समाज

दश लाख राशिकाे रोटरी गोपाल–कमला राजभण्डारी पुरस्कार प्रदान

दश लाख राशिको ‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेशनल एक्सिलेन्स’ पुरस्कार  यूवा उद्यमी सुदिप कोइरालालाई प्रदान गरिएको छ।

रोटरियन गोपाल–कमला राजभण्डारीको नामबाट समाजका विभिन्न क्षेत्रमा योगदान पुराउनेलाई उक्त पुरस्कार दिइदै आइएको छ। यो छैठौं पुरस्कार हो। यसअघिसम्म यो पुरस्कार दुईदुई बर्षमा प्रदान गर्दै आइएको थियो। यो बर्षदेखि एकएक बर्षमा प्रदान गर्ने बताइएको छ। 

शुक्रबारबाट सुरू रोटरी क्लब डिस्ट्रिक्ट ३२९२ को १५ औ राष्ट्रिय सम्मेलनमा गोपाल–कमलाका नाती आमोद राजभण्डारीले परिवारको अन्य सदस्यको उपस्थितीमा कोइरालालाई उक्त पुरस्कारबाट सम्मानित गरेका हुन्। 

यो पुरस्कार गोपाल–कमला राजभण्डारीको स्मृतिमा स्थापना गरिएको हो। समाजसेवीका रुपमा परिचित गोपाल राजभण्डारी नेपालका रोटरी क्लब स्थापनाकालका संस्थापक सदस्य हुन। 

समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नेलाई प्रोत्साहन गर्ने उदेश्यले यूवा उद्यमी कोइरालालाई उक्त पुरस्कार प्रदान गरिएको गोपाल–कमला राजभण्डारीका नाती अामोद राजभण्डारीले बताए। उनका अनुसार बासुदेव गोल्यानको अध्यक्षतामा ६ सदस्सिय पुरस्कार छनौट समिति गठन गरिएको थियो । 

पुरस्कार प्राप्त गरेका कोइरालाले उक्त पुरस्कारकाे रकम समाजको उन्नतीका लागि लगानी गर्ने बताए। ‘हामीले काम गर्दा समाजका पिछडिएको वर्गको पनि आर्थिक उथ्थान हुनु पर्छ,’ उनले भने, ‘यो पुरस्कारले मलाई थप त्यहि बाटोमा हिड्न प्रोत्साहन गर्ने छ।

नाती राजभण्डारीले हजुरबुवा र हजुरआमाको नामहरु नेपालमा रोटरी आन्दोलनका क्षेत्रमा पर्यायवाची भएको उल्लेख गर्दै भने, ‘रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ सँग आफ्नो विरासत र सम्बन्धलाई निरन्तरता दिन सम्पूर्ण राजभण्डारी परिवारको तर्फबाट मञ्चमा आउन पाउनु सम्मानको कुरा हो।’

‘हामी यो पुरस्कारका माध्यमबाट परिवर्तनकारी अर्को पुस्ता चिन्न चाहन्छौ’, उनले भने, ‘उदयमान व्यक्तिहरुलाई आफ्नो कामको क्षेत्रमा अझ ठूलो सफलता प्राप्त गर्न र समाजमा नमुना व्यक्ति बन्न प्रेरित गर्न चाहन्छौं।

राजभण्डारी परिवारले यो बाहेक विभिन्न क्षेत्रमा सामाजिक सेवाका कामहरु गर्दै आएको छ। यो परिवारले विशेषगरी स्वास्थ्य र शिक्षा क्षेत्रमा विभिन्न योगदान दिदै आएको छ । काठमाडौ विश्वविद्यालयमा दुई वटा भवन, धुलिखेल अस्पतालको पूर्वाधार निर्माण, शहिद गंगालाल अस्पतालमा शल्यक्रिया भवनसहित दुई वटा भवन निर्माण गरेको परिवार स्रोतले जानकारी दिएको छ। यसबाहेक विद्यालय भवन निर्माणलगायतका क्षेत्रमा पनि सहयोग गर्दै आएको छ। 

विगतमा यसबाट पुरस्कृत हुनेहरुमा धुलिखेल अस्पतालका अध्यक्ष डा रामकण्ठमकाजु श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति डा सुरेशराज शर्मा, संस्कृतिविद् लेफ्टिनेन्ट सत्यमोहन जोशी,  प्रिजनर्स नेपालका अध्यक्ष इन्दिरा राणा मगर,  एफएल सफ्ट इन्टरनेशनलप्रालिका अध्यक्ष विश्वास एफ ढकाललगायत छन् । साथै डा वीरेन्द्रराज पोखरेल अपाङ्गता भएका अधिकारकर्मी हुन् । यी पुरस्कार विजेताहरूलाई उनीहरूको जीवनको कामको लागि सम्मान गरिएको थियो।

त्यसैगरी उक्त कार्यक्रममा ५ लाख राशीको ‘रोटरी जनकदाश–कान्छीमैया पुरस्कारबाट  रोटरी क्लव अफ बुटवल डाउनटाउन सम्मानित भएको छ। सामाजिक काममा उक्तकृष्ट भूमिका खेलेको कदरस्वरुप उक्त पुरस्कारबाट सम्मानित गरिएको हो।

त्यस्तै २ लाख ५० हजार राशीको ‘रोटरी अरुण श्रेष्ठ अवार्ड फर दि वेस्ट क्लव अवार्ड’  रोट्रयाक्स क्लव अफ काठमाडौं मिड टाउनलाई प्रदान गरिएको छ।

कार्यक्रममा २ लाख राशीको  रोटरी सुनिती –गोपाल आचार्य तेजकुमारी लुइटेल र राधा पौडेललाई जनही १ –१ लाखका दरले प्रदान गरिएको छ।

प्रकाशित: ३ चैत्र २०७९ ०८:१५ शुक्रबार

रोटरी