समाज

‘तीनमहिने सुई’ ले थलिँदै त्रिवि

फाइल तस्बिर ।

काठमाडौं-पछिल्लो समय डिन नियुक्ति अल्पकालका लागि हुने प्रवृत्तिले त्रिभुवन विश्वविद्यालयमा अस्तव्यस्तता बढ्दै गएको छ । तीन महिनाका लागि डिन नियुक्त हुने परिपाटीलाई ‘गर्भनिरोधक तीनमहिने संगिनी सुई’ सँग तुलना गर्दै प्राध्यापकहरू यस्तो अवस्था चाँडो अन्त्य हुनुपर्ने औंल्याउँछन् ।

‘विश्वविद्यालयको शैक्षिक र गुणस्तर कायम गर्न खोलिएका हरेक संकाय, विभाग, संस्थान तथा अनुसन्धान केन्द्रमा उपकुलपतिले आफ्नो विवेक प्रयोग गरी चार वर्षका लागि  पदाधिकारी नियुक्ति गर्नुपर्छ,’ भूगर्भशास्त्र केन्द्रीय विभागका प्रमुख लालुप्रसाद पौडेल भन्छन् ।  

फागुन ३० मा चारवर्षे कार्यकाल सकिएका पौडेल अर्को व्यवस्था नहुन्जेल विभागीय प्रमुखको भूमिकामा छन् । उपकुलपतिले विश्वविद्यालयको हितभन्दा पनि दलगत चेपुवामा तीनमहिने नियुक्ति दिएको र प्राध्यापकहरुले ‘तीनमहिने संगिनी सुई’ जस्तो नियुक्तिले त्रिवि थेगिरहेको चर्चा गरेको सुन्दा आफूलाई दुःख लागेको पौडेल बताउँछन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका डिन प्रकाशमान श्रेष्ठको पदावधि जेठमा सिद्धियो । दलगत गुट–उपगुटको चेपुवामा परेका उपकुलपति तीर्थ खनियाँले सहायक डिन नेत्रप्रसाद धिताललाई चारवर्षे अवधिका लागि नियुक्त नगरी तीनमहिने नियुक्ति दिए ।

राजनीतिक नियुक्तिमा विश्वविद्यालय छिरेका खनियाँको व्यवस्थापकीय कमजोरीकै कारण थुप्रै केन्द्रीय विभाग, कलेज, अनुसन्धान केन्द्र र अध्ययन संस्थान तीनमहिने निमित्त पदाधिकारीको भरमा चलेको टिप्पणी विश्वविद्यालय हाताभित्र सुनिन्छ ।

उपकुलपति खनियाँले आफ्नो विशेष अधिकार प्रयोग गरी धिताललाई पहिलोपटक तीनमहिने नियुक्ति दिएका थिए । तीनमहिने म्याद असोज मसान्तमा सकिएपछि उपकुलपतिले पुनः धिताललाई नै कात्तिक ७ गते आर्थिक कारोबार गर्ने अधिकारसहितको निमित्त डिनमा नियुक्त गरेका छन् ।

राजनीतिक नियुक्तिमा विश्वविद्यालय छिरेका खनियाँको व्यवस्थापकीय कमजोरीकै कारण थुप्रै केन्द्रीय विभाग, कलेज, अनुसन्धान केन्द्र र अध्ययन संस्थान तीनमहिने निमित्त पदाधिकारीको भरमा चलेको टिप्पणी विश्वविद्यालय हाताभित्र सुनिन्छ ।

विज्ञान संकायका डिन पनि तीनमहिने निमित्त नै छन् । विज्ञानका डिन रामप्रसाद खतिवडालाई तीन–तीन महिनामा निमित्तको जिम्मेवारी दिइएको छ । त्यस्तै, विज्ञान संकायअन्तर्गतकै जल तथा मौसम विभागमा तीनमहिने निमित्त बनेर दीपक अर्यालले जसोतसो विभाग चलाइरहेका छन् ।

पौडेल भन्छन्, ‘एकातिर पूर्णकालीन डिन नियुक्ति नहुँदा नयाँ शिक्षक दरबन्दी खुलाउन सकिएको छैन, अर्कोतर्फ आंशिक शिक्षकका भरमा सेमेस्टर चलाउनुपर्दा शैक्षिक गुणस्तर कायम गर्न मुस्किल पर्छ ।’

त्रिवि सूचना शाखाका अनुसार नियुक्तिपत्रको चाङ नै छ जसमा कात्तिक ७ गतेदेखि लागू हुनेगरी व्यवस्थापन संकायको निमित्त डिनमा नवराज अधिकारीलाई नियुक्त गरिएको छ । अधिकारीले तीनमहिने नियुक्ति अस्वीकार गरेपछि उपकुलपति खनियाँले कात्तिक ७ गतेदेखि लागू हुनेगरी उनलाई निमित्त डिनको जिम्मेवारी दिएका छन् ।

असोज २ गते वन विज्ञान अध्ययन संस्थानका डिन चिरञ्जीवीप्रसाद उपाध्यायको चारवर्षे पदावधि सकिएपछि त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँले वन विज्ञान अध्ययन संस्थानमा वरिष्ठ प्राध्यापकलाई पाखा लगाउँदै कनिष्ठ प्राध्यापक कृष्णराज तिवारीलाई तीन महिनाका लागि असोज ४ मा  नियुक्त गरेका हुन् ।
शिक्षाशास्त्र संकायका पूर्वडिन एवं प्राध्यापक  प्रकाशमान श्रेष्ठले विगतमा उपकुलपतिले संक्रमण अवस्थामा मात्र विशेषाधिकार प्रयोग गरी तीनमहिने नियुक्ति दिने गरेको बताउँछन् ।

‘त्रिविभित्र कांग्रेस, एमाले, माओवादीलगायत दलनिकट प्राध्यापकको अनौपचारिक समिति हुँदोरहेछ,’ डिनमा दुई पूर्ण कार्यकाल सम्हालिसकेका श्रेष्ठले अनुभव सुनाए, ‘त्रिविका पदाधिकारी र संगठनका प्राध्यापकबीच भागबन्डा नमिलेपछि डिन, निर्देशक तथा विभागीय प्रमुख नियुक्त गर्न नमिल्ने रहेछ ।’

उनले विश्वविद्यालयलाई विशुद्ध प्राज्ञिक थलो बनाउन उपकुलपति लगायत पदाधिकारीको राजनीति नियुक्ति नै बन्द गर्नुपर्ने सुझाए । सूचना शाखाका अनुसार कात्तिक ७ गतेदेखि लागू हुने गरी व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) को कार्यकारी निर्देशकमा दुर्गाप्रसाद पाण्डेलाई तीनमहिने नियुक्ति दिइएको छ । त्यस्तै, कात्तिक २२ गते लागू हुने गरी गोविन्दबहादुर कटुवाललाई काठमाडौं ताहचलस्थित महेन्द्ररत्न क्याम्पसमा निमित्त प्रमुख र प्रा.डा. विष्णुशंकर पौडेललाई कात्तिक २२ गतेदेखि लागू हुनेगरी नेपाली र एसियाली अनुसन्धान केन्द्र (सिनास) प्रमुखको जिम्मेवारी दिइएको छ ।

ललितकला क्याम्पस प्रमुखमा सहप्रध्यापक संगीता प्रधानलाई कात्तिक ७ देखि लागू हुनेगरी  तीनमहिने नियुक्ति दिइएको छ । शिक्षाशास्त्र केन्द्रीय विभागमा प्रा. कृष्णप्रसाद आचार्यलाई नियुक्त गरिएको विभागीय प्रमुखको तीनमहिने कार्यकाल साउन १७ गते सकिएपछि पुनः कात्तिक ७ गतेदेखि लागू हुनेगरी निमित्त दिइएको छ ।
यसैगरी, सहप्राध्यापक श्यामसुन्दर पन्तलाई रामपुर क्याम्पस प्रमुखका लागि कात्तिक २० देखि लागू हुनेगरी तीनमहिने नियुक्ति दिइएको छ ।

त्यस्तै, असोज २७ गतेदेखि लागू हुनेगरी अंग्रेजी केन्द्रीय विभाग प्रमुखमा प्रा. डा. कृष्णचन्द्र शर्मालाई तीनमहिने नियुक्ति दिइएको छ । आर्थिक विकास तथा प्रशासनिक अनुसन्धान केन्द्र (सेडा)को कार्यकारी निर्देशकमा असोज २७ गतेदेखि लागू हुनेगरी प्रा. रामचन्द्र खनाललाई नियुक्ति गरिएको छ । त्रिवि प्राध्यापक संघ (टुटा)का सभापति योगेन्द्र नारायण बडबडिया विगतमा उपुकलपतिले चारवर्षे पदाधिकारी नियुक्ति गर्दा विश्वविद्यालयमा शैक्षिक, प्रशासनिक र प्राज्ञिक मर्यादा कायम रहेको बताउँछन् । ‘अहिले तीनमहिने र निमित्तको भरमा त्रिवि चल्दा अस्तव्यस्त बनेको छ,’ उनले भने ।

उनले उपकुलपतिको एकलौटी निर्णय र मनमानीका कारण विश्वविद्यालयमा अप्ठेरो सिर्जना भएको बताए । ‘१४ महिनादेखि विश्वविद्यालयमा उपकुलपतिले दर्जनौं समिति बनाउने, प्रतिवेदन माग्ने, थन्क्याउने काम मात्र गरेका छन् । उपकुलपति देश–विदेश भ्रमणमै व्यस्त छन्,’ प्राध्यापक बडबडिया भन्छन्, ‘व्यक्तिगत स्वार्थमा निर्णय लिएर त्रिवि चल्दैन । पदाधिकारीको व्यवस्थापकीय कमजोरीको सिकार बन्दै छ त्रिवि ।’

शिक्षाध्यक्षको सिफारिसमा त्रिवि कार्यकारी परिषद्ले डिन नियुक्ति गर्नुपर्ने नियम छ । तर, राजनीतिक भागबन्डा नमिलेकै कारण उपकुलपति खनियाले तीनमहिने कार्यावधि तोकेर नियुक्ति गरिरहेको उनले बताए । ‘कुनै अप्ठेरो वा संक्रमणकालमा मात्र उपकुलपतिले आफ्नो विशेषाधिकार प्रयोग गरी तीनमहिने नियुक्ति दिने नियम छ,’ उनले भने, ‘तर उपकुलपतिले मनोमानी तरिकाले दललाई खुसी पार्न तीनमहिने नियुक्ति दिइरहनुभएको छ । यसले गर्दा दीर्घकालीन योजना बनाएर अघि बढ्न सकिँदैन ।’

त्रिवि लोकतन्त्र प्राध्यापक संघका महासचिव उदय कर्णले उपकुलपति खनियाँको प्रशासनिक क्षमता कमीका कारण विश्वविद्यालयको साख गिर्दै गएको प्रतिक्रिया दिए । ‘विश्वविद्यालयका विभाग, संस्थान, संकाय, अनुसन्धान केन्द्र र क्याम्पसमा चारवर्षे पूर्णकालीन पदाधिकारी नहुँदा अनुसन्धान, पाठ्यक्रम परिमार्जन तथा नयाँ विषय कार्यान्वयनका सबै क्रियाकलाप ६ महिनादेखि अवरुद्ध छ,’ कर्णले भने, ‘उपकुलपतिको निरीहता र अकर्मण्यताका कारण आज विश्वविद्यालयले विगतको भन्दा शैक्षिक, प्राज्ञिक मर्यादा गुमाउँदै अनुभव भइरहेको छ ।’

 

प्रकाशित: १ मंसिर २०७३ ०६:१४ बुधबार

तीनमहिने सुई ले थलिँदै त्रिवि