ग्लोबल ओरियन्स नेपाल प्रा लिका ८ जना कर्मचारी पक्राउ परेका छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय टीकापुरले ठगी गरेको आरोपमा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दैलेखका ७ र कैलालीका एक जना रहेका छन्। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ तिलुखानाका २० वर्षका डेकेन्द्रबहादुर विक, सोही ठाउँका १८ वर्षका भरेश शाही र वडा नं. ८ का रवीन्द्र बोहरा रहेका छन्।
त्यस्तै दैलेखकै दुल्लु नगरपालिका–९ का १९ वर्षका खगेन्द्र जैसी, आठबिस नगरपालिका–१ का २५ वर्षका जितेन्द्र विक, सोही ठाउँकी २३ वर्षकी दुर्गा विक, वडा नं. ३ की २० वर्षकी वर्षा बडुवाल र कैलालीको टीकापुर नगरपालिका–५ का ३३ वर्षका लालवीर चौधरी समेत पक्राउ परेका छन्।
प्रहरीले सुरुमा डेकेन्द्रबहादुर विकलाई चैत ३ गते साढे ३ बजेतिर पक्राउ गरेको थियो। उनलाई पाँच दिनको म्याद सहित कैलाली जिल्ला अदालतले थप सात जनालाई पक्राउ अनुमति दिएको थियो। अदालतको पक्राउ अनुमति पछि प्रहरीले उनीहरु सबैलाई चैत ५ गते ४ बजेतिर टीकापुर नगरपालिका–१ बाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए।
उनीहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत चिनजान गरी ग्लोबल ओरियन्स नेपाल प्रालि शाखा कार्यालय टीकापुरको कर्मचारी भन्दै नोकरी लगाई दिने र आकर्षक लाभांश दिने भन्दै टीकापुर बोलाएर ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको बताइएको छ।
उनीहरु विरुद्ध स्थानीय चिरञ्जीवी बुढाले इलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी दिएका छन्। प्रहरीका अनुसार उजुरीमा २०७९ पुस १५ गते देखी विभिन्न मितिमा ४० हजार देखी १ लाख २० हजारसम्म नगद संकलन गरेर ठगी गरेको उल्लेख छ।
यो संस्थाले फागुन १३ गते टीकापुरमा अवार्ड वितरण, उत्प्रेरणा तथा सम्मान कार्यक्रम गरेको थियो। संस्थाले नेपालमा उत्पादित कच्चा पदार्थको प्रयोग गरी स्वास्थ्य र सौन्दर्यका सामान उत्पादन गरेर बिक्री गर्दै आएको दाबी गरेको छ।
काठमाण्डौंको बालाजुमा केन्द्रीय कार्यालय रहेको संस्थाको नेपालभर ३२ बढी बिक्री कक्ष स्थापना गरेको छ। जुन बिक्री कक्ष मार्फत स्वदेशी आहारपुरक खाद्यवस्तु ५, स्वदेशी सौन्दर्य प्रशोधन तथा खाद्य सामाग्री ३६ र भारतबाट आयातित आहारपुरक खाद्यवस्तु १२ गरी ५३ वटा सामानहरु बिक्री हुँदै आएको बताइएको छ।
प्रकाशित: ६ चैत्र २०७९ ०८:३९ सोमबार