समाज

गाविस सचिवहरुलाई दिइएको मोटरसाइकल र ल्यापटप दुरुपयोग

रौतहट– रौतहटका गाविस सचिवहरु सुविधाको दुरुपयोग गरेर पनि कार्यालयमा नजाँदा सेवाग्राही मर्कामा परेका छन्। गाविस सचिवहरुले मोटरसाइल र ल्यापटप सुविधा गाविसबाट लिएको भए पनि दुवैको दुरुपयोग भएको पाइएको छ।

अधिकांश गाविस सचिवको जिम्मामा एकभन्दा बढी गाविस हेर्नुपर्ने जिम्मेवारी रहेकोले गाविस सचिवहरु कार्यालयमा नगएर सदरमुकाममा बसेर तथा आफ्नो घरबाट नै कार्यालय संचालन गरिरहेको पाइएको छ ।

गाविस सचिव अब्दुल रब तथा सतेन्द्र झाले पाँच पाँचवटा गाविस सम्हालेका छन् । दुवै गाविस सचिवले सुविधाको मोटरसाइकल लिएका छन् तर कार्यालय भने जाँदैनन् । गाविस सचिवले चढ्नुपर्ने मोटरसाइकल प्राविधिक सहायक चढ्छन् । जबकि प्राविधिक सहायकहरु सम्बन्धित गाविसकै रहेकाले मोटरसाइकल आवश्यक देखिएको छैन ।

मोटरसाइकलको सुविधा लिएर पनि सचिवहरु गाविस नजाँदा नजाँदा सेवाग्रहीहरु मर्कामा परिरहेको गुनासो स्थानीय बासिन्दाहरुले गरेका छन् । जिल्लामा ८४ वटा गाविस मध्ये ७५ गाविसको विकासे बजेटबाट करिव दुई लाख पचास हजार पर्ने मोटरसाइकल खरिद गरेर सचिवहरुलाई समयमै गाविसमा आउन सुविधा राज्यबाट प्रदान गरिने निती अनुसार मोटरसाइकलहरु खरिद गरिएता पनि अधिकांश सचिवहरु गाविसको कार्यालयमा नगई सदरमुकाम गौरमै कोठा भाडा लिएर कार्यालय संचालन गर्दा सेवाग्रही मर्कामा परिरहेको गुनासो गरेका हुन्।

नेपाल सरकारबाट गाउँ विकास समितिका सचिवहरुलाई अनिवार्य रुपमा गाविस कार्यालयमा उपस्थित भएर जनताहरुको कामकाज गर्ने निर्देशन दिए पनि सोही अनुसारको सचिवहरुलाई जिम्मेवारी दिएको तर अधिकाँश यहाँका सचिवहरु सदरमुकाम गौरमै बसेर कामकाज गर्दा प्रत्यक्ष रुपमा सेवा पाउने सेवाग्रहीहरु मर्कामा परेको आरोप नागरिक समाज रौतहटका सचिव विजय किशोर झाले बताएका छन् ।

गाविस अध्यक्षको हैसियतमा कामकाज गर्दा महिनाको १५ सय भत्ता वापतको रकम लिए पनि गाविस कार्यालयमा सचिवहरु नजाने अवस्थाका कारण सेवाग्रहीहरु अनाहकमा दुख झेल्नु परेको बाध्यता रहेपनि सम्बन्धित निकायले सचिवलाई गाउँ पठाउने कुनै व्यवस्था नगरिएको आरोप सचिव झाले लगाए ।

गत बर्ष नै जिल्लाको सवै गाविसहरुले कागजी अभिलेखहरु अपडेट राख्न ल्यापटक खरिद गरेका छन् । जिल्लाका सबै गाविस सचिवले ल्यापटप किनेको भए पनि गाविसको तथ्यांक भने ल्यापटमा राखिएको छैन । कुनै पनि गाविसले अहिलेसम्म गाविसको अभिलेख अपडेट नगर्दा कुनै पनि तथ्यांक माग्दा सचिवहरुले दिन नसकेको देखिन्छ ।

गाविसको रकमबाट खरिद गरिएका ल्यापटपहरु सचिव तथा प्राविधिक सहायकले दुरुपयोग गरेको पाइएको छ । गाविसको काममा उपयोग हुनुपर्ने ल्यापटप गाविस सचिव तथा प्राविधिक सहयाकको घरमा छोराछोरीले चलाइरहेको देखिएको छ । ल्यापटप किनेको वर्ष नाघिसकेको भए पनि र ल्यापटपको दुरुपयोग गरिएको भए पनि सम्बन्धित निकायले ध्यान नदिँदा अप्रत्यक्ष रुपमा गाविस सचिवहरु हौस्सिएको संग्रामपुरका राम एकबाल प्रसाद चौधरीको भनाइ छ ।

जिल्ला विकास समिति  रौतहटका सूचना अधिकृत सुबास ठाकुरले गाविस सचिवहरुमा केही कमी रहेको स्वीकार गर्दै केही सचिवलाई दुई वा दुईभन्दा बढी गाविसको जिम्मेवारी दिएर अनिवार्य रुपमा गाविसमा गएर काम काज गर्ने पटक पटक निर्देशन दिदा समेत उनीहरु अटेरी गरिरहेको गुनासो गरे ।

जिम्मेवारी दिएका सचिवहरु गाविसमा नगइरहेको गुनासो आएको तथा सोही गुनासोलाई मध्यनजर राख्दै चाँडै अनुगमन गरी गाविस नजाने सचिवलाई कारवाही गर्ने ठाकुरले बताए ।

प्रकाशित: १८ मंसिर २०७३ १२:२४ शनिबार

गाविस सचिवहरुलाई दिइएको मोटरसाइकल ल्यापटप दुरुपयोग