समाज

कोशी प्रदेश नामकरणको विरोधमा बन्द, सार्वजनिक सवारीसाधन ठप्प

धरानको भानुचोक क्षेत्रमा बन्दकर्ताहरु। तस्बिर: रोहित राई

प्रदेश नं १ को नाम कोशी राखिएको विरोधमा आज प्रदेशभर बन्द आह्वान गरिएको छ। पहिचान पक्षधर विभिन्न संघसंगठन तथा राजनीतिक दलहरुको आह्वानमा कोशी प्रदेश बन्द भएको हो।  

बन्दको कारण लामो तथा छोटो दुरीका सार्वजनिक सवारीसाधनहरु ठप्प छ भने शैक्षिक संस्था, बजार पनि खुलेको छैन। पहिचान पक्षधरहरुको बन्दले धरान पनि ठप्प भएको छ। यद्यपी मुख्य बजार र सडकमा बन्दको प्रभाव भएपनि भित्रि सडकहरुमा भने मोटरसाइकल, टेम्पो र सफारीहरु निर्वाध चलेका छन्। भानुचोक क्षेत्रमा भने बन्दकर्ताहरुले सवारीसाधनहरुलाई प्रवेश गर्न दिएका छैनन्।

फागुन १७ गते प्रदेश नं १ को प्रदेशसभाबाट बहुमतले प्रदेशको नाम कोशी पारित भएको थियो। एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्रलेसमेत कोशी प्रदेशको पक्षमा मतदान गरेपछि दुईतिहाई बढी मतले पारित भएको थियो। कोशी नामप्रति जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी विपक्षमा रहेको थियो।

कोशी प्रदेश स्वीकार्य नभएको भन्दै किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, जसपा, राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायतको आह्वानमा बन्द भएको जनमुक्तिका नेता विष्णु थाम्देनले बताए।  

कोशी प्रदेश नाम खारेज हुनुपर्ने र तत्कालको लागी किरात भएपनि स्वीकार गरिने उनले बताए। थाम्देनले भने,‘कोशी प्रदेशको नाम माग गरेर कसैले पनि आन्दोलन गरेका छैनन्, दलहरुले पनि कोशी प्रदेश नाम राख्छु भनेका थिएनन्, पहिचानकै आधारमा राख्छौं भनेका थिए। त्यसैले कोशी प्रदेश नाम कार्यान्वयन हुनुहुदैन।’ प्रदेश सरकारले जर्बजस्ती गरेमा आन्दोलन थप कडा हुने पनि उनले चेतावनी दिए।  

प्रकाशित: २८ फाल्गुन २०७९ ०७:५७ आइतबार

बन्द