समाज

ब्रम्हा, विष्णुको सयौं वर्ष पुरानो मूर्ति चोरी

जुम्ला–कर्णालीको धार्मिक पहिचान बोकेको चन्दननाथ मन्दिरबाट २८ वटा वहुमूल्य मूर्ति चोरी भएको घटना सेलाउन नपाउँदै चन्दननाथ नगरपालिका भित्रैको एक मन्दिरबाट सयौं वर्ष पुरानो मूर्ति चोरी भएको छ।

जुम्लाको चन्दननाथ नगरपालिका– ३ भण्डारीवाडास्थित गुरा देवताको मन्दिरबाट सयौं वर्ष पुरानो ब्रम्हा विष्णुको मूर्ति चोरी भएको हो। गएराति गाउँ भित्रैको मन्दिर तोडफोड गरेर मूर्तिसहित पूजाका सबै सामान नष्ट गरिएको फेला परेको हो। पुजारी हरिबहादुर भण्डारीका अनुसार मूर्ति चोरेर मन्दिरमा निकै क्षति पुर्याइएको छ।

विहान उज्यालो भइसकेपछि स्थानीयले थाहा पाएपछि अहिले निकै आक्रोशित बनेका छन्। उनीहरुले तत्काल मूर्ति चोर पक्राउ गर्न प्रहरीलाई अनुरोध गरेका छन्। मन्दिरबाट रुद्ररासीमाला, धुप,३ वडा थडी चोरेर लगेको स्थानीयले बताएका छन्। पुजारी भण्डारीले मन्दिर भित्रका सवै सामान बाहिर छरपष्ट फ्याँकिएको अवस्थामाा फेला परेको बताए । मन्दिरमा लगाइएको ताला फोडेर मूर्ति चोरी भएको स्थानीयले बताए।

घटना स्थलमा प्रहरी नायव उपरीक्षक विष्णुहरि काफ्लेको टोली पुगेको छ । प्रहरी नायव उपरीक्षक काफ्लेले एक मूर्ति चोरी भएको बताए। उनले भने, ‘एक मूर्ति चोरीएको छ, चाँदीको बाला मन्दिर बाहिर फयाकिएको अवस्थामा भेटियो ।’ मन्दिरमा मूर्ति चोरीको घटनाबारे अनुसन्धान भइरहेको उनको भनाइ छ।

 

प्रकाशित: १८ मंसिर २०७३ ०५:११ शनिबार

ब्रम्हा विष्णुको सयौं पुरानो मूर्ति चोरी