समाज

पानी सुक्यो, छटपटिए माछा

काठमाडौं- पुनर्निर्माण गर्न पानी सुकाएपछि राजधानीको ऐतिहासिक रानीपोखरीका माछाको बेहाल भएको छ। रानीपोखरीको सबै पानी सुकेको छ। पीँधमा धाँजा फाटेको छ। रानीपोखरीकै एक छेउ रत्नपार्कतिर करिब एक रोपनीमा हिलो छ। त्यही हिलोमा माछा छटपटिइरहेका छन्। दैनिक रत्नपार्क हुँदै हिँड्ने बटुवा पानी सुकेका चार दिनजति भइसकेको बताउँछन्। ‘दुई चार दिनयता पोखरीमा पानी नै छैन,’ रानीपोखरीछेउ पैदल हिँड्दा देखेको दृश्य बताउँदै लक्ष्मी शर्माले भनिन्, ‘पानी सुकेपछि हिलोमा माछाको छट्पटिइरहेका छन्।’ पानी सुकेर हिलोमात्र भएपछि केही माछा मरेको बटुवा बताउँछन्।

रानीपोखरीको हेरचाह गर्ने निकाय काठमाडौं महानगरपालिका हो। पोखरीको मध्यमा रहेको बालगोपालेश्वर मन्दिर भूकम्पमा क्षतिग्रस्त भएपछि महानगरपालिका मन्दिरसहित रानीपोखरी पुनर्निर्माण गरि नयाँ स्वरुप दिन लागिपरेको  छ । रानीपोखरीलाई पर्यटकीय केन्द्र बनाउन महानगरपालिकाले यसअघि जेठमै पोखरीको पानी निकालेको थियो। पोखरीका माछा समेत महानगरपालिकाको बालाजुस्थित बाइसधारा पार्कमा सारेको थियो। ‘बालाजु पार्कमा सार्‍यौं पहिले। बाँकी माछा बढेर  धेरै भए,’ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘रानीपोखरी पुनर्निर्माण ठेक्का लगाइसकेकाले माछा अन्यत्र सार्ने जिम्मा पनि ठेकेदारकै हो।’ उनले पानी सुकेर माछा मर्न थालेको सुनेपछि सार्न ठेकेदार कम्पनीलाई भनिसकेको बताए। पोखरीको हिलो समेत सफा गर्न पानी नहालेकाले पहिलो पटक रानीपोखरी पानीरहीत भएको कार्कीले बताए।

रानीपोखरी पुनर्निर्माणको जिम्मा पाएको वर्ल्ड वाइड/कँडेल/केएनकेबी जेभीले रानीपोखरीका माछा सार्ने काम भइरहेकेा जनाएको छ। ‘मंगलबारदेखि रानीपोखरीका माछा कमलपोखरी सार्न थालेको छौं,’ ठेकेदार कम्पनीका अर्जुन कँडेलले भने, ‘धेरै पानी हाल्दा माछा निकाल्न गाह्रो हुने भएकाले थोरैथोरै पानी हाल्दै माछा बचाएर सारिरहेका छौं।’ उनका अनुसार मंगलबार करिब ५ सय र बुधबार करिब हजार वटा माछा रानीपोखरीबाट कमलपोखरी सारिएको छ। अझै रानीपोखरीमा हजारौं माछा हुनसक्ने उनको अनुमान छ। ‘खप्टिएर बस्ने हुँदा कति छन् भनेर एकीन गर्न गाह्रो छ,’ कँडेलले भने, ‘हजारौं माछा रहेको अनुमान लगाउन सकिन्छ।’ उनले केही माछा भने मृत पाइएको बताए।

बालाजु पार्कमा सारिएका माछाहरु पनि मरेको कडेँलले बताए। बालाजु पार्कमा सारिएका माछा मरेकाले रानीपोखरीमा बाँकी रहेका माछा भने कमलपोखरी लैजान महानगरपालिकाले बताएको कडेँलले भने।

प्रकाशित: २३ मंसिर २०७३ ०३:१० बिहीबार

पानी सुक्यो छटपटिए