समाज

कर्णालीका स्वास्थ्य चौकीमा कुपोषणको उपचार सेवा सुरु हुने

काठमाडौं- कर्णाली अञ्चलका बालबालिकामा हुने कडा खालको कुपोषणको उपचारका लागि स्थानीय स्वास्थ्य चौकीहरुमा स्वास्थ्य मन्त्रालयले बहिरंग सेवा संचालन गर्ने भएको छ। 

पहिलो चरणमा अञ्चलभरीका ५० वटा स्वास्थ्य चौकीमा कडा कुपोषणको शिध्र उपचारको लागि बहिरंग सेवा केन्द्र स्थापना गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको बालस्वास्थ्य महाशाखाले आगामी तीन महिना भित्र कर्णालीभरि पोषण कार्यक्रम लागु गर्ने तयारी गरेको हो । 

महाशाखाले स्थानीय रुपमा महिला स्वयम् सेविका तथा जनचेतनामूलक कार्यक्रम मार्फत कुपोषणको पहिचान र समाधानको लागि पहल गर्ने जनाएको छ। 

मन्त्रालयले ५० वटा स्वास्थ्य चौकीमा कुपोषणको उपचारको लागि तयारी खाना पुर्‍याउने र केही स्थानमा सर्वोत्तम पिठो उपलब्ध गरिरहेको छ। 

कुपोषण भएका बालबालिका उपचार गर्न आउदा यातायात खर्च र विरामी कुरुवाको लागि समेत केही सहुलियत दिने महाशाखाको तयारी छ।  

महाशाखाले कुपोषण भएका बालबालिकाको उपचारको लागि ७५ वटै जिल्ला अस्पतालमा एक एक लाख बराबरको कुपोषण उपचार कोष समेत स्थापना गर्ने बताएको छ। 

बालमहाशाखामा अहिले सम्म प्राप्त विवरणहरुका अनुसार कुपोषणका बालबालिका सवै भन्दा धेरै कञ्चनपुर र सप्तरीमा बढी देखिएको छ । 

कुपोषण भएकाहरु मध्ये हाल सम्म ४० हजार जनाले अस्पतालमा उपचार गराएका छन् ।

नेपालमा सन् २०१० देखि पाँच जिल्लाबाट कुपोषण विरुद्धको अभियान सुरु भएको महाशाखाका प्रमुख राजकुमार पोखरेलले जानकारी दिए।

बर्दिया, अछाम, कञ्चनपुर, मुगु र जजरकोटबाट सुरु भएको अभियान अहिले जुम्ला, कपिलबस्तु, सर्लाही, सप्तरी, धनुषा, ओखलढुङ्गा, कालिकोट, हुम्ला, डोल्पा, बझाङ्ग, बाजुरा, बैतडी र डडेलधुरामा सञ्चालन भईरहेको छ ।

दीर्घ कुपोषणबाट नेपालमा ५ वर्षमुनीका करिव ४१ प्रतिशत बालबालिकाहरू ग्रस्त रहेका छन् । 

कम तौल, पुड्कोपन, ख्याउटेपन लगायतका लक्ष्यण देखिएकालाई कुपोषण भएको मानिन्छ । 

विशेषगरी विपन्न वर्गका महिला तथा बालबालिका विभिन्न सूक्ष्मपोषक तत्वहरूको अभावले कुपोषण भएको पाइएको छ भने ५ वर्षमुनिका एक तिहाई बालबालिकाको मृत्यूको कारण दिर्घकालीन कुपोषण रहेको छ । 

कुपोषणका शिकार भएका बालबालिकाहरू पछि गएर दीर्घरोगी हुने सम्भावना बढी हुने चिकित्सकहरु बताउछन् ।

 

प्रकाशित: ४ मंसिर २०७३ १३:४८ शनिबार

कर्णालीका स्वास्थ्य चौकीमा कुपोषणको उपचार सेवा सुरु हुने