समाज

रत्नपार्कमा प्रदूषण मापन केन्द्र

काठमाडौं- वातावरण विभागले प्रदूषण नाप्न बागमती अञ्चलका तीन ठाउँमा वायु प्रदूषण मापन केन्द्र स्थापना गरेको छ। राजधानीको रत्नपार्क, ललितपुरको पुल्चोक र काभ्रेपलाञ्चोकको धुलिखेलमा धुलोले हुने वायु प्रदूषण मापन केन्द्र स्थापना गरिएको हो।

रत्नपार्क र धुलिखेलमा तिहारलगत्तै तथा पुल्चोकमा यसै साता वायु प्रदूषण मापन केन्द्र सञ्चालन गरिएको विभागले जनायो। विभागका अनुसार रत्नपार्क र धुलिखेलस्थित केन्द्रले प्रदूषणको तथ्यांक उपलब्ध गराउन थालिसकेको छ। केन्द्रका उपकरणले १० किलोमिटर परिधिमा हुने धुलोको प्रदूषण मापन गर्छ। प्रदूषण बढी भए न्यूनीकरण गर्न आवश्यक उपाय कार्यान्वयन गरिने विभागको भनाइ छ।

विभागले यस्तै प्रदूषण मापन केन्द्र छिटै अन्य केही स्थानमा समेत स्थापना गर्ने तयारी गरेको छ। 'यसै आर्थिक वर्षभित्र यस्ता केन्द्र थप्ने योजनामा छौं,' विभागको प्रदूषण शाखाका शंखरप्रसाद पौडेलले भने, 'वायुमा धुलोको मात्रा मापनसँगै ग्यास प्रदूषण मापन गर्ने ग्यास एनालाइजर पनि जडान गर्ने तयारीमा छौं।'

विभागले यसअघि पनि यस्ता केन्द्र सञ्चालन गरेको थियो। सन् २००३–२००७ मा यस्ता केन्द्र सञ्चालन गरिए पनि उपकरण बिग्रेपछि मर्मतसम्भार नगर्दा बन्द भएका थिए। अहिले स्थापना गरिएका केन्द्र भने नयाँ प्रविधिमा आधारित रहेको विभागले जनायो।

प्रकाशित: १९ मंसिर २०७३ ०२:४१ आइतबार

रत्नपार्कमा प्रदूषण मापन केन्द्र