समाज

मदिरा तस्करीमा वारिपारि संगठित सञ्जाल

फागुन २२ गते महोत्तरी प्रहरीले तस्करसहित पक्राउ गरेको भारततर्फ तस्करी गर्न लागेको मदिरा। तस्बिर सौजन्य: महोत्तरी प्रहरी

फागुनको दोस्रो साता जयनगर प्रहरीले मदिरा लोड गरिएको मोटरसाइकलसहित चार जनालाई पक्राउ गर्‍यो। पक्राउ परेका चारैजनाले आफूहरू नेपालबाट मदिरा भारत तस्करी गर्ने (भरिया) भएको स्विकारेका छन्। उनीहरूको साथबाट जयनगर प्रहरीले विदेशी ब्रान्डसहित नेपालमै उत्पादित मदिरा बरामद गरेका हुन्।

जयनगर थाना अध्यक्ष अमित कुमारका अनुसार मदिरा तस्करीमा शून्य सहनशीलता अनुरूप निरन्तर कारबाही भइरहेको बताए। बोरामा प्याक गरिएको विदेशी तथा नेपालमा उत्पादित मदिराका कार्टुन चारवटा मोटरसाइकलमा राखेर ल्याउँदै गर्दा पक्राउ गरिएको उनले भने। मदिरासहित पक्राउ परेकाहरू न्यायिक हिरासतमा राखिएको उनले बताए। बरामद मदिरामा ३ सय एमएलका १ हजार ५ सय बोतल, नेपालमा उत्पादित मदिरा ४ सय ५० लिटर र विदेशी मदिरा ३७५ एमएलका ११ बोतल छन्।

मदिरासहित पक्राउ पर्नेमा भारतका कुआढ बागेवा टोलका राजाकुमार पासवान, महेशकुमार मण्डल, रहिका थाना क्षेत्र धाकरौलका मोहम्मद वसिम र अजितकुमार ठाकुर छन्। जयनगर थाना प्रहरीका अनुसार फरार रहेका सिरहाको मार्डर (इनर्वा)का निरु गिरी, राजेश राय र सुरेन्द्र यादवको तलास भइरहेको छ।

भारतको बिहारमा मदिरा बन्देजपछि सीमावर्ती नेपाली जिल्लाबाट तस्करी बढेको छक। साइकल, मोटरसाइकल, जिप र विभिन्न साधन प्रयोग गरी सीमाबाट मदिरा ओसारपसार भइरहेको छ। सुरक्षा अधिकारीले भने मदिरा नियन्त्रणको प्रयास जारी रहेको दाबी गरे पनि तस्करी रोकिएको छैनक। फागुन ८ गते स्कार्पियो जिपसहित तीन जना भारतीयलाई रौतहट प्रहरीले नियन्त्रणमा लियो। गौरबाट डिएल ४ सिएनबी ०६१६ नम्बरको स्कार्पियो गाडी नियन्त्रणमा लिएर तलास गर्दा भारत तस्करी गर्न लैजाँदै गरेको ५ सय ७० बोतल सौंफी मदिरा बरामद भयो।

मदिरा बरामद भएपछि प्रहरीले जिपमा सवार भारत बिहार मोतिहारी जिल्ला ग्राम पचपकडी–१३ का नरेश महतो, ओमप्रकाश कुमार र कसवाकपुर पकरी–१६ का महमद सलमानलाई पक्राउ गर्‍यो। जिल्लास्थित सुरक्षाअधिकारी मदिरालगायत कुनै पनि अवैध सामान ओसारपसार पूर्ण रूपले बन्द भएको दाबी गर्छन्।

फागुन २२ गते महोत्तरी प्रहरीले सीमावर्ती मनरासिसवा नगरपालिका–४ भेडाटारबाट पाँच वटा मोटरसाइकलमा लोड गरी भारत तस्करी गर्न लागेको मदिरासहित चार जनालाई पक्राउ गर्‍यो। पक्राउ पर्नेमा मनरासिसवा नगरपालिका–१० का १८ वर्षीय धर्मेन्द्रकुमार मण्डल, एकडारा नगरपालिका–४ का २० वर्षीय कृष्णकुमार यादव, भारत बिहार सीतामढी जिल्ला बन्तरा ग्राम पञ्चायतका १८ वर्षीय मनीषकुमार पटेल र सोही ठाउँका १८ वर्षीय नवीन कुमारलाई पक्राउ गरिएको महोत्तरी प्रहरी प्रवक्ता (डिएसपी) सन्तोषकुमार पोखरेलले बताए।

नेपालबाट मदिराले भरिएको बोरा मोटरसाइकलमा लोड गरी पारी पुर्‍याउने घटना यस भेगका जनताका लागि सामान्य भइसकेको छ। सीमा जोडिएका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका विभिन्न नाकाबाट भारततर्फ मदिरा तस्करी गर्नेको जालो संगठित छ।

कमला नदी धनुषा र सिरहाको सीमानदी हो। कमला नदीको पूर्वी र पश्चिमी तटबन्धको बाटो मदिरा तस्करका लागि सुरक्षित मानिन्छ। यस नदीको पूर्वी तटबन्ध सिराहातर्फ छ भने पश्चिमी तटबन्ध धनुषामा पर्छ। जयनगर पुलिस अधिकारीका अनुसार नेपालबाट भारततर्फ मदिरा तस्करी गर्ने थुप्रै मानिस र सवारीसाधन नियन्त्रणमा छन्। धेरै जना अझै थुनामै छन्। तर नेपालबाट भारततर्फ मदिरा तस्करी रोकिनु त परको कुरा झन्झन् बढ्दो छ। भारतको बिहार सरकारले त्यहाँ मदिरा निषेध गरेको छ। जसकारण नेपालबाट सीमावर्ती भारतीय गाउँसहरमा मदिरा तस्करी हुँदै आएको छ।

मदिरा तस्करलाई नेपाली सुरक्षाकर्मीभन्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय पुलिससँग त्रास हुन्छ। मदिरा तस्कर वारि बसेर पारिका एसएसबी र पुलिस नियाल्छन्। मौका मिल्नासाथ मदिरा सीमा कटाउँछन्। कतिपय नाका क्षेत्रमा मदिरा तस्करले एसएसबीसँग मिलेमतो गरेको सीमाक्षेत्रका बासिन्दा बताउँछन्। सीमानाका क्षेत्रका बालकदेखि युवकसम्मले भरिया बनेर मदिरा सीमापारि पुर्‍याउँदै आएको स्थानीय बताउँछन्।

सिरहाको ठाँढी, अभयनगर, माडर क्षेत्रको बुधौरा, लगडिगोढ, सप्तरीको गोबरगाढा, कोसीपलार, धनुषाको जटही, महोत्तरीको सम्सी, मनरासिसवा लगायत सीमावर्ती क्षेत्रका दर्जनौं चोर बाटो हुँदै मदिरा, तस्करीमा वृद्धि भएको छ। रौतहटको बैरगनिया, बलुवा, बाराको मोतिपुर, घोडासाहनसम्म नेपाली मदिरा पुग्छ। नेपालबाट भारत तस्करी हुने मदिरामा कर कार्यालयको कुनै पनि स्टिकर टासिएको हुँदैन। यसले सरकारको राजस्वसमेत मरेको छ। रौतहटको ब्रम्हपुरीदेखि बन्जाराहा क्षेत्रसम्म झन्डै ३७ किलोमिटर खुला सीमा पर्छक। यस क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सीमा सुरक्षाका लागि सुरक्षाकर्मी खटेका छन्। मदिरा तस्करी भने रोकिएको छैन।

सीमा क्षेत्रमा मदिराको ओसारपसार निरन्तर चले पनि सुरक्षाकर्मीले संलग्नलाई पक्राउ गरी कारबाहीको नाममा भन्सार र राजस्व कार्यालयमा बुझाएर छाड्दै आएको छ। सुरक्षा अधिकारी पनि पक्राउ परेकाले मुख्य मानिसको नामै भन्न नचाहने हुँदा समस्या भएको बताउँछन्। सुरक्षाकर्मीले सीमाक्षेत्रमा मदिरा ओसारपसारमा संलग्नलाई पक्राउ गरेको यो पहिलो घटना भने होइन। पटक/पटक प्रहरीले भारत मदिरा लैजान लागेको अवस्थामा सवारीसहित मानिस पक्राउ पर्दै आएका छन्।

सीमाक्षेत्रका बासिन्दा तस्कर र तस्करी हुने सामानबारे खुलेर बोल्न चाहँदैनन्। कारण मुख खोल्नेलाई ज्यानकै जोखिम छ। कसैले मुख खोल्न खोजे पहिला पैसाले चुप लगाउन खोजिन्छ, नमाने धम्क्याएर चुप लगाइन्छ। मधेसमा वारि र पारिका मदिरा तस्करहरूको बलियो र खतरनाक सञ्जाल छ। वारि र पारिका तस्करले सेटिङमा मदिरा तस्करी गरिरहेको सीमावर्ती क्षेत्रका स्थानीय बताउँछन् । 

प्रकाशित: ६ चैत्र २०७९ ०१:२७ सोमबार

मदिरा तस्करी वारिपारि संगठित सञ्जाल