समाज

कर्मचारी फिर्ता पठाउन वा दरबन्दी खाली गर्न आठराई त्रिबेणीद्वारा सरकारलाई ध्यानाकर्षण

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले काजमा अन्यत्र खटिएका कर्मचारी पालिकामा फिर्ता पठाउने वा दरबन्दी खाली गरी पठाउने दुईमध्ये एक विकल्प रोज्न नेपाल सरकारको ध्यानाकर्षण गरेको छ।

पालिका अध्यक्ष दीपेन्द्र(दीपेन)पोमूले ६ महिना अघि नेपाल सरकारलाई गरिएको यो अनुरोधको कुनै सुनुवाई नभएको भन्दै नेपाल सरकारको आलोचना गरेका छन्।  ‘आठराई त्रिबेणीमा दरबन्दी देखाएर अन्य पालिकामा काम गर्न लगाउने नेपाल सरकारको यो कस्तो चरित्र हा?’नेपाल सरकार समक्ष उनको प्रश्न छ। पोमूले जनशक्ति अन्यत्र पठाएर स्थानीय सरकारलाई अपमान गर्न खाजेको हो? नेपाल सरकारलाई प्रश्न पनि गरेका छन्।  ‘गाउँगाउँमा सिंहदरवारको नारा ल्याएर काम गर्ने जनशक्ति अन्यत्रै पठाउने कार्यले अब पालिका खाली दरबार मात्र हुने? उनको थप प्रश्न छ। 

उनले आफ्नो पालिकामा दरबन्दी कायम रहेर अन्यत्र खटिएका कर्मचारी पालिकामा फिर्ता पठाउने वा अन्यत्र खटिएका कर्मचारीको दरबन्दी खाली गरेर थप जनशक्ति व्यवस्थापनका लागि मार्ग प्रसस्त गर्ने दुईमध्ये एक बिकल्प मात्र नेपाल सरकारसंग बाँकी रहेको बताएका छन्।

कर्मचारी नहुँदा पालिकाका ५ वटा वडामध्ये २ वटामा शिक्षक,एउटामा स्वाथ्यकर्मी र अर्को कृषि क्षेत्रका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिएको स्मरण गर्दै पालिका अध्यक्ष पोमूले उल्लेखित दुईमध्ये एक बिकल्पको मार्ग प्रसस्त गर्न नेपाल सरकार सामान्य प्रशासन मन्त्रालयमा पुनःदोस्रो पत्र लेखेका छन्।

पालिकाका अनुसार पालिकाका ९ जना कर्मचारी दरबन्दी यहिँ रहेर अन्य कार्यरत छन्। पालिका अध्यक्ष पोमूका अनुसार छैटौं तहका शिक्षा अधिकृत सीता लावती इलामको माई नगरपालिकाका कार्यरत छन्। उनको स्थानमा पालिकाले प्राथमिक शिक्षकलाई शिक्षा शाखाको प्रमुख बनाएको छ।

यस्तै पाँचौं तहका प्रशासन शाखाका कर्मचारी सागर आचार्य झापास्थित अर्जुनधारा नगरपालिका,सोहि तहका बिनिषा बाँस्कोटा झापास्थित शिवसताक्षी नगरपालिका,प्रभा राई सोलुदुधकुण्ड नगरपालिका,पाँचौं तहका सिभिल ईञ्जिनियर दिनेश भट्टराई काठमाण्डौ महानगरपालिका,पाँचौं तहकै शिक्षा शाखामा कार्यरत गीतादेवी घिमिरे झापास्थित हल्दिवारी गाउँपालिकामा कार्यरत रहेका छन्।

प्रशासन शाखाको चौथो तहका इन्द्र बजगाँई झापास्थित कन्काई नगरपालिका र सोहि तहको प्राविधिक शाखामा कार्यरत क्रमशःरत्नराज बुमी सोरु गाउँपालिका र रमेशबहादुर बोहोरा छबिसपाथेभरा गाउँपालिकामा काजमा खटिएका छन्। एक पालिकामा दरबन्दी कायम राखेर पालिकाको सहमति बेगर अन्यत्र पालिकामा खटाउँदा नतिजामा प्रभाव पर्नेतर्फ सचेत बन्नुपर्नेमा नेपाल सरकार वास्ताबिहिन भएको पालिका अध्यक्ष पोमूको आरोप रहेको छ।  

प्रकाशित: ९ चैत्र २०७९ ०६:२० बिहीबार