समाज

बैंकको ‘तिजोरी’बाट ७२ तोला सुनका गहाना चोरी

 वीरगन्ज- वीरगन्जको भानुमार्गस्थित कृषि विकास बैंकबाट करिब ४० लाख रुपैयाँ मुल्य बराबरको सुन र चाँदीका गहना गएराती चोरी भएको छ। आइतबार साँझ ताला बन्द गरिएको बैंक सोमबार बिहान खोलिँदा गहना राखिएको ‘तिजोरी’ (सेफ) खोलेर त्यसभित्रको ७२ तोला सुनका र २७ तोला चाँदीका गहना गायब पारिएको देखिएको थियो।

                पर्साका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीका अनुसार बैंकको भवनमा दोस्रो तल्लामा रहेको कोठाको दक्षिणतिरको झ्यालको ग्रील झिकेर चोरहरु पसेको बुझिएको छ । सेवाग्राहीले धितोस्वरुप राखेका सुन र चाँदीका विभिन्न गहना बैंकको सेफबाटै चोरी भएको उनले बताए । सेफको चावी चोरले सोही ठाउँमा छोडेका थिए । ‘प्रबन्धकको कोठामा रहेको एउटा समान्य किसिमको स्टील दराजभित्र सेफको चावी राखिएको रहेछ, चोरले पहिले त्यो दराज खोलेर चाबी झिकी सेफ खोल्न सफल भएका छन्, गहना मात्र लिएका गएको बैंकले बताएको छ, त्यही तल्लामा अरु ठाउँमा राखिएका पैसाहरु यथावत छन्,’ प्रही नायब निरीक्षक जोसीले भने, ‘चाबी राख्नु नहुने ठाउँमा रहेछ, हामीले अनुसन्धान सुरु गरेका छौं, अनुसन्धानकै क्रममा २ जना सूरक्षा गार्डलाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौं।’

                बैंकका सुरक्षा गार्डहरु बृजकिशोर चौहान र उमेश यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सोमबार बिहान करिब साढे सात बजे काम गर्न आएकी ‘स्वीपर’ (सफाइकर्मी) मैयाँ देउलाले सेफ खोलिएको देखेपछि चोरीको बैंकका शाखा प्रबन्धक नारायणप्रसाद शर्मालाई जानकारी गराएकी थिइन्। सोही भवनमा माथिल्लो ततल्लामा शर्मा बस्ने गरेका छन्। बैंकमा आइतवारराति प्रबन्धक शर्मा र सुरक्षा गार्ड यादव मात्र सुतेका थिए। बैंकका प्रबन्धक शर्माले चोरीको घटनाबारे थाहा पाएपछि तुरुन्त प्रहरीलाई खबर गरेको बताए।

प्रकाशित: १३ मंसिर २०७३ १२:३४ सोमबार

बैंकको तिजोरीबाट ७२ तोला सुनका गहाना चोरी