समाज

नदीजन्य सामाग्री ओसार्न त्रिशुली छेक्न बाँध

नदीजन्य सामाग्री ओसार्न लेवाटार स्थित त्रिशुली नदीमा बाँध बनाइएको छ । गोरखाको शहिद लखन गाउँपालिका ४ स्थित ठेवाटार गाउँ नजिकै रहेको त्रिशुली नदी किनारबाट गिट्टि, बालुवा ओसार्न नदी नै छेकेर बाँध बनाईएको हो।  

गोरखा तर्फ सडक नभएपछि ठेक्का पाएको त्रियुग निर्माण सेवा कम्पनीले त्रिशुली नदीमा बाँध नै बनाएर चितवनको लेवाटार तर्फ ल्याउन लागेको हो । यतिखेर गोरखा तर्फबाट बाध लगाउने काम तिब्र गतिमा भैरहेको छ। बाँध लगाउन केही मिटर मात्र बाँकी छ। तर, समन्वय नगरी एक्लौटी रुपमा नदी नै थुनेर बाँध बनाएपछि इच्छा कामना गाउँपालिकाले विरोध जनाएको छ । ‘नदी थुनेर गिटि, बालुवा ल्याउनका लागि वातावरणीय प्रभाव मुल्याङ्कन गर्नुपर्छ । त्यसका लागि हामीसंग समन्वय छैन,’ इच्छा कामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले भने, ‘नदी थुनेर ल्याउँदा हामीसंग पनि समन्वय हुनुपर्ने  हो।’

गोरखा तर्फ दुईवटा एक्साभेटर र दुईवटा ट्रिपर गएर बसेका छन् । शहिद लखन गाउँपालिकाले ठेउटारबाट करिव ७ सय मिटर उत्तर स्थित धारापानी बगरको नदीजन्य पदार्थ प्रयोगका लागि वातावरणीय प्रभाव मुल्याङ्कन गरेको छ । त्यो गर्दापनि इच्छा कामना गाउँपालिकाले आफ्नो क्षेत्रमा असर पर्ने भन्दै अनुमती दिएको थिएन्। तर, त्यहाँबाट बाँध उठाउन लागेपछि फागुन १० गते इच्छा कामना गाउँपालिकाले शहिद लखन गाउँपालिकालाई तत्काल काम रोक्न पत्र लेखेको थियो। त्यसपछि निर्माण कम्पनीले काम रोकेर त्यसभन्दा तलबाट बाँध उठाएको हो । फेरी इच्छाकामना गाउँपालिकाले फागुन २६ गते काम रोक्नका लागि पत्र पठाएको छ। उसले वातावरणीय सन्तुलन, नदीको बहाव, सञ्चालित पेशा व्यवसाय जस्ता विषयमा प्रतिकुल प्रभाव पार्ने कुनै कार्य नगर्न अनुरोध गरेको छ। 

नदी थुनेर ल्याउँदा स्थानीयलाई असर पर्ने गुरुङ बताउँछन् । स्थानीयले पनि विरोध गरेका छन् । तर, सम्बन्धित पक्षले ध्यान नदिँदा समस्या भएको उनले दुखेसो पोखे । ‘बल प्रयोग गरेर रोक्न जाने अधिकार हामीलाई छैन । नदी र वन सबैको साँझा हो । सम्बन्धित ठाउँमा पत्र पठाएको छु । चितवनका प्रमुख जिल्ला अधिकारीलाई निवासमै भेटेर जानकारी गराएको हुँ,’ उनले भने, ‘काम रोकिन सकेको छैन।’ उनले इच्छा कामनाको आवागमनलाई प्रभाव पार्न नपाईने बताए । खोलाको ढुंगा निकाल्दा मन्त्रालयबाट विज्ञ बोलाएर काम गर्ने गरेको बताउँदै नदी थुन्दा कोही बोल्न नचाहेको उनले बताए।  

त्रिशुली नदीले वाग्मती र गण्डकी प्रदेशको सिमा छुट्टाएको छ । गोरखा तर्फ गण्डकी पर्छ भने चितवन तर्फ वाग्मती पर्दछ । बाध बाधिएको ठाउँ मुग्लिन नौबिसे सडक खण्डबाट करिव ५ सय मिटर छ । शहिद लखन गाउँपालिकाको वडा नम्बर ४मा पर्ने ठेउटारबाट गाउँपालिकाले नदीजन्य पदार्थ झिक्न अनुमती दिएको हो। वातावरणीय प्रभाव मुल्याङ्कन गरेर नदी उत्खननका लागि ठेक्का दिईएको शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले दावि गरे । ‘हामीले सबै कानुनी प्रक्रिया पुराएर ठेक्का लगाएको हौँ,’ उनले भने, ‘ठेकेदारले आफ्नो सामान कसरी लैजान्छ हाम्रो सरोकारको बिषय भएन।’ 

शहिद लखन गाउँपालिकाले ६ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन्का लागि २५ लाख रुपैयाँमा ठेक्का दिएको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिईन् । ‘हामीले १५ दिनको सूचना निकाल्यौँ । अनलाईन मार्फत सम्पादन गरेर एक महिना अघि ठेक्काको जिम्मा दिएका हौँ,’ उनले भनिन्,‘समुदायसंगको समन्वयमा वातावरण प्रभाव मुल्याङकन गरेभन्दा केही तलबाट लैजान अनुमति दिएका छौँ।’

त्रिशुली नदी ¥याप्टिङका लागि प्रख्यात छ । यहाँ दैनीक २ सयको हाराहारीमा पर्यटक ¥याप्टिङ गर्न आउने गर्दछन् । बाँध बाधिएपछि व्यवसाय नै धरापमा पर्नेभए पछि हिमालयन रिभरगाइड एसोसियसन (हर्गान)ले बिरोध जनाएको छ । उसले इच्छाकामाना गाउँपालिकालाई तत्काल काम रोक्न अनुरोध समेत पत्र नै पठाएर अनुरोध गरेको छ। रिर्भर गाईड कमल ठकुरी त्यहाँ बाध हालेर बेलिब्रिज बनाउँदा आफुहरुलाई प्रत्यक्ष असर पर्ने बताउँछन्। ‘ठेकेदारले बेलिब्रिज हाल्ने भन्नुभएको छ । तर, बाँध हालेको ठाउँमा ढुंगा गिटिको थुप्रो हुँदा ¥याप्टिङ गर्ने ठाउँ नै हुँदैन,’ उनले भने, ‘नदीलाई आफ्नै अवस्थामा बग्न दिनुपर्दछ।

’ त्रिशुलीको हुँदिखोला–फिस्लिङ–गाईघाट–सिमलतालमा ¥याप्टिङ नियमित नै चल्ने गर्दछ। यहाँ १ सय ५० वटा बोट रहेका छन् । कुरिनटारमा रहेको नेपाल स–सस्त्र प्रहरीको विपत व्यवस्थापन टिमले पनि यहाँ नै तालिम लिने गर्दछ । तर, जिल्ला प्रशासन कार्यालय चितवन मौन रहेको इच्छाकामना गाउँपालिका वडा नम्बर ४का वडाध्यक्ष रविन्द्र उप्रेती बताउँछन् । ‘पहिले इच्छाकामना तर्फबाट बाँध राख्न लागेको थियो । हामीले दिएनौँ, अहिले गोरखा तर्फबाट बाँध लगाएको छ। यो रोक्न चितवनका सिडियोलाई पनि भनेका हौँ। आएर पनि हेर्नु भयो,’ उनले भने ‘रोक्न सक्नुभएन ।’ ¥याप्टिङबाट इच्छाकामना गाउँपालिकाका केही मानिसहरुले रोजगारी पाएका थिए । यो धरापमा पर्ने उनी बताउँछन् । नदी नै थुनेर ढुंगा, गिट्टी निकासी भएको पहिलो भएको उनले भनाई छ।  

प्रकाशित: २७ फाल्गुन २०७९ १५:१७ शनिबार