समाज

सडकमा कुखुरा फालेर व्यवसायी आन्दोलित

भारतबाट अवैधरुपमा हुने कुखुरा तस्करीको मार खेपिरहेका कुखुरा व्यवसायीहरुले सडकमा कुखुरा फालेर आन्दोलन सुरु गरेका छन्।

बिहीबार दिउँसो नेपालगन्जस्थित गणेशमान चोकमा कुखुरा सडकमा फालेर उनीहरुले आन्दोलन गरेका हुन्।

दैनिक ठूलो परिणाममा भारतीय कुखुरा अवैधरुपमा बाँकेका विभिन्न नाकाबाट भित्रिँदा कुखुरा व्यवसायीहरु ठूलो मारमा परेको जानकी गाउपालिका–१ का असगर अली कुरेशीले बताए।

‘खुलेआम तस्करी हुँदा पनि नियन्त्रण गर्ने कोही छैनन्,’ उनले भने, ‘उताबाट तस्करी भएर आएका कुखुराले बजार पाउँछन्। हामीले ठूलो मिहिनेतका साथ उत्पादन गरेका कुखुराले मूल्य र बजार पाउँदैनन्।’

यहाँका कुखुरा व्यवसायीहरुले सुरक्षाकर्मी र भन्सारकै कर्मचारीको मिलोमतोमा कुखुरा अवैधरुपमा तस्करी भइरहेको बताएका छन्। तस्करी भएर आएको कुखुराको मूल्यसँग स्वदेशी कुखुराले मूल्य धान्न नसक्ने यहाँका किसानहरु बताउँछन्।

‘भारतबाट तस्करी भए आएका कुखुराको मूल्य सस्तो हुन्छ,’ कुखुरा व्यवसायी अमिर हल्वाइले भने, ‘हामीले उत्पादन गरेको कुखुरा भारतीय मूल्यमा दिन सकिँदैन।’ भारतीय मूल्य बराबर दिँदा लगानी उठ्न नसक्ने र भारतीयमा नदिँदा कुखुराले बजार पाउन समस्या हुने उनले बताए।

प्रकाशित: २ चैत्र २०७९ ११:३७ बिहीबार