समाज

शिक्षा अधिकारीको कार्यकक्षमा माओवादीको ताला

उदयपुर- जिल्ला शिक्षा अधिकारी दिलिप ठाकुरको कार्यकक्षमा नेकपा माओवादी केन्द्रले शुक्रबार विहान ताला लगाएका छन्। पार्टी जिल्ला इन्चार्ज मोहन खत्री (दिपक) र जिल्ला संयोजक भिम अधिकारी (अनिल) सहित लगभग १ सय हाराहारी कार्यकर्ता र शिक्षक सहितको टोलीले शिक्षा कार्यालय पुगेर जिशिअ ठाकुरको कार्यकक्षमा ताला लगाएको हो।

लगभग १ महिनादेखि शिक्षा अधिकारी हटाऊ अभियानमा आन्दोलनरत नेपाल शिक्षक महासंघ र बिभिन्न दल निकट शिक्षक संघसंगठनको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माओवादी केन्द्रले शिक्षा अधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको हो। असोज ९ गतेको मन्त्रिपरिषद् निर्णय अनुसार बारास्थित शिक्षक तालिम केन्द्र सरुवा गरिएका ठाकुर अदालतको अन्तरिम आदेश लिएर पुनः उदयपुर फर्किएपछि शिक्षक महासंघ र शिक्षक संघसंगठनहरु उनीविरुद्ध आन्दोलित भएका हुन्। शिक्षक महासंघको अगुवाईमा कांग्रेस निकट नेपाल शिक्षक संघ, एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन, माओबादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र क्रान्तिकारी माओबादी निकट अखिल नेपाल शिक्षक संगठनले ठाकुरलाई बस्न नदिने भन्दै बिभिन्न चरणको आन्दोलन चलाईरहेका छन्।

सरकारले अन्यत्र सरुवा गरिसकेका जिशिअ पुनः यहीँ आउनुमा पक्कै केही गम्भीर स्वार्थ हुनुपर्ने भन्दै दिपकले उनीविरुद्ध चलेको आन्दोलनमा समर्थन जनाउन तालाबन्दी गरिएको बताए।

 

प्रकाशित: १७ मंसिर २०७३ ११:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App