समाज

डा. केसीको स्वास्थ्य अवस्था जटिल

काठमाडौं– चिकित्सा शिक्षामा सुधारको माग राखी नौ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उनको मुटुको चालमा समस्या देखा परेको छ।

डा. केसीको उपचारमा संलग्न चिकित्सकका अनुसार मुटुको चालमा देखिएको समस्याले जुनसुकै बेलामा पनि अवस्था गम्भीर बन्ने खतरा बढाएको छ । डा. केसीलाई एक साताअघि पनि मुटुको चालको समस्या देखिएको थियो । समस्या बीचमा हराए पनि फेरि देखिएको डाक्टरले जनाएका छन् ।

लगातारको अनशनका कारण डा. केसीमा शारीरिक कमजोरी बढ्नुका साथै मांसपेशी फर्कने समस्या पनि देखिएको छ । सोमबार सार्वजनिक गरिएको स्वास्थ्य विवरणअनुसार उनको रक्तचाप र नाडीको गति पनि घट्दै गएको छ । ‘डा. केसीलाई जुनसुकै बेला रोगको संक्रमण हुने खतरा बढ्दै गएको छ,’ स्वास्थ्य विवरणमा भनिएको छ, ‘जुनसुकै बेलामा पनि आकस्मिक उपचारको आवश्यकता पर्ने देखिएको छ।’

यसैबीच, नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले डा. केसीलाई भेटी उनको मागप्रति ऐक्यबद्धता जनाएका छन् । डा. श्रेष्ठले माग पूरा गराउन संघले सहयोग गर्ने र त्यसका लागि जस्तोसुकै भूमिका निर्वाह गर्ने बताएका छन्।

प्रकाशित: ७ मंसिर २०७३ ०१:४५ मंगलबार

डा. केसीको स्वास्थ्य अवस्था जटिल