समाज

तिलौराकोटमा फेला पर्‍यो गजुर सहितका पुरातात्त्विक बस्तुहरु

विश्व सम्पदामा सुचीकृत गर्न प्रस्तावित तिलौराकोट दरबारको पूर्वीद्धारको बाहिर गजुर सहितका महत्त्वपूर्ण सामाग्री फेला परेका छन्। यस वर्ष दोस्रो पटक विज्ञ टोलीले तिलौराकोट क्षेत्रमा गरिएको उत्खननका क्रममा समेत पुरातात्त्विक बस्तु फेला परेका हुन।

केही महिना पहिले तिलौराकोट दरबार क्षेत्र भित्र उत्खनन गर्दा समेत चाँदीका मुद्रा, लगायतका विभिन्न सामाग्रीहरु फेला परेको थियो शाक्यमुनि बुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदरबार क्षेत्र तिलौराकोटसँगको कन्थक स्तूपको दक्षिणतर्फको उत्खननका क्रममा माटोका गजुर फेला परेको हो। कन्थक स्तूपनजिकै रहेको विहार र पोखरीको उत्खननमा उक्त गजुर भेटिएको हो। माटोबाट निर्मित उक्त गजुर ४२ सेन्टिमिटरको छ। उत्खननकाक्रमा गजुर पहिलो पटक भेटिएको उत्खननमा संलग्न पुरातत्त्वविद्हरूले दाबी गरे।  उनीहरू अनुसार भेटिएको गजुर कुन समयमा बनेको भन्ने परीक्षणपछि मात्र थाहा हुने  छ। साथै माटोबाट बनेको गजलक्ष्मीको मूर्ति, माटाका भाँडाका टुक्रा र शिला पनि फेला परेका छन्।

 पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत राम बहादुर कुवरले पुराना संरक्षक सहित विभिन्न सामाग्रहिरु धमाधम भेटिनुले समेत अब तिलौराकोट दरबार क्षेत्र विश्व सम्पदा सुचीमा सुचीकृत हुन मद्दत मिल्ने बताए। ‘ ऐतिहासिक संरचना र बस्तुहरू फेला परे पछि हामी उत्साही बनेका  छौ ’ उनले भने।  तिलौराकोट दरबार क्षेत्रको पूर्वी द्वार नजिक कन्थक स्तूप छ। कन्थक स्तूपको दक्षिणतर्फ सन् २०१४ मा भूभौतिक सर्वेक्षण गरिएको थियो। त्यसै बेला सो ठाउँमा विहारको र पोखरीको संरचना देखिएको थियो  सन् २०१५ मा त्यस क्षेत्रमा उत्खनन गर्दा विहार र पोखरीको सानो भागको उत्खनन गरिएको थियो। पोखरी र विहारका पर्खाल उत्खननमा मौर्या कालका इँटाबाट बनेको पाइएको हो।

विहार उत्खननका क्रममा सन् २०१५ मा तेस्रो शताब्दीका ४९७ वटा मौर्याकालीन चाँदीका पञ्चमार्क सिक्का भेटिएको थियो। त्यसपछि लामो समयसम्म सो क्षेत्रमा कुनै पनि उत्खननका कार्य भएका थिएनन्। पछि आएर सन् २०१७ मा विहार र पोखरीको क्षेत्रमा भूभौतिक सर्वेक्षण गर्दा थप संरचना भेटिएका थिए। शाक्यमुनि बुद्धले २९ वर्षको उमेरमा राजदरबार त्याग गर्दा कन्थक नामक घोडाको सवार गरी अनोमा नदीसम्म पुगेका थिए। अनोमा नदी हाल भारत उत्तर प्रदेशको बस्ती जिल्लामा पर्छ। सो नदीलाई अहिले भारतमा अमी नदीको नामले चिनिन्छ। कन्थक घोडामा सवार भई अनोमा नदीसम्म पुगेका राजकुमार सिद्धार्थ नदी किनारमा सबै आभूषण तथा पोसाक त्यागी संन्यास जीवन सुरु गरी ज्ञानको खोजीमा गएका थिए। 

अनोमा नदीबाट फर्केको कन्थक घोडा तिलौराकोट दरबार क्षेत्रको पूर्वी गेटनजिक आइपुगेपछि स्वेच्छाले देह त्याग गरेको बुद्ध धर्मगुरुहरु बताउँछन्। कन्थक घोडाले देह त्याग गरेको स्थानमा कन्थक स्तूप निर्माण गरिएको थियो। गजुर मन्दिरको माथिल्लो भागमा राखिने गरिन्छ। गजुरको स्वरूप मन्दिरका देवीदेवता अनुरूपको फरक हुने गर्छ। जस्तै हिन्दु मन्दिरको माथिल्लो भागमा कलश र त्यसमाथि दण्डी स्वरूपको गजुर राख्ने चलन छ भने बौद्ध स्तूप एवं विहारको माथिल्लो भागमा प्रयोग हुने गजुरमा चाहिँ स्तूपको स्वरूप हुने गर्छ। उत्खनन बेलायत स्थित दुर्हम विश्व विद्यालयका प्रमुख रबिन कनिङघमको अगुवामाईमा जारी छ। 

उत्खनन कार्यमा पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष, बेलायतको दुर्हम विश्वविद्यालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको टोलीलगायतको सहभागिता छ। यस्तै नवलपरासी स्थित रामग्राममा उत्खननका क्रममा मान्छेको मुखौटा, शिवलिङ लागयतका सामाग्री फेला परेको थियो। कपिलवस्तु सहित नवलपरासीमा भेटिएका सामाग्रीहरु प्रर्दशनीकालागि कपिलवस्तु सङ्ग्रहालयमा राखिएका छन्। सामाग्रीहरुको चैत १३ गते हुने कार्यक्रममा उद्घाटन गरी सार्वजनिक गरिने संग्रहालयका प्रमुख शान्ति शेर्मा लिम्बुले बताईन।  

प्रकाशित: ७ चैत्र २०७९ १२:३१ मंगलबार

विश्व सम्पदा