समाज

म्याड्रिडमा नेपाली खाना र आतिथ्य संगम

१. स्पेनका लागि भारतीय राजदूत दिनेश के पटनायक र पाकिस्तानी राजदूत सुजात अली राठोरको हात समातेर नेपालका राजदूत शर्मिला ढकाल पराजुलीले फागुको मित्रवत् सन्देश दिँदै।। २. परम्परागत खाना भक्काको निरीक्षण गर्दै स्पेनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली।(द

स्पेनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीले राजधानी म्याड्रिडस्थित दूतावासमा बुधबार आयोजना गरेको फागु र नारी दिवस कूटनीति विस्तारका निम्ति प्रभावकारी भएको छ।

स्पेनका लागि भारतीय र पाकिस्तानीसहित ४० राजदूतलाई समेत उनले स्वागत गरेकी थिइन्। कार्यक्रममा फागुको रंगमा सबैजना रमाएका थिए। उत्सवमा भक्का, सेलरोटी, मम, सेकुवा, आलुको अचार, मासुपुलाउलगायतका नेपाली परिकार चाख्ने व्यवस्था गरिएको थियो। कार्यक्रममा नेपाली लोकनृत्य, पर्वसम्बन्धी गीत तथा संगीतसमेत प्रस्तुत गरिएको थियो।

सेलरोटी, भक्का आदि बनाएको पनि सबैले सुरुचिपूर्वक अवलोकन गरेका थिए। उक्त दिन धेरैतिर कार्यक्रम जुधेका भए पनि नेपाली दूतावासमा सबैको उपस्थितिले उत्साहित तुल्याएको थियो। कार्यक्रममा भारतीय राजदूत दिनेश के पटनायक र पाकिस्तानी राजदूत सुजात अली राठोर दुवैको हात समातेर राजदूत पराजुलीले फागुको मित्रवत् सन्देश दिएकी थिइन्। ‘नेपाली दूतावासलाई आर्थिक कूटनीति विस्तारका निम्ति प्रयोग गर्न चाहेकी छु,’ राजदूत पराजुलीले नागरिकसँग भनिन्, ‘हाम्रो मुलुकको अर्थतन्त्रलाई सघाउने प्रयत्न हो। त्यसका निम्ति सकेसम्म बढी पर्यटक पठाउन यस्ता कार्यक्रममार्फत् कोसिस गरिरहेकी छु।’

प्रकाशित: २७ फाल्गुन २०७९ ०३:४९ शनिबार