समाज

नेपालीहरुको श्रम गन्तव्य बन्दै भारतको ‘कालिम्पोङ’

स्वर्गीय गायक खेमराज गुरुङको चर्चित गीत 'वारी जमुना पारी जमुना' को एउटा पङ्तिमा भनिएको छ 'कालेबुङको मैना चरी, ए टिष्टा खोला झर्‍यो है ए कालेबुङको मैना'.. 

कालिम्पोङ पुरानो पुस्तामाझ परिचित नाम नै हो। भारत उत्तर बङ्गाल राज्यमा पर्ने कालिङ्पोङ (कालेबुङ) मा 'एङ्लो नेपाल युद्ध' पूर्व नै ठुलो संख्यामा नेपाली भाषी बस्दै आएका भेटिन्छन्। लेप्चा, तामाङ, राई, भोटे, र बाहुन/क्षेत्री समुदाय नै सो क्षेत्रका रैथाने बासीको रुपमा परिचित छन्।

ओखलढुंगाका दिपप्रसाद घिमिरे विगत १७ वर्षदेखि कालिङ्पोङमा भारी बोक्ने काम गरिरहेका छन्। घरमा एक छाेरा, दुई छोरी र श्रीमतीलाई छाडेर रोजगारीका निम्ति भारत पसेका उनी आफ्नो कामदेखि सन्तुष्ट छन्।

उनले तुलनात्मक रूपमा नेपालमा भन्दा भारतमा काम गर्न सहज हुने भएकाले भारी बोक्न कालेबुङ आउने गरेको बताए। 'काठमाडौंमा पनि भारी बोक्ने काम त सहजै भेटिन्छ तर साह्रै महँगो, त्यहाँ आफन्त र चिनजानका मान्छे पनि भेटिन्छ यहाँ आए कसैको चिन्ता हुँदैन।' उनी भन्छन्।

नेपालमा भन्दा भारतमा काम गर्दा कमाई पनि एकैनासको हुने उनी सुनाउँछन् 'भारी बोक्ने पेसामा कहिले पचास रुपैयाँ त कहिले तिन हजारसम्म कमाई हुन्छ।'

उनले कोरोना महामारीको अघिको एक याममा उनले भारु तीन लाख लिएर घर गएको बताए। 

आफ्नै घर-गाउँमै केही गर्न सकिँदैन र? भन्ने हाम्रो प्रश्नमा घिमिरे भन्छन्, 'हिउँदे बाली जंगली जनावरलाई ठिक्क हुन्छ, हातमा सिप छैन, निर्माणका काममा ठेकेदारले ठगेर हैरान लाउछ्न बरु यताका नेपालीले हाम्रो इज्जत नै गर्छन्।' उनले छ महिने अवधिमा कहिलेकाहीँ तीन लाख सम्म कमाई हुने बताए।

नेपालका नेपाली भन्दा कालिम्पोङका नेपाली मृदुभाषी र मिजासिला रहेको पनि घिमिरेको अनुभव छ। सत्र वर्ष भारी बोक्दा कसैको हेपाई खान नपरेको र ठुलो बोली सुन्न नपरेको अनुभव घिमिरेले सुनाए। '१७ वर्ष भयो न कसैले एक पैसा ठगेको छ, न कसैले गाली गरेको छ काम त हाम्रो भारी बोक्ने नै हो नि आफ्नै देशमा (नेपालमा) भए कति थोक सहनपर्थ्यो' घिमिरेले आफ्ना भोगाई सुनाए।

उनीसँगै उनकै गाउँका १४ जना साथीहरू पनि भारी बोक्न कालिम्पोङ पुगेका छन्। दैनिक २ देखी ३ हजारसम्म कमाई हुने भएपछि उनीहरु बर्सेनि त्यहाँ जाने गरेका हुन्।

नेपालीहरु कालिम्पोङका सडकमा पसलका सामान, ग्यासका सिलिन्डर, निर्माण सामाग्री जस्ता भारी ओसारपसार गर्छन्। साँघुरा र व्यस्त सडकमा रिक्सा, अटो वा ढुवानीका अन्य साधन गुड्दैनन्। भारी बोक्न नेपाली मान्छे नै सबैभन्दा सहज साधन बनेका छन् कालिम्पोङ्मा।

दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, ओखलढुंगा, नुवाकोट लगायतका जिल्लाका नेपालीहरुको श्रम गन्तव्य बनेको छ कालिम्पोङ। २३ वर्षदेखि आफ्ना हजुरबाले सुरु गरेको कपडा पसल सम्हाल्दै आएका बस अड्डा नजिकैका व्यवसायी उज्ज्वल प्रधान नेपाली भरियाको इमानले गर्दा सबैले विश्वास गरेको बताउँछन्।

'यहाँ आफ्नो भरिया भन्ने हुँदैन, जो भेटिन्छ उसैलाई काम दिने हो सबै भरिया नेपाली नै छन् अहिलेसम्म कसैले बेइमान गरेको सुनेको छैन। सामान दियो उनीहरुले पुर्‍याउने ठाउँमा पुर्‍याएकै छन्' , प्रधान भन्छन्।

२००७ सालमा प्रजातन्त्र प्राप्तिपछिका केही समय बाहेक नेपाली साहित्यको अधिकांश आकाश भारतको पश्चिम बङ्गालमै उघ्रिएको पाइन्छ। तर समयसँगै दार्जिलिङ सिक्किम र कालिम्पोङले नेपालका नेपालीलाई फरक दृष्टिकोणबाट हेर्न थालेको छ। कालिम्पोङ बजारमा मात्रै झन्डै पाँच हजारको संख्यामा नेपाली युवाहरु यति बेला भारी बोकीरहेका छन्। साहित्यिक सम्मेलन र गोष्ठी गर्दै हिँड्ने नेपाली समुदाय यति बेला आफ्नो परिचय बदल्दै छ।

झन्डै ७/८ महिना चिसो हुने कालिम्पोङका बजारमा नेपालीहरुले आफ्ना परिश्रम बेचिरहेका छन्। अल्पकालीन रोजगारीमा जाने यस्ता जनशक्तिलाई देशकै उद्योग कल-कारखानामा प्रयोग गर्न सके देशलाई केही राहत मिल्ने थियो।

प्रकाशित: ९ चैत्र २०७९ १४:५० बिहीबार