समाज

तीन करोडको कोकिनसहित दुई मलेसियाली पक्राउ

काठमाडौं—मलेसियन नागरिक एलिस जोसेफ र माजेन्ट हिरन राजनलाई अवैध लागूऔषध डेढ किलो कोकिनसहित प्रहरीले पक्राउ गरेको छ। 

लागू औषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले उनीलाई मङ्गलबार चाक्सीबारीस्थित एक होटलबाट पक्राउ गरी पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा ब्युरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले सो कोकिन ब्राजिलबाट युएई हुँदै काठमाडौँ ल्याइएको जानकारी दिए। 

काठमाडौँबाट सो कोकिन हङकङ पठाउने र त्यहाँ ‘म्याक्स’ नामका व्यक्तिले सो कोकिन लिने तयारी रहेको प्रहरीले जनाएको छ। जोसेफले सो कोकिन ल्याएर काठमाडौँमा राजनलाई दिन लागेको अवस्थामा ब्युरोले पक्राउ गरेको हो। भारतीय मुलकी जोसेफले कोकिन नेपाल ल्याएबापत खर्चबाहेकको पाँच सय डलर पाउने प्रलोभनमा सो कार्य गरेको प्रहरीलाई बयान दिएकी छन्। 

त्यस्तै राजनले सो कोकिन हङकङ पुर्‍याएबापत दुई हजार मलेसियन रिङ्गेट अर्थात रु ५६ हजार पाउने प्रहरीलाई बयान दिएका छन्। पक्राउ परेकालाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम म्यादथप गरी अनुसन्धान भइरहेको छ। बरामद कोकिनको अनुमानित बजार मूल्य रु तीन करोड रहेको छ।

प्रकाशित: १५ मंसिर २०७३ १४:४५ बुधबार

करोडको कोकिनसहित दुई मलेसियाली पक्राउ