समाज

९२ वर्षीय वृद्ध साइकलमा सरर

पथरी (मोरङ)—९२ वर्षको उमेरमा वृद्ध मानिस के गर्ला? तपाईंलाई कसैले सोध्यो भने सहजै जवाफ दिनु हुन्छ, लौरोको साहारामा भित्र बाहिर गर्छ। अथवा छोरा वा नातिको साहारामा बाँची रहेको हुन्छ। तर उर्लाबारीका ९२ वर्षीय पदमबहादुर सुनामको हकमा यस्तो अनुमान गलत हुन्छ।

वृद्धमध्येका सुनाम एक अपवाद वृद्ध सावित भएर देखिएका छन्। आफ्नो जीवनको उत्तरार्धमा दैनिक जीवनमा आइपर्ने घरायसी काम साइकल चढेर फत्ते गर्नु हुन्छ। 

उनले साइकल चढेर हाट बजार गर्छन्। उनले २५ वर्षको उमेरमा पहिलो पटक साइकल चढेका थिए। घरमै आराम गरेर समय कटाउन, धार्मिक पुस्तक पढ्न र पारिवारिक भेटमा मात्र व्यस्त रहन उनलाई घर परिवारले आग्रह गर्छन्। तर उनी मान्दैनन्। साइकल टिपेर सभा सम्मेलनस्थलमा पुगिहाल्छन्।

यो उमेरमा साइकल कुदाएको देखेर जो कोही आचश्र्यचकित हुने गरेका छन्। 'घरमा बसिरह्यो भने खुट्टा दुख्छ, जीउ कट्कटी खान्छ त्यसैले साइकल कुदाउँछु', उनी भन्छन्।

सुनामका अनुसार 'साइकल कुदाएर डुल्यो भने वरपर के भइरहेको छ थाहा पनि हुन्छ। शरीर तन्दुरुस्त पनि हुन्छ।' साइकल सरर कुदाएको हेर्दा जो कोही छक्क पर्ने गरेको उनको अनुभव छ।

अचेल सवारीसाधनको चाप उच्च हुँदै गएपछि ९२ वर्षीय सुनाम साइकल र पदयात्रीका लागि अलग्गै सडक पेटी बन्नुपर्ने धारणा राख्छन्। 'सडक विस्तार भएको छैन। तर यातायातको साधन र जनसङ्ख्या बढेको बढ्यै छ। यस्तो अवस्थामा हामीजस्ता पाका साइकलयात्रीलाई दुर्घटनाको जोखिम बढेको छ', उनी भन्छन्। 

भोजपुर खावा–३ मा जन्मिनुभएका सुनाम २०३५ सालमा उर्लाबारी झरेका हुन्। सकुञ्जेल साइकल कुदाइरहने उनको भनाइ छ। 'साइकल मेरो साथी हो, नकुदाइ बस्न सक्दिनँ। आँट भएसम्मको ठाउँ पुर्‍याउन मद्दत गर्छ', उनी भन्छन्।

हालसम्म उनले एक दर्जन साइकल फेरिसक्नु भएको छ। रासस

प्रकाशित: १३ मंसिर २०७३ ०५:५० सोमबार

९२ वर्षीय वृद्ध साइकलमा सरर