समाज

थर ढाँटेर विवाह गरेको आरोपमा दलित युवा पक्राउ

कोहलपुर–दुई बर्षको प्रेमपछि भागेर अन्तरजातीय विवाह गरेका सुर्खेत साल्कोट–९ का टिकाराम (थापा) विक जिल्ला प्रहरी कार्यालय बाँकेको थुनामा परेका छन् । बाबियाचौर–८ की अनु कठायतसँग मंसिर १० गते भागी विवाह गरेका केटाको थर विक थाहा पाएपछि केटी पक्षले टिकारामलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा सार्वजनिक मुद्धा दर्ता गराएका हुन् ।

मंसिर १० गते गाउँबाट विवाह गरि भागेका केटाकेटीलाई नेपालगन्जबाट नियन्त्रणमा लिई केटी पक्षका आफन्तले विक थरको केटा थाहा पाएलगत्तै जिल्ला प्रहरीमा बुझाएका थिए । मंसिर १३ गते बाँके प्रहरीमा अन्तरजातीय विवाह गर्ने  टिकारामलाई सार्वजनिक मुद्धा दर्ता गरिएको छ ।

प्रहरीले बालविवाह गरेको, थर थापा भनेर झुक्याएको आरोपमा सार्वजनिक मुद्धा चलाएको छ । केटाको विक थर थाहा पायलगत्तै केटीलाई  आफन्तले घर लिएर गएपनि केटालाई प्रहरीको जिम्मा लगाएका थिए ।

टिकाराम र अनुबीच दुई बर्षदेखि प्रेम सम्बन्ध रहेको उनीहरुले बताएका छन् । केटाकेटी भागेपछि केटीका माईती पक्षले नेपालगन्जमा पक्राउ गरि थापा कुन जात हो भन्दै टेलिफोनबाट थाहापाएपछि प्रहरीको जिम्मा लगाएको टिकारामकी दिदि सुशीला विकले बताइन् ।

‘मंसिर १३ गते नेपालगन्जबाट केटीका दाईले फोन गर्दै चिन्ता नलिनुहोस् हामी दुबैलाई घर ल्याउँछौ भनेका थिए,’ उनले भनिन्, ‘केटाको थर के हो सोधेपछि मैले विक भनेलगत्तै उनीहरुले प्रहरीमा पठाएछन् ।’

परिवारका अनुसार टिकारामले विद्यालय पढ्दादेखि नै थर थापा लेख्दै आएका थिए ।
केटाले थापा थर बताएर केटीलाई झुक्याएर विवाह गरेको भन्दै माईती पक्षबाट आएको उजूरीका आधारमा टिकारामलाई सार्वजनिक मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी टेकप्रसाद राईले बताए ।

प्रकाशित: १७ मंसिर २०७३ ०९:०१ शुक्रबार

थर ढाँटेर विवाह गरेको आरोपमा दलित युवा पक्राउ