समाज

अयोध्याबाट आएका जन्ती जनकपुरका लागि प्रस्थान

बर्दिवास- विवाहपञ्चमी महोत्सवका लागि भारतको अयोध्यासहितका ठाउँबाट आएका साधुसन्तसहित जन्ती आज महोत्तरी जिल्लाको मटिहानीबाट जनकपुरका लागि प्रस्थान गरेका छन्।

त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीराम र जनकनन्दिनी सीताको विवाह भएको सम्झनामा मार्ग शुक्लपञ्चमीका दिन जनकपुरमा आयोजना हुने विवाह महोत्सवमा सरिक हुन अयोध्याबाट लावालस्करसहित जन्ती आएका हुन् ।

मिथिलामा सात दिनसम्म मनाइने विवाह पञ्चमीको सांस्कृतिक महोत्सवमा भाग लिन हिजो साँझ नेपाल प्रवेश गरेका जन्ती मटिहानीस्थित श्री लक्ष्मीनारायण मठमा बास बसेका थिए।

जन्तीमा सरिक भएका भारतीय साधुसन्त आज जलेश्वरनाथ महादेवको दर्शन गरेर जिल्लाकै सहोड्वामा रात्रि विश्राम गर्ने छन्। यसअघि हिजो नेपाल प्रवेश गरेका भारतीय साधुसन्तलाई मटिहानीवासीले हार्दिक स्वागत गरेका थिए।

जन्तीमा आएका भारतीय साधुसन्त विवाहपञ्चमीका दिन सहोड्वाबाट आठ किलोमिटर दूरीमा रहेको जनकपुरमा पुग्ने परम्परा छ । महोत्सवमा मिथिला संस्कृतिअनुसार विवाह मण्डपको वेदी ९यज्ञकुण्ड० बनाउने मटकोर विधि आज सम्पन्न गरिँदै छ । मटकोरका लागि मटिहानीस्थित धार्मिक महत्वको लक्ष्मीसागर तलाउबाट राम–सीताको विवाहमा माटो खनेर लगिएको विश्वासमा प्रत्येक वर्ष यो विधि सम्पन्न गर्ने गरिएको छ ।

सात दिनसम्म मनाइने विवाहपञ्चमी महोत्सवको पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौं दिन मटकोर, छैठौँ दिन शुभविवाह र सातौँ दिन राम कलेवा कार्यक्रम सम्पन्न गरिने परम्परा छ । भोलि मार्ग शुक्ल पञ्चमीका दिन आयोजन हुने विवाह महोत्सवका लागि हजारौँको सङ्ख्यामा श्रद्धालु जनकपुर गइरहेका छन्।रासस

 

प्रकाशित: १८ मंसिर २०७३ ०९:४० शनिबार

अयोध्याबाट आएका जन्ती जनकपुरका लागि प्रस्थान