समाज

'स्विडेन जाने' फर्म भर्दै गर्दा जब सिअाइबी टोली अाइपुग्यो

विभिन्न पदमा स्विडेनमा काम खुलेको सूचना एक दैनिक पत्रिकामा प्रकाशित गरिएको थियो।

काठमाडौं– स्विडेनमा वर्क परमिट त्यो पनि जम्मा  १० दिनमा। काम निर्माण, सुरक्षा र बन्दोबस्ती क्षेत्रमा । सामान्य अनुभव नै वर्क परमिटका लागि मान्य। शैक्षिक योग्यताको कुनै बन्देज छैन। आवदेन दिएको ३० दिनमा शतप्रतिशत उडाउने कम्पनीको जिम्मेबारी।

राष्ट्रिय दैनिक पत्रिकामा कार्तिक २० गते ठूला अक्षरमा यस्तै विज्ञापन प्रकाशित भयो। विज्ञापनमा गरिएका अन्य दाबी भन्दा नेपालबाट कानुनी प्रावधान नै नभएको स्विडेन कामदार पठाउने दाबी आफैँमा झुटो भएकोले केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारी अनुसन्धानमा जुटेका थिए। यस्तै वैदेशिक रोजगार विभाग र श्रम विभागबाट कुनै अनुमति नलिएको यस्तो बिज्ञापन प्रहरीलाई शंका गर्न प्रयाप्त थियो। 

दुई भारतीय नागरिक नेपाली युवालाई श्रम स्विकृत पत्र दिने र अन्र्तवार्ता लिने कार्य गर्दै थिए। त्यसमा नेपाली नागरिक बास्तोला स्विडेनको कामको बिषयमा बताउँदै थिए। ब्युरोका अधिकारीले एकाएक तीनैजनालाई नियन्त्रणमा लिए पछि उपस्थित युवा रनभुल्लमा परे।

ब्युरोको अनुसन्धानमा फेला परे दुईजना अग्रेजी फरर बोल्ने टाई सुट लगाएका ब्यक्ति। दुवै भारतीय नागरिक। एकजना गुजरात बडोदराका अभिषेक यादव र अर्का उत्तरप्रदेश बनारसका मुकेशकुमार शर्मा। दुवैलाई साथ दिने नेपाली चितवनका रमेश बास्तोला। नाम चलेको दैनिकमा विज्ञापन र नेपालका बेरोजगारको घुइँचो। गन्तब्य कामदार भिषामा युरोपको सुन्दर देश स्विडेन। लागत तीन किस्तामा जम्मा ६ लाख ६० हजार रुपैयाँ। भिषा र कामको सत प्रतिशत ग्यारेन्टी। 

केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारी शुक्रबार ताहाचलमा  रहेको होटल प्लाटिनम एण्ड स्पामा पुग्दा दुई दर्जन बढी युवा युरोपीयन मुलुक स्विेडन जाने सपनासँगै फर्म भर्ने र आफूलाई छनौट गर्न आग्रह गरिरहेका थिए। दुई भारतीय नागरिक नेपाली युवालाई श्रम स्विकृत पत्र दिने र अन्र्तवार्ता लिने कार्य गर्दै थिए। त्यसमा नेपाली नागरिक बास्तोला स्विडेनको कामको बिषयमा बताउँदै थिए। ब्युरोका अधिकारीले एकाएक तीनैजनालाई नियन्त्रणमा लिए पछि उपस्थित युवा रनभुल्लमा परे।

‘करिब एकसय ३५ जना युवा फर्म भरेर बसेका छन, प्रतिब्यक्ति सुरुवातमै दुईलाख माग्ने गरेको युवाले जानकारी दिएपछि एक्सनमा गयांै,’ ब्युरोका प्रमुख डिआईजी नवराज सिलवालले भने। उनका अनुसार नेपालमा कुनै सरकारी निकायसँग अनुमति नलिई प्रतिब्यक्ति दुईलाख उठाउने योजनामा रहेको समुह पैसा नउठाउँदै प्रहरीको नियन्त्रणमा परेको हो। ‘युरोपका नाममा दुईलाख दिन नेपाली युवा तयार थिए, सबैबाट उठने साढे दुई करोडभन्दा बढी रकमको कुनै ग्यारेन्टी थिएन’, उनले भने। 

ब्युरोले बिज्ञापन प्रकाशित भएपछि उक्त कम्पनीका अधिकारीको कृयाकलाप निगरानीमा राखेको जनाएको छ। प्रहरीले झुटा विवरण र गलत आश्वासन सहितको ग्यारेन्टी दाबी पनि वैदेशिक रोजगार अन्र्तगतको ठगी भएको दाबी सहित कारवाही अघि बढाएको हो। 

‘नेपालबाट श्रम स्विकृत गरी कामदारका रुपमा लैजान प्रावधान नै नभएकोमा ग्यारेन्टी सहित लैजाने दाबी गरेको र युवाहरु विज्ञापनका पछाडि कुदेको भेटियो,’ ब्युरोका एसपी दिवेश लोहनीले भने। उनका अनुसार कार्तिक २० गते भारतको नेक्सेल्सियर रिर्सच नामक संस्थाले स्विडेनमा सुरक्षा, निर्माण र बन्दोबस्तीमा श्रम भिषाको ग्यारेन्टी सहित ३० दिनमा उडाउने दाबी गरेको विज्ञापन प्रकाशित भएको हो। सो बिज्ञापन अनुसार १० दिनमा सम्पूर्ण कागजपत्र प्रमाणित गर्ने र ३० दिनमा उडाउने उल्लेख गरिएको थियो । 

ब्युरोका अनुसार भारतको गुजरात बडोदरामा रहेको नेक्सेल्सियर रिर्सच नामक कम्पनी ठगीकै लागि रचिएको नाम हुनसक्ने आशंका गरेको छ। भारतीय अनलाईन रोजगार विज्ञापनदाताले समेत यसै कम्पनीलाई आवश्यक कर्मचारीको विवरण सहित केही महिना अघि बिज्ञापन निकाले पनि त्यसको विश्वसनियता स्थापित हुन सकेको छैन। मोटो रकम तलब सुविधा सहित सार्वजनिक भएको उक्त विज्ञापन समेत भारतमै ठगीका लागि भएको हुनसक्ने भन्दै व्युरोले आफ्ना भारतीय समकक्षीसँग सोधपुछ गर्दैछ। 

ब्युरोले पक्राउ गरेका बास्तोला चितवनमा रहेको द टाईम्स इन्टरनेशनल नामक शैक्षिक परामर्स केन्द्रका प्रवन्धक हुन्। यस्तै अन्य दुई भारतीय नागरिकका बिषयमा प्रहरीले थप सोधखोज जारी राखेको छ। 

 

 

प्रकाशित: ५ मंसिर २०७३ १४:०७ आइतबार

स्विडेन जाने फर्म भर्दै गर्दा जब सिअाइबी टोली अाइपुग्यो