समाज

जयरामघाट पुल निर्माणमा प्रधानमन्त्रीको अग्रसरता

काठमाडौं–ओखलढुंगा जोड्ने दुधकोसी नदीको जयरामघाट पुल निर्माणमा प्रधानमन्त्री पुष्पकमल दाहालले अग्रसरता लिएका छन्। गत साता राष्ट्रिय गौरवका आयोजनाको अनुगमन तथा निरीक्षणका क्रममा खोटाङका स्थानीय बासिन्दासँगको भेटमा प्रधानमन्त्रीले छिटै पुल निर्माणको काम अघि बढाउन आवश्यक निर्णय लिने बताएका थिए।

२०६६ असार २३ गते पुल निर्माणको सम्झौता भई २०७० मंसिर १५ गतेसम्ममा सम्पन्न हुनुपर्नेमा हालसम्म सम्पन्न नभएपछि पुल निर्माण कार्यलाई तिब्रता दिन प्रधानमन्त्रीले अग्रसरता लिएका हुन्।

बुधबार प्रधानमन्त्रीले पुल निर्माणसँग सम्बद्ध सरकारी निकायका अधिकारीलाई सिंहदरबारमा बोलाएर पुल निर्माण ढिलो हुनुको कारणबारे चासो राखेका थिए। प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि पौडेल, भौतिक योजना मन्त्रालयका सचिव धनबहादुर तामाङ, पूर्वाञ्चलका क्षेत्रीय प्रशासक शिवहरि सापकोटा, सडक विभागका निर्देशक देवेन्द्र कार्कीलगायतका अधिकारीलाई बोलाएर प्रधानमन्त्रीले आगामी चैत मसान्तभित्र पुल सक्ने गरी काम गर्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले ठेकेदारको लापरवाहीका कारण पुल निर्माणमा ढिलाई भएको भन्ने स्थानीयबासीको गुनासो स्मरण गराउँदै समयमै काम नसके ठेकेदारलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिएका छन्। प्रधानमन्त्रीको चासोपछि भौतिक पूर्वाधार सचिव र सडक विभागका निर्देशकले ठेकेदारहरुलाई बोलाएर छिटो पुल निर्माणकालागि सचेत गराउने र समयमै सम्पन्न नभए कार्बाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 

प्रकाशित: १ मंसिर २०७३ ०९:२१ बुधबार

जयरामघाट पुल निर्माणमा प्रधानमन्त्रीको अग्रसरता