोराछोरीसँग घर व्यवहार धान्दै आएकी मानकुमारीले सुखको दिन आउने आसमा बसी रहेकी छिन्।

 छोराछोरीलाई  लालनपालनदेखि पढाउँनसम्म उनलाई हम्मे हम्मे भएको छ। घरमा एकपछि अर्को समस्याले थिचिएकी मानकुमारी त्यही घर त्यही समाजसँग छोराछोरीको सुखीका लागि लडिरहेकी छिन्। तर, दुःखको दिनहरुले कहिल्यै छाडेन। श्रीमानले भारतमा दुःख, आफुले गाउँमै दुःख गर्दा पनि दुःखबाट कहिल्य छुट्करा पाउन नसकेको पिडा मानकुमारीले सुनाइन्।

 गाउँमा हुने विकासमा समेत उनलाई सामेल नगराईदिदाँ मानकुमारी झन आफूलाई दुःखित महशुस गर्छिन्। रोजगारका कार्यक्रमदेखि कृषि तथा पशुपालनसम्मका कार्यक्रममा उनलाई नै पाखा लगाउने गरेपनि स्थानीय सरकारसँग उनको मन कुँडिएको छ। मानकुमारी एउटा पात्र भएपनि हिजोआज हरेक गाउँमा सोझासाझा नागरिकहरु गरिबिका कारण यसरी नै हरेक अवसरबाट टाढा पारिएका छन्। गाउँमा हुनेखाने र जनप्रतिनिधिको आसेपासेहरुकै रजाइँले सोझा जनताहरु महशुस गर्नै पाउँदैनन्।  

भकारी परियोजनाको कार्यक्रमदेखि स्थानीय सरकारबाट परिचालन भएको रोजगारको कार्यक्रममा समेत आफू नपारिएपछि मानकुमारी दुःखीत छिन्। ‘श्रीमान् दुई पैसा कमाउन सकिन्छ कि भनेर भारतमा हुनुहुन्छ।’ मानकुमारीले भनिन् ‘गाउँमा कुनैपनि अवसर आउँदा हामीलाई छानिदैन्। गाउँमा साना केटाकेटी हुर्काउन देखी पढाउनसम्म गाह्रो छ।’ घरकै आँगनमा ढिक्कीसंगै पिठो कुट्दै गरेकी मानकुमारीलाई ओत लगाउने समेत ठुला मान्छे नहुँदा लठ्ठीको सहाराले आफै लगाईरहेकी थिइन्। खानेपानीको अभाव उस्तै। पानी अभावकै कारण आफुले खाने तरकारी लगाउन नसकेको उनले बताइन्। ‘मिठो खाने, राम्रो लगाउने इच्छा कसलाई पो हुँदैन र? मानकुमारीले भनिन् हरेक इच्छाहरू दबाएर बस्नुपर्ने बाध्यता छ।’ लाइगाउँमा प्रायः सबै पुरुषहरु कमाउन भारत गएकाले महिला र बालबालिकाहरु मात्रै छन्। 

खेतीबारी पनि वर्षमा मुस्किलले ३ महिना मात्र हुने भएकाले यहाँ रोजगारीका लागि भारतको विकल्प छैन। गाउँमा रोजगारीका कार्यक्रमहरु छैन। जसका कारण यहाँका पुरुषहरु वर्षमा ८ महिना भारतमा मजदुरी गर्न जान्छन्। खेतीबाली गर्ने समयमा घर फर्कने गर्दछन्। खेतीबारी र दसैँ सकेर फेरी गाउँभरिका पुरुषहरु भारत जान्छन्। यहाँका प्रायः गाउँहरुमा परिवार खर्च जोहो गर्न भारतमा ज्याला मजदुरीको विकल्प छैन। स्थानीय सरकारले रोजगारीका प्रभावकारी कार्यक्रम ल्याए गाउँमै परिवारसँग बसेर आनन्दको जिन्दगी बिताउने मन भएको आठविस नगरपालिकाबाट भारत गएका दिलबहादुर शाहीले बताए।

प्रकाशित: १० चैत्र २०७९ ११:५९ शुक्रबार

दुल्लु नगर पालिका