समाज

उदयपुरका आधा दर्जन बढी ठाउँमा डढेलो

नियन्त्रणमा ल्याउनुअघि जिल्लाको सरस्वती सामुदायिक वनमा लागेको डढेलो। तस्बिर: महेश्वर।

सुख्खा मौसम सुरु भएसँगै उदयपुरका विभिन्न वन जंगल क्षेत्रमा डढेलो लाग्न थालेको छ। केही दिनयता जिल्लाका विभिन्न सामुदायिक वन समूहहरू र राष्ट्रिय वन क्षेत्रमा डढेलो लाग्न थालेको वन कार्यालयले जनाएको छ।

पछिल्ला ३/४ दिनयता सदरमुकाम गाईघाट जोडिएको त्रियुगा नगरपालिका १० बोक्सेबासीले चर्चे भोगेको वनसँगै जिल्लाका दर्जन हाराहारी सामुदायिक वन समूहहरू तथा राष्ट्रिय वनमा आगो सल्केर अनियन्त्रित डढेलो लागिरहेको स्थानीयले बताएका छन्।

बोक्सेबासीले भोगचलन गर्दै आएको बाबरी तथा बरुवा सामुदायिक वन उपभोक्ता समूहमा ३ दिनयता लगातार डढेलो लागेको गाईघाटबाट देखिएको स्थानीयको भनाई छ। दिनभर तुवाँलोले आगो नदेखिए पनि राति भने डढेलो लागेको प्रष्ट देखिने गरेको गाईघाटवासी बताउँछन्।

‘गएको तीन दिनयता बोक्सेभन्दा पश्चिमोत्तरतर्फको जंगलमा २ ठाउँ डढेलो लागिरहेको छ’ गाईघाटका प्रत्यक्षदर्शी दिनेश राईले भने ‘अस्ति रातिदेखि देखिन सुरु गरेको डढेलो हिजो राति झन् धेरै फैलिएको देखियो।’

दिउँसो नदेखिने तर, राति अँध्यारोमा भने ठुलो मुस्लो धुवाँसहित फैलिएको डढेलो झन् झन् बढ्दै गएको प्रत्यक्षदर्शी स्थानीयको भनाई छ। गाउँभन्दा निकै टाढा डढेलो देखिएकाले तत्काललाई मानव बस्ती जोखिममा नभए पनि समयमै नियन्त्रण नगरे बस्तीहरू पनि जोखिममा पर्ने भएकाले समयमै निभाउन सरोकारवाला निकायसँग स्थानीयले आग्रह गरेका छन्।

त्रियुगाकै वडा नं. ५ स्थित सरस्वती सामुदायिक वन समूहमा पनि ३ दिनअघि डढेलो लागेको थियो। वन समूहका पदाधिकारी, उपभोक्ता र वन कर्मचारीको संयुक्त प्रयासमा दुई दिनमै डढेलो नियन्त्रणमा आएको छ। आइतबार रातिदेखि लागेको डढेलो उपभोक्ता समूह र वन कर्मचारीको संयुक्त समूह खटेर ४८ घण्टासम्म खटेपछि नियन्त्रणमा आएको सब-डिभिजन वन कार्यालय देउरीका रेञ्जर बाबुराम फुयालले बताए। समूहका अध्यक्ष दिपक बान्तवा र स्वयं फुयाल नेतृत्वमा खटेको उपभोक्ता र कर्मचारी टोलीको प्रयासले डढेलो नियन्त्रणमा आएको हो।

जिल्लाको पूर्वी भेगमा पनि विभिन्न वन समूहमा डढेलो लागेको स्थानीयले बताएका छन्। चौदण्डीगढी नगरपालिकाका महाभारत र देउराली सामुदायिक वन समूहहरूमा पनि केही दिनयता डढेलो लागेको डिभिजन वन कार्यालय उदयपुरले पुष्टि गरेको छ। डिभिजनका सहायक वन अधिकृत जागेश्वर साहले विभिन्न ठाउँमा डढेलो लागेको पुष्टि गर्दै रोकथाम र नियन्त्रणको प्रयास भइरहेको बताए। वन कर्मचारी, समूहका पदाधिकारी र उपभोक्ता परिचालन गरेर डढेलो नियन्त्रणको काम भइरहेको साहले बताए।

त्रियुगा नगरपालिकाभित्रका बाबरी र बरुवा सामुदायिक वन समूह बोक्से, सरस्वती वन समूह देउरी र चौण्डीगढीका महाभारत तथा देउराली वन समूहमा आगो सल्केर डढेलो लागेको साहले बताएका छन्। उनका अनुसार डिभिजन वन र समूह तथा स्थनीयतहहरुसँग समन्वय गर्दै डढेलो नियन्त्रणको काम भइरहेको छ। साथै डढेलो लाग्न नदिन समूह र उपभोक्तालाई तालिम तथा विभिन्न किसिमका प्रचार प्रसार अभियान पनि कार्यालयले गरिरहेको साहले बताए।

उता डिभिजन वन कार्यालय कटारीले नेपालटारस्थित जंगलमा डढेलो लागेको जनाएको छ। डिभिजन मातहत पर्ने उदयपुर गढी गाउँपालिका ७ स्थित गैडेश्वर सामुदायिक वन समूहको जंगलमा बुधबार डढेलो लागेको देखिएको छ।

डिभिजनका सहायक वन अधिकृत भोगेन्द्र यादवले डढेलो लागेको देख्ने बित्तिकै तत्काल नियन्त्रणका लागि सम्बन्धित सब डिभिजन नेपालटार र वन समूहका पदाधिकारीलाई निर्देशन दिइएको बताए। उनका अनुसार पहाडी भेग परेकाले नियन्त्रण गर्न कर्मचारी टोली पठाउँदा गाडीबाट सम्भव नभएकाले पैदलै खटाउने गरिएको छ। वन कर्मचारीलाई समूहका पदाधिकारी र उपभोक्ताले साथ दिने उनले बताए।

जोखिमयुक्त र ठुलो मात्राको डढेलो भएमा वन कर्मचारीसँगै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनासम्मलाई आगो नियन्त्रणका लागि आग्रह गर्ने गरिएको सहायक डिएफओ यादवले बताए। उदयपुरमा गाईघाट डिभिजन मातहत २ सय ५ र डिभिजन कटारी अन्तर्गत १ सय ५४ वटा सामुदायिक वन उपभोक्ता समूह दर्ता भएर क्रियाशील रहेका छन्।

उदयपुरमा गएको असोजयता वर्षा नभएका कारण वन जंगलमा अति सुख्खा भएर सामान्य असावधानीमै पनि आगलागी र डढेलो हुन थालेको छ। ५ दिनअघि मात्र रौतामाई गाउँपालिका ८ मा घर आगलागी हुँदा एकाघरका दुई नाबालक दिदीबहिनीको दर्दनाक मृत्यु भएको छ भने सोही दिन सोही गाउँपालिकाको वडा नं. ५ स्थित कृषि फारममा लागेको आगोले १ सय १० वटा खसी, बोका जलेर लाखौँको क्षति भएको छ।

सुख्खा यामले गर्दा डढेलोको उच्च जोखिम हुनुका साथै उपभोक्ताहरूको आगलागीको हानी-नोक्सानीबारे असावधानी र जनचेतनामा भएको कमीले सालबसाली डढेलोबाट वन जंगल विनाश हुने गरेको छ भने आगलागीबाट अपूरणीय जनधनको क्षति हुँदै आएको छ।

प्रकाशित: १ चैत्र २०७९ १३:३५ बुधबार