समाज

नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण

काठमाडौं- नेपालमा पहिलोपटक कलोजो प्रत्यारोपण गरिएको छ। भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा ८ घण्टा लामो शल्यक्रियापछि कलेजोको सफल प्रत्यारोपण गरिएको हो। कोरियाका डा. डेभिन कोनको नेतृत्वमा १४ जनाको टोलीले सफल शल्यक्रिया गरेको हो। बुधबार दिउँसो १२ बजेदेखि सुरु गरिएको शल्यक्रिया राति ८ बजे सकिएको संलग्न एक डाक्टरले जानकारी दिए।

स्वास्थ्य मन्त्री गगन थापाले नेपाली स्वास्थ्य क्षेत्रमा यो अर्को ठूलो उपलब्धि भएको बताएका छन्। उनले नेपालमै पनि यस्ता प्रत्यारोपणहरु गर्न सकिने प्रमाणित गरेको उल्लेख गरे।

बिरामीलाई बलराम नागालाई उनकी ४२ वर्षीया दिदीले कलेजो दिएकी थिइन्। अस्पतालले आज पत्रकार सम्मेलन गरेर सोबारे जानकारी दिने जनाएको छ। अस्पतालले नागाको निशुल्क उपचार गरेको हो। कलेजो प्रत्यारोपण गर्न विदेशमा कम्तीमा ६० लाख रुपैयाँ लाग्छ। एक साताअघिमात्र सरकारले कलेजो प्रत्यारोपणसम्बन्धी कानुन ल्याएकव थियो। तर यसको शुल्क निर्धारण भने गरेको छैन।

यसअघि नेपालमा मिर्गौला प्रत्यारोपण हुँदै आएको छ। 

शिक्षण अस्पतालमा पनि तयारी

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि कलेजो प्रत्यारोपणको तयारी भएको छ। अस्पतालमा कार्यरत डा रमेश भण्डारीले कलेजो प्रत्यारोपणका लागि अष्ट्रेलियाबाट एक वर्षे तालिम समेत लिएर आइसकेका छन्। उनीसँगै अन्य डाक्टर तथा स्वास्थ्यकर्मी पनि आवश्यक तयारीमा रहेका छन्।

डा. भण्डारीका अनुसार कलेजो प्रत्यारोपण निकै जटिल शल्यक्रिया मानिन्छ। भारतमा पनि करिब १० वटा अस्पतालले मात्र यस्तो सेवा दिन सकेको जानकारहरु बताउँछन्। कलेजोले काम गर्न छाडेमा प्रत्यारोपण गर्नुपर्ने हुन्छ। सामान्यतय अधिक रक्सी सेवन गर्ने र हेपाटाइटिसका भएका बिरामीको कलेजोले काम गर्न छाड्ने अवस्था आउन सक्छ। नेपालमा वर्षेनि करिब १ हजार मानिसको कलेजो फेल हुने गरेको अनुमान छ। तर, कलेजो फेल भएका सबै बिरामीको प्रत्यारोपण भने गर्नु नपर्ने डा. भण्डारीको भनाई छ। भारतमा कलेजो प्रत्यारोपणका लागि करिब ६० देखि ७० लाखसम्म खर्च लाग्ने बताइन्छ।

कलेजो प्रत्यारोपणमा बिरामीको सबै कलेजो निकालेर दाताको आधा कलेजो प्रत्यारोपण गरिन्छ। दाताको आधा कलेजो करिब ४६ हप्ताभित्र ९० प्रतिशतसम्म पहिलेको आकारमा वृद्धि हुने डा. भण्डारीले बताए। स्वास्थ्य मन्त्रालयले ल्याएको मानव अंग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यरोपणको बाटो खुल्ला गरेको हो। नियमावलीले कलेजो प्रत्यारोपणसँग ब्रेन डेथबाट मृत्यू भएकाहरुको आठ वटा अंग लिने र प्रत्यारोपण गर्नेबाटो समेत खुल्ला गरेको छ।

घोषणा गरेको तीन महिनामै पूरा

स्वास्थ्यमन्त्री गगन कुमार थापाले मन्त्रालयको पदभार सम्हालेसँगै ६ महिनाभित्र नेपालमा कलेजो प्रत्यारोपण सुरु गर्ने घोषणा गरेकोमा तीन महिनामै घोषणा पूरा भएको हो। नेपालका कलेजो रोगीहरुले कलेजो प्रत्यारोपण गर्न चाहेपनि नियमको अभावमा विदेशमा गएर ठूलो रकम खर्च गरेर प्रत्यारोपण गर्दै आएका थिए।

कलेजो प्रत्यारोपणमा विदेशमा एक करोड रुपैयाँसम्म खर्च हुने गरेकोमा नेपालमा १५ देखि २० लाख रुपैयाँमा प्रत्यारोपण गर्ने तयारी गरिरहेको छ।

प्रकाशित: २३ मंसिर २०७३ ०४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App