समाज

स्मार्ट ल्याबमै विद्यालयको कक्षा

ललितपुर—चिटिक्क परेको प्रयोगशाला कोठामा विद्यार्थी हातमा ट्याब बोकेर पढ्न बस्छन्। शिक्षकले डिस्प्लेबाटै पढाउन थाल्छन्।

विद्यार्थी धमाधम ट्याब हातमा लिएर टाइप गर्न थाल्छन्। नमिलेका कुरा हातले नै मेटाउँछन्। शिक्षक नभएका समयमा समेत विद्यार्थी गुगलमार्फत नजानेका कुरा सिक्छन्। 

कम्पनीले ४० वटा ट्याब उपलब्ध गराएकाले एक पटकमा ४० जना विद्यार्थीले ल्याबमा पढ्न सक्छन्। पूर्व–प्राथमिक कक्षाबाट १२ कक्षासम्मका विद्यार्थी पालैपालो ल्याबमा गएर पढ्न सक्छन्।

मङ्गलबजारस्थित आदर्श कन्या उच्च माध्यमिक विद्यालयमा आगामी चार महिना पछि देखिने दृश्य हो यो। स्यामसुङ कम्पनीले उपत्यकामा चार विद्यालयमा ‘स्मार्ट ल्याब’ बनाइरहेको छ। ललितपुरको एक मात्रै छात्रा विद्यालयका रुपमा रहेको आदर्श कन्या उमावि त्यसमध्ये एक हो। डिजिटल प्रणालीबाट कक्षा सञ्चालन हुने भएपछि शिक्षक, अभिभावक र विद्यार्थी सबै उत्साहित भएका छन्। 

कम्पनीले तीन महिना पहिलेदेखि ल्याब बनाउन सुरु गरेको थियो। यही शैक्षिकसत्रको अन्त्यसम्ममा जडानका सबै काम सकिनेछ। आगामी शैक्षिकसत्रदेखि स्मार्ट ल्याबमै कक्षा सुरु हुने प्रधानाध्यापक मोहनप्रसाद सिंहले बताए। कम्पनीले ४० वटा ट्याब उपलब्ध गराएकाले एक पटकमा ४० जना विद्यार्थीले ल्याबमा पढ्न सक्छन्। पूर्व–प्राथमिक कक्षाबाट १२ कक्षासम्मका विद्यार्थी पालैपालो ल्याबमा गएर पढ्न सक्छन्।

'विद्यार्थीका हातमा ट्याब भएपछि उनीहरुले अझै रमाइलो तरिकाले पढ्न सक्छन्', उनले भने। 

विद्युत् कटौतीको समयमा समेत ल्याब सञ्चालन होस् भनेर सौर्य किरणबाट ब्याट्री चार्ज हुने व्यवस्था मिलाइएको छ। यस्ता १५ वटा ब्याट्री कम्पनीले व्यवस्था गर्दैछ।

शिक्षकका लागि पहिले तालिम दिने कम्पनीले बताएको छ। 'यहीँ कार्यरत शिक्षकलाई नै तालिम दिएर आगामी सत्रदेखि कक्षा सुरु गर्न लागिएको हो।' विद्यालयले झन्डै दुई लाख रुपैयाँ ल्याबका लागि खर्च गरेको उनले बताए। कम्पनीले सामान सुरक्षित हुने ठाउँ माग गरेको थियो। 

दृश्य माध्यमबाट अध्यापन हुँदा विद्यार्थीले अझै सजिलै बुझ्ने उनी बताउँछन्। अरू सामुदायिक विद्यालयमा जस्तै विद्यार्थी सङ्ख्या न्यून हुँदै गएकामा विद्यार्थी बढाउन स्मार्ट ल्याबले काम गर्नेछ। अहिलेदेखि नै विद्यार्थी उत्साहित भएका छन्।

'अहिलेदेखि नै विद्यार्थी ट्याबबाट पढ्न पाइन्छ भनेर दङ्ग परेका छन्।' कम्पनीले भारतबाट नै शिक्षकले विद्यार्थीलाई डिस्प्लेबाट पढाए-नपढाएको निगरानी गर्नेछ । 

महिलालाई शिक्षा दिन विसं २००४ सालमा यो विद्यालय स्थापना गरिएको थियो। विद्यालयमा अहिले आर्थिक रुपमा विपन्न बालिका पढ्ने गरेका छन्। विद्यालयमा छात्रलाई समेत पढाउन जिल्ला शिक्षा कार्यालयले भने पनि विद्यालयले यसलाई महिला विद्यालयकै रुपमा राख्न चाहेको छ । रासस 

प्रकाशित: १३ मंसिर २०७३ १०:१८ सोमबार

स्मार्ट ल्याबमै विद्यालयको कक्षा