समाज

२०५ राउन्ड गोलीसहित ८ पक्राउ

जाजरकोट– प्रहरीले २०५ राउन्ड गोलीसहित ८ जनालार्इ पक्राउ गरेकाे छ। जाजरकाेट आउँदै गरेको गाडीमा सवार खगेनकोट–३ का मिलन शाहीको झोलाबाट २०५ राउन्ड गोली बुधबार छेडाबाट प्रहरीले बरामद गरेको हो।

प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले गाेली भेटिएकाे घटनापछि गाडीमा सवार दुई महिलासहित आठ जनालाई जिल्ला सदरमुकाम ल्याएको छ। छेडा सदरमुकामबाट ४० किलोमिटर पश्चिममा पर्दछ ।

मिलनसहित उक्त गाडीमा चढेका आठ जनालाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले बताए।

झाप्रास्थित एक विद्यालयको कामको सिलसिलामा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक धनञ्जय आचार्य तथा स्रोत व्यक्ति टेकबहादुर थापा र भक्तबहादुर मल्ललाई दशेराको थलह बजारबाट गाडीमा चढेर सदरमुकामतर्फ आउँदै गर्दा मिलन पनि सोही गाडीमा लिफ्ट मागेर चढेको प्रहरीले बताएको छ ।

मिलनको साथमा रहेको एम १६ अथवा इन्सास राइफलको गोली हुनसक्ने प्रहरीले जनाएको छ । मिलन नेत्रविक्रम चन्द निकट माओवादी कार्यकर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएकाे छ। रासस

प्रकाशित: २२ मंसिर २०७३ ०९:१६ बुधबार

२०५ राउन्ड गोलीसहित पक्राउ