समाज

शिक्षकले राजनीति गर्न नपाउने !

शिक्षकलाई राजनीतिबाट रोक्न सर्वदलीय बैठकले गरेको निर्णय ।

खोटाङ–खस्कँदो शैक्षिक स्तर उकास्नकालागि खोटाङमा शिक्षकलाई राजनीतिबाट टाढा राख्न सर्वदलीय सहमति जुटेको छ। कतिपय शिक्षकले विद्यालयलाईभन्दा राजनैतिक गतिविधिलाई प्राथमिकता दिँदा शिक्षाको गुणस्तर खस्किएको निष्कर्षसहित सर्वदलीय बैठकले शिक्षकलाई राजनीतिबाट टाढा राख्ने सहमति गरेको हो। जिल्ला शिक्षा कार्यालयको संयोजनमा सोमबार बसेको बैठकमा दश दलका प्रमुख नेताले शिक्षकलाई राजनैतिक गतिविधिमा प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन्।
 दलको सामुहिक प्रतिबद्धतापछि जिल्लाका शिक्षकले राजनीति गर्न नपाउने भएका छन्।

पठनपाठनलाई भन्दा दलको कार्यक्रम र गतिविधिलाई प्राथमिकता दिने शिक्षकका कारण शैक्षिक गुणस्तर खस्किएको यतार्थलाई स्वीकार गर्दै शिक्षक र बिद्यालयलाई राजनैतिक प्रभावबाट टाढा राख्ने सहमति जुटाइएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताए। विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउनकालागि शिक्षकलाई राजनीतिबाट अलग गरेर त्यसको अनुगमन र पृष्ठपोषणको कार्यलाई प्रभावकारी बनाउने सहमति भएको छ।

दलीय संरक्षणमा ‘नपढाई तलव खाने’ कतिपय शिक्षकका कारण अन्य कामकाजी शिक्षकमासमेत मनोवैज्ञानिक असर परिरहेकाले शिक्षकलाई राजनीतिबाट अलग गर्ने सहमति गरिएको हो। बैठकमा सहभागी दलका नेताले शिक्षकलाई पार्टीको जिल्ला समिति हुँदै क्रमशः गाउँ तहसम्मका पदमा नराख्ने निर्णय गरेका छन्। सर्वदलीय निर्णयले जिल्लाका शिक्षकलाई राजनीति गर्ने बाटो छेकेको छ। राजनीति गर्ने शिक्षक विद्यालयमा कम उपस्थित हुने, पार्टीको कार्यक्रमका दिन चाँडै बिद्यालय छाड्ने, मन लगाएर नपढाउने, नेताको संरक्षणमा कारबाहीबाट बच्ने गरेको गुनासो छ।

विभिन्न राजनीतिक दल तथा भातृसंगठनका बिभिन्न पदमा आबद्ध रहेका शिक्षकका कारण कतिपय विद्यालयको उत्र्तिण दर हरेक वर्ष खस्कँदै गएको र सामुदायिक बिद्यालयप्रति आकर्षण घटिरहेको गुनासो आइरहेका बेला जिल्लाका दलले शिक्षकलाई राजनीतिबाट अलग गर्ने हिम्मत गरेका हुन् । नेताको चाकडी गरेको भरमा गलत कामको ढाकछोप गर्ने, सरुवा र बढुवाकालागि नेताको ढोका चहार्ने शिक्षकका कारण शिक्षा क्षेत्र अस्तव्यस्त बनेको राप्रपा नेपाल खोटाङका अध्यक्ष जीवन श्रेष्ठले बताए।

‘आफ्नो हक अधिकारको बिषयमा आवाज उठाउन मिल्छ,’ शिक्षा क्षेत्रको बेतिथिका बिषयमा रहेक मञ्चमा आवाज उदाउँदै आएका श्रेष्ठले भने, ‘तर राज्यको नुन खाएर पार्टीको झण्डा बोक्ने छुट कुनै शिक्षकलाई छैन।’ संघीय समाजबादी फोरम नेपालका जिल्ला अध्यक्ष नबिन राईले बिभिन्न दल तथा तिनका भातृ संगठनमा रहेका शिक्षकलाई सार्वजनिक रुपमा हटाउनुपर्ने बताए। ‘शिक्षकलाई राजनीतिरहित बनाउने हो भने शिक्षकलाई सार्वजनिक जानकारी गराएर पदबाट हटाऔँ,’ राईले भने, ‘होइन भने हामी दलले यो नाटक नदेखाऔँ।’

सर्वदलीय बैठकले जिल्लाका बिद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । विद्यालय शान्ति क्षेत्र कार्यान्वयन निर्देशिका अनुसार विद्यालय र विद्यार्थीलाई राजनैतिक प्रकृतिका बन्द, हड्ताल, जुलुस लगायतका गतिविधिमा सहभागी नगराउने, विद्यालयलाई राजनैतिक आन्दोलनबाट प्रभावित नगर्ने सहमति गरिएको छ।
३० विद्यालयलाई ‘नमूना’ बनाउने तयारी

घट्दो शैक्षिक गुणस्तर बृद्धिकालागि खोटाङका ३० विद्यालयमा शैक्षिक गुणस्तर सुधारका कार्यक्रम गर्ने तयारी गरिएको छ । खस्कँदो शैक्षिक स्तरमा सुधार गर्दै नमूना विद्यालयकारुपमा बिकास गर्नकालागि शिक्षा कार्यालयले पहिलो चरणमा ३० माविका प्राथमिक तहमा शैक्षिक सुधारात्मक कार्यक्रम गर्ने तयारी गरेको हो। विद्यालयको शैक्षिक अवस्था र विद्यार्थीको सिकाइमा सुधार ल्याउनकालागि शिक्षा कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गरेर प्रस्ताव आह्वान गरेको छ।

सूचनाका आधारमा कार्ययोजनासहित आउने अभिभावक, व्यवस्थापन समिति र शिक्षकलाई यस योजनामा पहिलो प्राथमिकता दिइने जिशिअ नेपालले बताए। ‘यसकालागि स्वयं विद्यालय इच्छुक भएर कार्यायोजनासहित आउनु पर्यो,’ नेपालले भने, ‘हामीले सक्ने सहयोग हामी गर्छौँ, हामीले नसक्ने कार्ययोजना भए मन्त्रालयमार्फत समाधान गर्ने पहल गर्ने छौ ।’

 

प्रकाशित: ३० कार्तिक २०७३ ०८:४६ मंगलबार

शिक्षकले राजनीति गर्न नपाउने