समाज

गोविन्द केसीको पक्षमा दोलखाका चिकित्सक सडकमा

डा. केसीकाे जीवन रक्षाकाे माग गर्दै दाेलखामा निकालिएकाे जुलुस।

दोलखा–स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १८ दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा दोलखाका चिकित्सक र स्वास्थ्यकर्मी सडकमा उत्रिएका छन्।
अनशनको १८ औँ दिन बितिसक्दा पनि सरकारले माग पूरा गर्न वेवास्ता गरेको भन्दै उनको जीवन रक्षाकालागि बुधबार जिल्लाभरका सरकारी र निजी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी सडकमा उत्रिएका हुन्।

बुधबार बिहान चिकित्सकले सदरमुकाम चरिकोटमा केसीको समर्थनमा र्याली निकाले। प्रस्तावित चरिकोट अस्पतालबाट सुरु भएको र्यालीले सदरमुकाम चरिकोटका पशुपतिडाँडा, बिचबजार, सातदोबाटो क्षेत्रसम्मको परिक्रमा गरेको थियो।

सातदोबाटो चोकमा आयोजित कोण सभामा चिकित्सकले केसीको स्वास्थ्य जटिल बन्दै गएपनि सरकार र नेताहरुले बेवास्ता गरेकोप्रति आक्रोश पोखे। जिरी अस्पतालका चिकित्सक निशान्त ढकालले स्वास्थ्य क्षेत्रमा परिवर्तनकालागि भोकभोकै लडिरहेका केसीको माग बारे बेवास्ता गरेर सरकारले खेलाँची गरेको भन्दै रोष प्रकट गरे।

चरिकोट अस्पतालकी डाक्टर मिना महर्जनले स्वास्थ्य क्षेत्रको सुधारकालागि १८ दिनदेखि अनशसनरत केसीको जीवन रक्षाकालागि लड्न अपिल गरिन्। ‘यो देशमा नेताको उपचार गर्न ५० लाखको चेक बन्छ तर गरिब नेपालीले उपचार नपाएर मर्नुपर्छ’, उनले भनिन्,  ‘हो ती नै गरिब नेपालीले उपचार नपाएर मर्नु नपरोस भनेर हाम्रा गुरु गोविन्द केसी अनशन बस्नु भएको हो।’ महर्जनले चरिकोटबासीलाई केसीको जीवन रक्षा र उनको माग पूरा गराउन सरकारी निकाय र नीति निर्माताहरुलाई दबाब दिनकालागि  सडकमा उत्रिन आह्वान गरिन्।

चरिकोट अस्पतालका चिकित्सक विनोद दंगालले केसीको माग पूरा नभए थप संघर्षका कार्यक्रम सउञ्चालन गरिने जानकारी दिए। र्यालीमा जिरी अस्पताल, प्रस्तावित चरिकोट, अस्पताल र जिल्लाका निजी च्छोरोल्पा, दोलखा सामुदायिक, गौरीशंकर लगायतका अस्पतालका चिकित्सकहरुको सहभागिता  थियो।

प्रकाशित: १५ मंसिर २०७३ १०:३५ बुधबार

गोविन्द केसीको पक्षमा दोलखाका चिकित्सक सडकमा