समाज

पाल्पा बन्दले जनजीवन प्रभावित

पाल्पा- संविधान संशोधनको प्रस्तावमा प्रदेशको सीमाङ्कन हेरफेर भएको भन्दै संयुक्त विद्यार्थी आन्दोलन समितिले आह्वान गरेको बन्दका कारण पाल्पाको जनजीवन प्रभावित भएको छ। जिल्लाबाट छ्ट्ने कुनै पनि लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। कार्यालय, शैक्षिक संस्थाहरु तथा उद्योगधन्दासमेत बन्द भएका छन्।

संसद सचिवालयमा दर्ता भएको संशोधनको प्रस्तावमा प्रदेश नं. ५ का जिल्लाहरु प्रदेश नं. ४ मा राखेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन्। उनीहरुले आफूहरुलाई तराईबाट अलग गर्न सुनियोजित योजना बनाइएको बताएका छन्।

संयुक्त युवा, तरुण तथा विद्यार्थी आन्दोलन समितिले जिल्लामा सरकारी नम्बर प्लेटका सवारीसाधन अनिश्चितकालका लागि बन्द गरिएको जनाएका छन्। यता जिल्लाका सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाजलेसमेत दबाबमूलक आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।

संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुले सीमाङ्कनको नयाँ प्रस्ताव हिमाल, पहाड र तराईलाई विखण्डन गर्नेगरी आएको जनाएका छन्। सर्वदलीय सर्वपक्षीय बैठकले आज बृहत भेला गर्ने निर्णय गर्ने गरेको नेपाली कांग्रेस पाल्पाका सभापति वीरबहादुर रानाले बताए।

उनी भन्छन्, 'पहिलेको प्रदेश स्तरीय भेला बुटवलमा शुक्रबार आयोजना गर्ने निर्णय भएको र शनिबार पाल्पा बन्दको आयोजना गरिएको छ।'

बुधबार पाल्पा उद्योग वाणिज्य संघको अगुवाईमा दिउँसो १ बजेदेखि ५ बजेसम्म बजार तथा यातायात बन्द गरी तानसेनमा विरोधर्‍याली समेत निकालिएको थियो। जिल्लाका नागरिक समाजका अगुवाहरुले पुरानै सीमाङ्कनमा सरकार पछाडी नफर्कीए चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिने बताएका छन्।

प्रकाशित: १६ मंसिर २०७३ ०६:१० बिहीबार

पाल्पा बन्दले जनजीवन प्रभावित